२२-२८ पुस २०७५ | 6-12 January 2018

बहुसांस्कृतिक अमृता

Share:
  
साढे एक दशकपछि नेपाल आएकी अमृता आचार्य पुख्र्यौली देश र संस्कृतिसँग सम्बन्ध कसिलो बनाउने यात्रामा छिन्।

बिक्रम राई
नर्वे, बेलायत र अमेरिकाका चलचित्र र टेलिभिजनमा काम गर्ने अभिनेत्री अमृता आचार्य २० पुसमा बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था छोराछोरी कोे ललितपुर, गोदावरीस्थित ‘सेल्टर होम’ हेर्न गइन् । नेपाली बाबु र युक्रेनी आमाकी छोरी उनी १६ वर्षपछि नेपाल आएकी हुन् । आफू जन्मेको देशमा बालबालिकाका लागि काम गर्ने लामो समयदेखिको चाहना उनी छोराछोरी सँग जोडिएर पूरा गर्दैछिन् ।

सात वर्षको उमेरमा बाबुआमासँगै नेपाल छोडेपछि अमृता युरोपका विभिन्न देशमा हुर्किइन् र अभिनयतर्फ लागिन् । सन् २०११/१२ मा एचबीओ टिभी च्यानलको सर्वाधिक हेरिने टेलिसिरियल ‘गेम अफ थ्रोन्स’ ले उनलाई संसारभर चिनायो, जसमा उनी नायिका डेनेरिसकी सुसारे इरीको भूमिकामा छिन् । “त्यो सिरियलमा धेरै मानिस लामो समय टिक्दैनन्, एक वर्षमै उनीहरूको हत्या हुन्छ । म भाग्यमानी थिएँ होला र दुई वर्ष टिकें”, उनी हाँस्दै भन्छिन् । ‘गेम अफ थ्रोन्स’ आफ्नो लागि राम्रो शुरुआत बनेको उनको भनाइ छ ।

त्यसपछि अमृताले बेलायत र नर्वेका थुप्रै चलचित्र र टिभी सिरिजमा काम गरिन् । पछिल्लो समय भने उनी टेलिसिरियल ‘द गुड कर्म हस्पिटल’ मा चिकित्सकको भूमिकामा छिन् । चिकित्सक बुवाले उनको अभिनयलाई कत्तिको जीवन्त मानेका छन्, त्यो भने उनलाई थाहा छैन । “उहाँले त्यो सिरिजलाई मनोरञ्जनका रुपमा लिनुहुन्छ । मनोरञ्जन दिने क्रममा हामीले कतिपय कुरामा ‘आर्टिस्टिक लाइसेन्स’ लिन्छौं, त्यो उहाँलाई थाहा छ ।”

‘द गुड कर्म हस्पिटल’ को छायांकन श्रीलंकामा हुन्छ, त्यही क्रममा उनलाई नेपाल आउने मेसो मिल्यो । “श्रीलंकामा काम गर्दा निकै रमाइलो लाग्यो, नेपाल आउन पनि सकियो”, उनी भन्छिन् ।

छोराछोरी ले भारतमा सर्कसमा काम गर्ने र बालगृहमा फसेका बालबालिकाको उद्धार गर्ने, उनीहरू र बलात्कृत बालिकालाई सुरक्षित गृहमा राख्ने, विभिन्न सीप सिकाउने र सकेसम्म परिवारमा पुनस्र्थापना गर्ने लगायतका काम गरिरहेको छ । अमृताले ‘च्यारिटी फण्ड रेजिङ डिनर’ जस्ता कार्यक्रम मार्फत रकम जुटाएर यो संस्थालाई सहयोग गरिरहेकी छन् ।

नेपालमा उनले समाजसेवा मात्रै होइन, घुमघाम र पारिवारिक भेटघाट समेत गरिरहेकी छन् । हाइकिङ गर्न घान्द्रुक पुगिन्, असली ढाकाको पछ्यौराका लागि पाल्पा र आफन्त भेट्न बुटवल, भैरहवा र अर्घाखाँचीसम्म पुगिन् ।

बाल्यकालको नेपाल उनलाई त्यति सम्झना नभए पनि अहिले अलि बढी व्यस्त जस्तो लाग्यो । घर जस्तो लाग्यो कि लागेन ? उनी भन्छिन्, “म धेरैतिर बसेकी हुनाले हरेक ठाउँ अलिकति घर जस्तो र अलिकति नौलो लाग्छ । तर, जता पनि न्यानो स्वागत पाइरहेकी हुन्छु । यहाँ मलाई परिवारको सदस्य मानेर स्वागत गर्नेहरू धेरै हुनुहुन्छ, त्यसैले झन् खुशी हुन्छु ।”

बेलायत र नर्वेमा हुर्केकी र अमेरिकामा पनि बसेकी उनी आफूलाई बहुभाषी र बहुसांस्कृतिक भन्न रुचाउँछिन् । पश्चिमा देशका चलचित्र र टेलिभिजनमा उनी जस्ता अल्पसंख्यक समुदायका मानिसले कामको अवसर कम पाउने गरेका चर्चा बारे उनी भन्छिन्, “मैले त्यस्तो भोग्नु परेन । एक त म एशियन जस्तो देखिन्नँ त्यसैले पनि होला ।” तर यस्तो समस्याबारे आफू जानकार रहेको उनी बताउँछिन् । भन्छिन्, “भविष्यमा म चलचित्र उद्योगलाई समावेशी बनाउने दिशामै काम गर्न चाहन्छु ।”

अमृता अभिनयमा मात्र सीमित छैनन् । लेखनमा पनि प्रयास गरिरहेको बताउने उनी निर्देशनमा पनि हात हाल्ने सोचमा छिन् । अहिलेसम्म एउटा पनि नेपाली चलचित्र नहेरेको बताउने उनी यसपटक भने केही नेपाली चलचित्र हेर्ने मूडमा छिन् । भन्छिन्, “चित्त बुझ्यो भने नेपाली चलचित्रमा पनि काम गर्न सक्छु, तर आफ्नो स्वर अर्काले डबिङ गरेको मलाई मन पर्दैन, त्यसैले पहिले नेपाली भाषा सिक्नुपर्ने हुन्छ ।”

अंग्रेजीसँगै युक्रेनी, रुसी र नर्वेली भाषामा बोल्न सक्ने उनी नेपाली बुझे पनि बोल्न गाह्रो हुन्छ । उनी भन्छिन्, “घरमा नेपाली नबोलेपछि विस्तारै बिर्सिएछु, अहिले अलिअलि सिकेकी छु ।”

यसपालि अंग्रेजीमा अन्तर्वार्ता दिएकी उनले भविष्यका लागि भने आशा छोडिन्, “अर्को पालि नेपालीमा !”

सेवा भट्टराई

comments powered by Disqus

रमझम