हाटबाट हराएको सुवास

Share:
  
- चन्द्रकिशोर
शहरी आवश्यकतालाई देहातको श्रम र परम्परागत सीपसँग समन्वय गर्न सकियो भने जनशत्तिा पलायन रोक्न र परम्परागत ज्ञानको संरक्षण गर्न बल पुग्नेछ।

चन्द्रकिशोर
धनुषाको महेन्द्रनगरमा लागेको हाटबजार ।
तराईमा शहरहरूको निर्माण बजारका रूपमा भयो । आज पनि देहातका बासिन्दाहरू नजिकको शहरलाई बजारकै रूपमा चिन्छन् । बजारको पुरानो रूप हाट हो । त्यसैले हाटसँग बजार पनि जोडेर हाट–बजार भन्ने चलन छ ।

खेतीमा हलोको प्रयोग हुन थालेपछि आफूसँग भएको अधिक अन्नलाई बेच्ने क्रममा हाटको अवधारणा विकसित हुनपुग्यो । फाजिल अन्नसहित अन्य वस्तुहरू खरीदत्रिबक्रीका लागि जमघट हुने स्थानलाई हाट–बजार भनियो । पुराना हाट–बजारहरू यतिखेर ठूला शहर वा जिल्लाको सदरमुकामको रूपमा विकसित भएका छन् । अहिले स्थानीय तहका केन्द्र रहेका कतिपय ठाउँहरू साविकका बजार नै हुन् ।

देहाती बजारको विकासमा सामन्तवर्गको भूमिका पनि रहँदै आयो । धार्मिक अनुष्ठानको पूर्णाहुतिका लागि चाहिने सामग्रीहरू यहाँ उपलब्ध हुन थाले । पारम्परिक शिल्पी वर्गले आफ्ना सिर्जना र उत्पादन यहीं ल्याएर बेच्न थाल्यो । विस्तारै हाटले स्थायी रूप पाउँदै गयो ।

हाट–बजारको चलन बारे पुराना साहित्यहरूमा पनि चर्चा पाइन्छ । करीब सातौं शताब्दी पूर्व मैथिली भाषामा लेखिएको ज्योतिरीश्वर ठाकुरको वर्णरत्नाकर गद्य काव्य एवं धूर्तसमागम नाटक र त्यसपछिका विद्यापतिको कीर्तिलता, दानवाक्यावली र पदावली जस्ता काव्य रचनामा ‘हाट, बजार’ उल्लेख भएको छ । विद्यापतिकालीन मिथिलामा हाट र बजार शब्द पर्यायवाची थिए । उनकै कतिपय काव्य पंक्तिहरूमा भने ‘हाटबजार’ एकै ठाउँमा प्रयोग भएको छ ।

प्रत्येक हाट–बजारहरूका आफ्नै महत्व र विशेषता थिए । कुनै हाट ठूलो परिमाणको खरीददारीका लागि चिनिएका थिए । कुनै निश्चित गाउँहरूका लागि महत्वपूर्ण थिए । कुनै हाट पशुको खरीद–बिक्रीका लागि त कुनै सागसब्जी र माछामासु मात्रैका लागि प्रख्यात हुन्थे । कतै पहाड र मधेशका उत्पादनहरूको संगम पनि हुन्थ्यो । कुनै हाट काठ त कुनै फलाम वा पित्तलका सामग्रीका लागि चर्चित थिए । साताको निश्चित बारमा हाट लाग्ने हुँदा स्थानविशेषको नाम पनि त्यही बारका आधारमा रहेका प्रशस्तै उदाहरण छन् । यी हाट–बजारहरू ग्रामीण अर्थतन्त्रका सञ्जीवनी थिए ।

हाट–बजारमा ग्रामीण उत्पादनकै बाहुल्य हुन्थ्यो । खेतबारीको उब्जनी, माटोका भाँडाकुडा, काठका सामग्र्री, खेती किसानीमा चाहिने औजार यहाँ उपलब्ध हुन्थे । हँसिया–खुर्पीमा साँध लगाउने काम हुन्थ्यो । कपाल काट्ने, कपडा इस्त्री गर्नेहरूका लागि यहाँ अवसर हुन्थ्यो । स्थानीय जडीबुटी बेच्न ल्याइन्थ्यो । शुरूमा ताडी पाइने हाटमा विस्तारै रक्सीले बजार फैलायो ।

“शहरी औद्योगिक उत्पादनले वर्चस्व जमाउँदै जाँदा अब देहातका बजारहरूमा स्थानीय उत्पादन निकै कम देखिन्छन्”, ग्रामीण बजारका अध्येता कृष्णदेव लाल कर्ण भन्छन् । देहाती खानेकुराको परिकारको ठाउँ शहरी ‘मेन्यू’ ले ओगटेको छ । फलस्वरुप गाउँको आत्मनिर्भरता घट्दै गएको छ ।

गाउँका बजारमा बिक्रेता गाउँकै भए पनि बेचिने सामान भने शहरबाट किनेर ल्याइएको हुन्छ । जबकि पहिला गाउँको बजारबाट शहरमा सामान जान्थ्यो । बदलिएको यो स्थितिले हाट बजारमा देहातको सुवास हराउँदै गएको आभास हुन्छ ।

शहरिया सामग्रीको बिगबिगीसँगै अखाद्य वस्तु पनि ग्रामीण बजारमा पुगिरहेको छ । चाउचाउ, गुलिया पेयपदार्थ र म्याद गुज्रिएका तेलहरू छ्यापछ्याप्ती पाइन्छ । अब यस्ता कुराहरूको अनुगमन र नियमनका लागि स्थानीय सरकार अघि सर्नुपर्छ ।

कृषि बजारको व्यवस्थामा पनि सुधार ल्याउन आवश्यक छ । लाभ जति विचौलियाले लिइरहँदा किसानले आफ्नो उपजको बिक्रीबाट फाइदा उठाउन सकिरहेका छैनन् । गाउँ÷देहातका शिल्पीहरूले निर्माण गरेका सामग्रीलाई बाहिरका फेन्सी उत्पादनले विस्थापन गरिरहेका छन् । यस पृष्ठभूमिमा ग्रामीण बजारहरूमार्फत कसरी स्थानीयहरूले लाभ बटुल्न सक्छन् त्यतातिर स्थानीय सरकारले ध्यान दिनुपर्छ । यसो गर्न सकियो भने मात्रै ग्रामीण अर्थतन्त्र उँभो लाग्न सक्छ ।

अध्येता कर्ण भन्छन्, “प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका बजारहरूको सम्भावना अध्ययन गराउनुपर्छ । बजारको पारम्परिक सामथ्र्य र विकासको सम्भावनालाई जोड्न सकियो भने स्थानीयलाई लाभ पुग्छ ।” हो पनि परम्परागत देहाती हाट–बजारलाई जनजीविकासँग जोडेर जीवन्त बनाउन सकियो भने यी बजारहरू देहातका आर्थिक मेरुदण्ड बन्न सक्छन् ।

comments powered by Disqus

रमझम