१५-२१ पुस २०७५ | 30 Dec 2018 - 5 Jan 2019

बेतका फर्निचर

Share:
  

गोपाल गड्तौला
फर्निचरको आवश्यकता पूरा गर्न मात्र होइन, वातावरण अनुकूल बेतबाट निर्मित सामग्री सजावटका लागि पनि राम्रा मानिन्छन् । बेतका हलुका फर्निचर एक ठाउँबाट अर्को ठाउँमा सार्न सहज हुने हुँदा कोठाको सेटिङ परिवर्तन गर्न पनि सजिलो हुन्छ । उसो त काठका महँगा फर्निचरको तुलनामा बेत सस्तो पनि हुन्छ । बेतबाट बनेका हरेक सामग्री वातावरणीय दृष्टिकोणले पनि लाभदायक हुन्छन् । वातावरणप्रति सचेत हुनेहरूले कार्यालयमा नियमित प्रयोग हुने डस्टबीन (फोहोरदानी) समेत बेतकै प्रयोग गरेको पाइन्छ ।

काठ सँगसँगै प्लाइउड, स्टिल र प्लास्टिकका समेत विभिन्न डिजाइनका फर्निचरले घटाएको बेतका फर्निचरको माग अचेल फेरि बढ्न थालेको छ । बजारमा बेतका टेबल, कुर्सीदेखि ल्याम्पपोष्ट र दराजसम्मका सामग्री बजारमा उपलब्ध छन् । सोफासेट, पलङ, जुत्ता ¥याक, डालो, नानीहरूका खेलौना राख्ने बाकस, पिर्का जस्ता सामग्री पनि बेतकै बन्न थालेका छन् ।

३५ वर्षदेखि ललितपुरको कुपण्डोलमा सञ्चालित रोयल बेत उद्योगले हिजोआज बेतको फ्रेममा बनेका टेबल र साना दराजहरूमा काँच राखेर बजारमा ल्याएको छ । बजारमा वातावरणीय हिसाबले दूषित मानिने प्लास्टिकका फर्निचर अत्यधिक देखिए पनि वातावरणीय चेतना भएका र नयाँ ढाँचाका फर्निचरका सौखिनहरूको रोजाइमा बेतका फर्निचर पर्ने गरेको रोयल बेत उद्योगकी प्रबन्धक लक्ष्मी नगरकोटी बताउँछिन् ।

हेर्दा फरक वा आकर्षक देखिए पनि बेतका फर्निचर किन्दा यसको गुणस्तरमा भने ध्यान दिनै पर्छ । ह्यांगरको विट राम्रोसँग मठारिएको छैन भने झुण्ड्याएको कपडा च्यातिन सक्छ । त्यस्तै बेतका फर्निचरको जोर्नी खुकुलिए÷नखुकुलिएको वा कतै किलाको टुप्पो निस्किए/ननिस्किएको जस्ता कुरामा ध्यान दिनुपर्छ । यस्ता फर्निचरमा लामो समय धूलो जम्यो र त्यसमा पानीको छिटा समेत प¥यो भने दाग बस्न सक्छ । तसर्थ नियमित सफा गर्नुपर्ने बेतका फर्निचरलाई सफा कपडा वा कोलिन जस्ता बजारमा पाइने सामग्रीले पुछ्नुपर्छ ।

बेतबाट निर्मित सामग्री खरीद गर्दा चोया र बेत कत्तिको छिप्पिएको हो भन्नेमा पनि ध्यान दिनुपर्छ । कलिलो र बोक्रा पूरै खुर्किएको बेतको डाँठ वा चोया प्रयोग भएको रहेछ भने त्यसबाट बनेको सामग्री खासै टिकाउ हुँदैनन् ।

बेतका फर्निचर सामान्यतया २० वर्षसम्म टिक्छन् । यी फर्निचर पानीमा भिज्दा ढुसी आउने र नियमित चर्को घाममा राख्दा रेसा छुट्टिने सम्भावना हुन्छ । त्यसैले यस्ता सामग्रीलाई घाम–पानीबाट जोगाएमा बढी समय टिकाउन सकिन्छ । यी फर्निचरमा बढी वजनदार वस्तु राख्नु हुन्न । मसिना काँटी वा पिन प्रयोग गरेर जोडिने र बेतकै चोयाले बाँधिने भएको हुँदा बढी भारले फर्निचरका जोर्नी खुकुलिन वा खुस्किन सक्छन् । त्यस्तै चोया समेत चुँडिन वा बेत नै लच्किने पनि हुनसक्छ । बेतका कुर्सी, टेबललगायतका फर्निचरका खुट्टा नरम कपडा वा रबरको टुक्राले बाँधियो भने त्यसको धारले भुईं घोटिन वा कार्पेट च्यातिनबाट जोगिन्छ भने फर्निचरको आयु पनि बढ्छ ।

बजारमा पाइने बेतका कुर्सी डिजाइन अनुसार रु.४ हजारदेखि रु.८ हजारसम्ममा पाइन्छन् । यस्तै, सोफासेटलाई रु.१५ हजारदेखि रु.२५ हजारसम्म पर्छ । सखुवा, सिसौ जस्ता काठको उत्पादन कम हुँदै गएकोले पनि बेतका फर्निचरको माग बढेको बुझेकी रोयल फर्निचरकी प्रबन्धक नगरकोटी भन्छिन्, “बेतका डाँठ आवश्यक आकारमा काट्न सजिलो हुन्छ ।” तातो वस्तुले डामेर यसलाई चाहेको आकारमा ढाल्न सकिन्छ । व्यापारीहरू अर्डर आएको केही दिनभित्रै ग्राहकले इच्छाएको फर्निचर उपलब्ध गराउन सकिने बताउँछन् ।

comments powered by Disqus

रमझम