काशीको सम्पूर्णानन्द विश्वविद्यालयबाट संस्कृतमा आचार्य रमेश पुराण भन्ने र चिना लेख्ने पनि गर्छन् । अहिले महोत्सवहरूमा आवाजको कला देखाउन भ्याई–नभ्याई भएका उनले यो सब कसरी जाने त ? यसबारे उनले रोचक कथा सुनाए– आफ्ना दाइ पण्डित मुकुन्द दुलालसँग धनगढीमा बसेको वेला एक दिन उनी चिनी किनेर साइकलमा फर्कंदै रहेछन् । त्यही वेला एउटा अजङ्गको बाँदर अकस्मात् आइलागेछ ।
आत्तिएका दुलाल बाँदर कुकुरबाट डराउँछ भन्ने सम्झेर भुक्न थालेछन् । अचम्म ! उनको आवाज हुबहु कुकुरको जस्तै भएछ, बाँदर टाप कसेछ । “त्यसअघिसम्म यसो गर्न सक्छु भन्ने मलाई नै थाहा थिएन”, रमेश भन्छन्, “त्यसपछि अरु जन्तु र चराचुरुङ्गीको आवाज निकाल्दा पनि दुरुस्तै भयो ।”