२२-२८ पुस २०७५ | 6-12 January 2018

‘धर्मसत्ता’को दुरुपयोग

Share:
  
- शेखर खरेल
धार्मिक व्यत्ति वा गुरुहरूको विलासी जीवनशैलीका कारण सदाचारी र दुराचारी छुट्याउनै मुश्किल बनेको छ। यस्तो शंकाको घेरामा पर्ने पछिल्लो पात्र हुन्, रामबहादुर बमजन।

हामीलाई सानैदेखि ‘काम, क्रोध, लोभ र मोह’ त्याग्न सिकाइयो । तर, मानिस आफ्ना यी जैविक स्वभावबाट केही पर रहन सके पनि विल्कुलै अलग रहन सक्दैन । कसैलाई धनको मोह, कोही वासनाद्वारा वशीभूत, कसैलाई कुनै वस्तु वा पदप्रतिको आसक्ति । सामान्य हदसम्म यी कुराको चाहना स्वाभाविक हो । तर, जब यी कुराप्रतिको आसक्ति सीमाहीन हुन्छ, तिनको प्राप्तिका लागि मानिस अनैतिक र आपराधिक बाटो समाउँछ ।

सामान्यजनको सामान्य सोचभन्दा माथि उठेका मनीषीहरूलाई हामी आफ्ना पथप्रदर्शक वा गुरु मान्छौं । आफूभन्दा बढी विश्वास गुरुप्रति गर्छौं । तर, जब त्यो विश्वासमाथि कुठाराघात भएको पाउँछौं, हाम्रो आस्था तिल्मिलाउन बेर लाग्दैन । धर्मलाई शक्ति आर्जनको माध्यम बनाउने केही व्यक्तिका कारण अहिले कतिपय धार्मिक संस्था वा संरचना ‘स्प्रिचुअल सुपरमार्केट’ जस्ता बनेका छन् । धार्मिक व्यक्ति वा गुरुहरूले सादगी र मितव्ययितापूर्ण जीवनको साटो भोगविलास रोज्दा सदाचारी र दुराचारी छुट्याउनै मुश्किल बन्दै गएको छ ।

सार्वजनिक सम्पत्ति हडप्नेदेखि वन र संरक्षण क्षेत्रको अतिक्रमण र राज्यकोषसम्मको दुरुपयोगका कारण धेरै धार्मिक गुरु विवादित बनेका छन् । अझ् कतिपय धार्मिक गुरु त हत्या–हिंसा, बलात्कारदेखि हातहतियारको कारोबारसम्ममा संलग्न देखिएका छन् । भारतका आशाराम बापू, रामरहिम जस्तै हत्या र यौन दुराचारको विवादमा नेपालका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजन अहिले शंकाको घेरामा छन् । उनीमाथि आफ्ना आश्रमका आनीहरूमाथि बलात्कार र एक अनुयायीको हत्याको आरोप छ । उनकै अपराध कर्मका कारण आश्रमबाट तीन आनी बेपत्ता भएका वा गरिएका आरोप पनि छ ।

धर्मबाट शक्ति

प्रसिद्ध चिन्तक वर्नाड रसल शक्तिलाई मानिसको अन्तिम लक्ष्य मान्छन् । मानिसले अनेक प्रकारले शक्ति हत्याउने उपक्रम गरिरहने तर्क रसलको छ । ‘पावर’ (शक्ति) शीर्षकको आफ्नो ‘मास्टरपिस’ पुस्तकमा रसलले शक्तिलाई नै एउटा संरचनाको रूपमा व्याख्या गर्दै यसका आधारहरूबारे बृहत् चर्चा गरेका छन्, जसमध्ये धर्म मुख्य हो । राज्य होस् वा व्यक्ति, अनादिकालदेखि धर्म नै शक्तिको एक महत्वपूर्ण स्रोत रहँदै आएको छ ।

रामबहादुर बमजनसँग भएको पूँजी चमत्कार हो । बारा जिल्लाको रतनपुरी जङ्गलको १० महीना लामो ‘तपस्या’ ले उनलाई अन्तर्राष्ट्रिय ख्याति दियो । प्रचार यतिसम्म गरियो, भविष्यका बुद्ध अर्थात् मैत्रेय उनै हुन्, मानिससहित समस्त चराचर जगतका मुक्तिदाता पनि उनै हुन् ।

