२२-२८ पुस २०७५ | 6-12 January 2018

घातक कुर्सी

Share:
  

पहिले पहिले मानिसलाई लामो समय एकै ठाउँमा बसेर काम गर्ने सुविधा थिएन । खेतीपाती, शिकार र अन्य कामका लागि शारीरिक श्रम गर्नै पथ्र्यो । तर, आधुनिक युगमा मानिसले गर्ने काम पहिले जस्तो छैन । एक ठाउँबाट अर्को ठाउँमा जानलाई यातायातका साधन छन्, धेरै कामहरू कुर्सीमा बसेर गरिन्छन् । आधुनिक प्रविधिको विकासले मनोरञ्जन र खेललाई पनि मोबाइल र कम्प्युटरमा ल्याइदिएको छ । हामीले शारीरिक परिश्रम गर्न छोडेका छौं । हाम्रो शरीर भने पहिलेजस्तै श्रम खोजिरहन्छ ।

हामी कुर्सीमा बसेर काम गर्ने, गफ गर्दा कुर्सीमै बस्ने, पढ्न–लेख्न परे पनि कुर्सीमै र खाना खाँदा पनि कुर्सीमै बसिरहेका हुन्छौं । शौचालयमा पनि प्यानको साटो कमोडको प्रयोग बढ्नुका पछाडि ‘चेयर ह्याबिट’ नै मूल कारण भएको बताइन्छ । तर, हामीले ख्याल गरिरहेका हुँदैनौं, लामो समय कुर्सीमा बस्नु स्वास्थ्यका लागि घातक हुनसक्छ ।

स्वास्थ्य विज्ञानसम्बन्धी अमेरिकी पोर्टल साइन्टिफिक अमेरिकन मा प्रकाशित लेख अनुसार दिनमा आधाभन्दा धेरै समय कुर्सीमा बस्ने मानिसमा मधुमेह र मुटुसम्बन्धी रोग लाग्ने सम्भावना दुई गुणा बढ्छ । लगातार कुर्सीमा बसिरहँदा शरीरका मांसपेशीहरू सक्रिय नहुने, रक्तसञ्चारमा बाधा पुग्ने, मस्तिष्कमा अक्सिजनको कमी हुने, मोटोपन बढ्ने सम्भावना हुन्छ । त्यसैगरी हड्डी सम्बन्धी समस्या आउने, पाचन प्रणालीमा अवरोध आउने संभावना पनि अत्यधिक हुन्छ । खाना खाँदा वित्तिकै कुर्सीमा बस्दा रगतमा चिनीको मात्रा बढ्ने सम्भावना पनि धेरै हुन्छ ।

अमेरिकन जर्नल अफ नर्सिङमा प्रकाशित एक शोधका अनुसार लामो समयसम्म एकै ठाउँमा बसिरहँदा हुने नोक्सानको पूर्ति बिहान–बेलुका गरिने कठोर व्यायामबाट पनि हुन सक्दैन । 

चिकित्सकहरू कुर्सीमा नबसी नहुने बाहेक अरु बेला उभिन वा कोठाभित्रै भए पनि केही कदम हिंड्न सल्लाह दिन्छन् । मोबाइल फोनमा कुरा गर्दा कुर्सीमा नबसी उठेर वा हिंड्दै कुरा गर्न सकिन्छ । थोरै भए पनि हिंडडुल गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकोले कार्यालयभित्र एकआपसमा कुरा गर्दा, फेसबुक वा इमेलको प्रयोग नगरी सहकर्मी भएको ठाउँसम्म जानु पनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ ।

त्यस्तै अट्याच बाथरुममा भन्दा एक दुई तला मुनि वा माथिको बाथरुम प्रयोग गर्ने, टेबलमा खाना मगाएर खानु भन्दा भान्सासम्म वा अलिक परको रेस्टुराँसम्म हिंड्दै पुग्नु पनि उपयुक्त हुन्छ ।

तर पनि हामीमध्ये धेरैलाई लामै समय कुर्सीमा बसेर काम गर्नुपर्ने बाध्यता हुनसक्छ । त्यसैले कुर्सीमा बस्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।

कुर्सीमा बसेर काम गर्दा ढाडलाई सोझो पारेर बस्नुपर्छ । ढाडले पछाडिबाट पर्याप्त मात्रामा सहारा पाइरहेको हुनुपर्छ । घुँडा आसनभन्दा केही तल झुकेको हुनुपर्छ । लत्रिएर, कुप्रिएर बस्दा ढाडको समस्या आउँछ ।

कम्प्युटरमा काम गर्नेले किबोर्डमा हात पुर्‍याउँदा नाडीदेखि कुहिनोसम्मको भाग सीधा राखेर अड्याउन मिल्ने गरी कुर्सी र टेबलको साइज मिलाउनुपर्छ । त्यसैगरी कुहिनोदेखि माथिको भाग शरीरको दायाँबायाँ सीधा भएको हुनुपर्छ, पूरै हात एल आकारको हुने गरी ।

खुट्टा भुइँमा पूरै टेकिएको हुनुपर्छ । टेकिंदैन भने आवश्यकता अनुसार ‘फुट रेस्ट’ को प्रयोग गर्न सकिन्छ ।

कम्प्युटरको स्क्रिन आँखाको उँचाइमा र सामुन्ने हुनुपर्छ । स्क्रिन आँखाको लेभल भन्दा माथि वा मुनि भयो भने गर्धनको मांसपेशी र हड्डीमा समस्या आउन सक्छ ।

काम गर्दा आवश्यक पर्ने सामानहरू नजिकै राख्नुपर्छ । बसेको बेला गलत तरिकाले शरीरलाई खुम्च्याउने, निहुरिने र तन्काउने गर्दा समस्या आउन सक्छ । कुर्सीमा आधा घण्टासम्म लगातार बसिसकेपछि एकपटक उठेर केही कदम हिंड्नुपर्छ ।

comments powered by Disqus

रमझम