एक क्याम्पसमा इतिहास विषय पढाउने क्रममा शिक्षक भन्दैथिए– ‘ऐतिहासिक तथ्य अनुसार नेपालको पहिलो प्रामाणिक राजा मानदेव हुन् । चाँगुनारायण मन्दिर परिसरमा मानदेवबारे भेटिएको अभिलेख नै हालसम्मको सबैभन्दा पुरानो अभिलेख हो ।’ तत्कालै एक छात्राले उक्त तथ्यमाथि प्रश्न उठाउँदै मानदेवको भन्दा पनि पुरानो अभिलेख रहेको बताउँदा शिक्षक असमञ्जसमा परे । उनले आफ्नो बुझइअनुसार ‘परीक्षामा मानदेवलाई नै पहिलो राजा भनेर नलेखे नम्बर काटिने’ बताए । ती छात्राले इतिहास विषय बीचैमा छाडेर अर्को विषय रोजिन् ।
उच्च शिक्षामा विद्यार्थीलाई इतिहास विषयले आकर्षित गर्न नसकेको र रोजगारीलाई ध्यान दिंदै अन्य विषय/क्षेत्रमा लागेको टिप्पणी बेलाबेला सुनिन्छ । देशको इतिहासबारेको जानकारीले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने तर विद्यार्थी यस विषयमा उदासीन हुँदा देशको हालत खराब भएको भन्ने विमर्श पनि हुने गर्छ । तर, माथि उल्लिखित इतिहास विषयक कक्षामा भएको घटनाले यो विषयप्रति विद्यार्थीको अरुचि हुनुको अर्को कारण पनि उजागर गर्छ ।
चाँगुनारायण मन्दिरस्थित राजा मानदेव (प्रथम) को अभिलेख सर्वप्रथम भगवानलाल इन्द्रजीले सन् १८८५ मा संकलन गरी ‘ट्वान्टी थ्री इन्स्क्रिप्सन फ्रम नेपाल’ प्रकाशन गरेका थिए । त्यतिबेला संकलित अभिलेखमध्ये पुरानो त्यही थियो र त्यसअनुसार राजा मानदेव नै प्रामाणिक पहिलो राजा थिए । तर, इतिहास यस्तो विषय/क्षेत्र हो, अनुसन्धान र खोजीका क्रममा नयाँ–नयाँ तथ्य भेटिएर सोही अनुसार नै ऐतिहासिक तथ्यहरू परिवर्तन भइरहन्छन् । मानदेवसम्बन्धी चाँगुनारायणको अभिलेख संवत् ३८६ को हो । पछि काठमाडौंको मालीगाउँमा संवत् १०७ का राजा जय वर्माको अभिलेख भेटिएपछि इतिहास २७४ वर्ष पर धकेलियो ।
इतिहास अध्ययनमा लाग्नेहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरामा अद्यावधिक हुँदै जानुपर्छ । तर, इतिहास विषयलाई नै आफ्नो क्षेत्र बनाउनेहरूमा अध्ययनको कमी छ । फलस्वरूप उनीहरूमा बुझइको समस्या छ भने बुझेकाहरूले बुझउन नसकेको देखिन्छ । यसले गर्दा इतिहासको सही पठनमा पनि समस्या भइरहेको छ । उदाहरणका रूपमा, तिब्बतका राजा श्रङ्–चङ–गम्पोकी रानी भृकुटी नेपाली राजा अंशुवर्माकी छोरी होइनन् भन्ने मान्यता नेपाली इतिहास अध्येताहरूमा स्थापित भएको वर्षौं भइसकेको छ । तर, अझ्ै पनि हाम्रा विद्यालय तथा विश्वविद्यालयहरूमा भृकुटी अंशुवर्माकै छोरी हुन् भनेर पढाइराखिएको छ ।
शिक्षालाई जीविकासँग जोडेर हेर्दा विश्वविद्यालयमा इतिहास पढेर के हुन्छ भन्ने प्रश्न उठ्ने गर्छ । इतिहास क्षेत्रमा अनुसन्धानका थुप्रै काम हुन्छन् र यसबाट पनि वृत्ति–विकास हुनसक्छ । पछिल्लो समय इतिहासको अनुसन्धान व्यक्तिगत लगानी र इच्छामा बढी हुने गरेको छ । विभिन्न संघसंस्था र निकायले आफ्नो जातीय, क्षेत्रीय तथा अन्य विषयमा इतिहासको अनुसन्धान गराउन बजेट छुट्याउने गरेका छन् । तर, ती संघसंस्था र निकायले त्यस्ता कामको जिम्मा विषयविज्ञलाई नदिई निकट व्यक्तिहरूलाई दिने प्रवृत्तिले समस्या भएको छ । इतिहास भन्दै कथा–कहानी र किम्वदन्तीका कुरा अगाडि सारेर विवाद निम्तिनु यसैको उपज हो । यस्तो प्रवृत्तिले इतिहासको अध्ययन तथा विकास हुनसक्दैन ।
विभिन्न समयका शासक वर्गको जीवनी र वंशावलीलाई मात्र इतिहासको रूपमा प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो । भक्तपुरको पाँचतले मन्दिरको निर्माताका रूपमा राजा भूपतीन्द्र मल्लको नाम एउटा तथ्य हो । तर, उक्त मन्दिर निर्माणको पृष्ठभूमि तथा तत्कालीन सामाजिक मूल्य र अवस्था पनि इतिहासको रोचक पाटो हो । यस्तै, सामाजिक, शैक्षिक, सांस्कृतिक, वैदेशिक पाटो तथा विज्ञान, चिकित्सा आदि विषय पनि इतिहासको अध्ययन क्षेत्रभित्र पर्छन् । तर, यी सबै क्षेत्रलाई बिर्संदै एउटै धार समातिरहँदा पनि इतिहास विषयले नयाँ पुस्तालाई आकर्षण गर्न नसकेको हो ।
इतिहास भन्नासाथै यसलाई अन्य विषयबाट अलग राखेर हेर्ने गरिन्छ । तर, इतिहास अध्ययन क्षेत्रको दायरा फराकिलो पार्नु जरूरी छ । इतिहाससँग धेरै नजिकको विषय संस्कृतिका विद्यार्थीमा समेत ऐतिहासिक ज्ञानको कमी देखिन्छ । फलस्वरूप चाडपर्व र सम्पदाका कुरामा किम्वदन्ती र कहानीमा भर परेका हुन्छन् ।
इतिहास विषयमा विद्यार्थी नै भएनन् र सम्बन्धित अन्य विषयमा पनि कम मात्र विद्यार्थी भएको भन्दै ती सबैलाई गाभ्ने कुरा चल्ने गर्छ । तर, यसमा सम्बन्धित विषयगत विभागका पदाधिकारीहरूको ठूलै आपत्ति हुने गर्छ । जबकि यस्तो आपत्तिको औचित्य छैन । इतिहास र संस्कृति विभाग छुट्टिनुको एउटै कारण हो, जुँगाको लडाइँ । विभाग प्रमुख बन्ने मोहमा यिनलाई टुक्र्याइयो । जबकि यी दुई विभागमा पढाइने कतिपय विषय दोहोरिएका छन् । गाभ्न मिल्नेसम्मका विभागहरू गाभिंदा बेफाइदा छैन । बरु विद्यार्थीलाई रुचि अनुसारका धेरै विषय छान्ने अवसर प्राप्त हुन्छ ।