अहिले बमजनमाथि संगीन आरोपहरू लागेकाले तिनको सत्यतथ्य निरुपण जरूरी भएको छ । आरोपहरू प्रमाणित नहुँदासम्म उनी अभियुक्त मात्र हुन् । त्यसैले उनले बलात्कार र व्यक्ति (आफ्ना चेला) हत्या गरे–गरेनन् भन्ने कुराको निरुपण अपराध र विधिशास्त्रका विशेषज्ञ सम्मिलित अनुसन्धान टोलीले मात्र गर्न सक्छ । कानूनी राज्यमा कसैले पनि ‘भगवान’ वा ‘बुद्ध’ हुँ भन्ने दावीका आधारमा उन्मुक्ति पाउँदैन । यौन दुव्र्यवहारलाई लिएर ‘मीटू’ आन्दोलन विश्वव्यापी भएपछि धेरै शक्तिशाली र प्रतिष्ठित व्यक्तिहरू प्रश्नको घेरामा परेका छन् । सार्वजनिक प्रतिष्ठा धुलिसात भएपछि कतिपय प्रतिष्ठित व्यक्ति ‘लाइमलाइट’ बाट हराउन बाध्य भएका छन् भने कतिपयले क्षमायाचनासहित आफूलाई सुधार्ने प्रण गरेका छन् । बमजनमाथिका आरोप यौन दुव्र्यवहार मात्र होइन, गम्भीर फौजदारी प्रकृतिका छन् । कसुर प्रमाणित भए उनी हदैसम्मका सजायका भागीदार हुन सक्छन् ।

कसुर प्रमाणित नभएसम्मका लागि उनलाई शंकाको सुविधा दिन सकिए तापनि पंक्तिकारको मनमा बमजनलाई देख्नासाथै (प्रत्यक्ष होइन) एउटा आशंकाले डेरा जमाएको थियो । त्यो के भने, १० वर्ष निराहार तपस्या गरेको बताउने र आफैंलाई मैत्रेय बुद्ध दाबी गर्ने उनमा कुनै चुम्बकीय आकर्षण देखिंदैन । हामीले प्रत्यक्ष वा श्रव्यदृश्यमा देखे सुनेका सन्तपुरुष, योगी र दार्शनिक झैं उनी आभामण्डित छैनन् । उनका प्रवचन र विचार आल्हादकारी पनि छैनन् । उनीप्रतिको आकर्षणको धरातल एउटै छ, चमत्कारको प्रोपगाण्डा ।

एउटा भनाइ छ– एकै समय कुनै वस्तु तातो र चिसो दुवै हुन सक्दैन । यदि बमजनको आजको जीवन ढोंग हो भने उनको तपस्या चमत्कार नभएर जालसाजी हो । आफूलाई शक्तिशाली, भगवान वा भगवानका एजेन्ट प्रमाणित गर्न जालसाजी र जादू प्रयोग गरिएका धेरै उदाहरण छन् । यस्ता अनैतिक र अवैध जुक्ति एक व्यक्तिबाट मात्र संभव छैन । बमजन हुन् वा रामरहिम वा आशाराम बापू; तिनका धार्मिक संरचना दुई घेराबाट निर्मित हुन्छन् । पहिलो घेरामा तथाकथित गुरुका विश्वासपात्र मात्र रहन्छन्, जो ती गुरुका सबै कर्तुतका हिस्सेदार हुन्छन् । दोस्रो घेरामा अबोध अनुयायीहरू रहन्छन्, जो आफ्ना गुरु ईश्वर वा उनका दूत, मुक्तिदाता वा पथप्रदर्शक हुन् भन्ने अन्धविश्वास गर्छन् । त्यसैले बमजनमाथिको अनुसन्धानले हत्या र बलात्कार सँगसँगै तपस्याको असलियत उजागर गर्नुपर्छ ।

comments powered by Disqus

रमझम