स्वनिर्मित पेन्टर

Share:
  
r10

मिलन राई (२८) सम्भावना भएका एक निर्माणाधीन कलाकार हुन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा कलाकार किरण मानन्धरको शब्दमा, उनी आफ्ना समकालीनहरूमा अब्बल कलाकारको लहरमा छन्। 

एक दशकदेखि पेन्टिङमा रमेका मिलन औपचारिक रूपमा ललितकलाको विद्यार्थी या कलाकार परिवारका भने हैनन्। धराने लाहुरे परिवारका उनी पढेर हैन, हाईस्कूलबाट ड्रपआउट भएपछि चित्रकार भएका हुन्। रमाइलो कुरा, पाँच वर्षअघि २०६४ मा पार्क ग्यालरी लाजिम्पाटमा भएको स्प्ल्यासेस शीर्षकको मिलनको पहिलो एकल प्रदर्शनीमा ती प्रिन्सिपल पनि बधाई दिन आएका थिए, जसले उनलाई कक्षा १० बाट रेस्टिकेट गरेका थिए। “त्यसबेला मेरो समूहले स्कूल प्रशासनलाई हैरानै पारेको थियो”, मिलन सम्झ्न्छन्, “चौथो पटक निकालिएपछि मैले फेरि स्कूल फर्कने प्रयास गरिनँ, बरु संगत छाडेर पेन्टिङमा लागें।” यसमा बाबुआमाले मज्जाले साथ दिए। स्कूलमा नपाउने शिक्षा स्वाध्यायनबाट लिन थालें। 

चित्रकलाको भोकले काठमाडौं आएका उनले २०६५ मा भारतको क्यामेल फाउन्डेशनले गरेको चित्रकला प्रतिस्पर्धामा नेपालबाट पुरस्कृत भएपछि उनको क्षितिज फराकिलो भयो। पोट्रेट र ल्याण्डस्केपबाट खारिंदै आएका मिलन कहिले कवितामाथि पेन्टिङ गर्छन् त कहिले प्रत्यक्ष नृत्यको। अनि कहिले शास्त्रीय वाद्यवादनलाई क्यानभासमा उतार्छन्। “मलाई आफू अभिव्यक्त हुनसक्ने कलामा आनन्द लाग्छ”, मिलन भन्छन्, “अग्रजहरूले मेरो आनन्दलाई मन पराएका छन्।”

दुई महीनाअघि मोडल र रङ्गमञ्चका कलाकारहरूलाई लिएर पर्फमेन्स आर्ट प्रदर्शनी गरेका मिलन अहिले काठमाडौंको माइतीघरस्थित अष्टमण्डलामा प्रतिस्थापन कलाको तयारीमा छन्। “हामीकहाँ प्रतिस्थापन कला भित्रिएको मुश्किलले १० वर्ष हुँदैछ” मिलन भन्छन्, “अहिलेसम्म भएका मध्ये भिन्न र भव्य प्रदर्शनी गर्ने प्रयासमा छु।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम