समाज रोगी पार्दै

Share:
  
- सविना देवकोटा
अधिकांश समय स्मार्टफोन र इन्टरनेटमा लिप्त डिजिटल पुस्तामा मनोसामाजिक असन्तुलन बढ्दै गएको छ।

भानु भट्टराई
एक वर्षअघि काठमाडौंका एक दम्पतीले जतिखेर पनि मोबाइल फोन चलाउने छोरीको लत छुटाउन घरको इन्टरनेट काट्नुका साथै मोबाइल फोन लुकाइदिए । फोन चलाउन नपाएपछि रोईकराई गर्ने, छटपटाउने हुँदै नाडीको नसा नै काट्ने हदसम्म पुगेकी ती २३ वर्षीया छोरीलाई मनोविद्कहाँ लैजानुपर्‍यो ।

केही महीनाअघि काठमाडौं, बानेश्वरको एक परिवारमा हरदम मोबाइलमा गेम खेलिरहने १७ वर्षीय किशोरको लत छुटाउन उनकी आमाले पनि इन्टरनेट बन्द गराइन् । मोबाइल फोन दिन छाडिन् । त्यसपछि उनी मोबाइल गेमको तलतल मेट्नकै लागि चाबहिलस्थित सानिमाको घर जान थाले । हाल मनोविद्सँग परामर्श लिइरहेका उनी भन्छन्, “मोबाइलमा खेल्न नपाए छटपटी जस्तो हुन्छ, खान र बोल्न समेत मन लाग्दैन ।” परामर्श लिन थालेयता भने मोबाइल चलाउने उनको लत घट्दै गएको छ ।

ए लेभल पढ्न बिहान कलेज जानुपर्ने छोरी दैनिक लागूऔषध खाएजस्तो शिथिल देखिएपछि उनका बुवा झ्स्किए– ‘कतै छोरीले ड्रग्स त खान्न !’ एकदिन मध्यराततिर ढोकाको प्वालबाट छोरीको कोठामा चियाएर हेर्दा उनी ल्यापटपमा अश्लील भिडियो हेर्दै र मोबाइलमा यौनोत्तेजक शैलीमा बोल्दै गरेको देखिइन् । तीन वर्षयता हरेक रात तीन/चार घण्टा त्यस्ता भिडियो नहेरी निद्रै नलाग्ने बानी परेकी ती युवतीलाई डिजिटल लतका कारण मानसिक रोग लागेको मनोविद् गंगा पाठक बताउँछिन् ।

स्मार्टफोन, ल्यापटपलगायत विभिन्न ग्याजेट र डिजिटल माध्यमको सर्वसुलभतामा हुर्किरहेको पुस्ता कसरी यसको लतमा फसिरहेको छ भन्ने यी केही दृष्टान्त मात्र हुन् । २१ वर्षदेखि मनोपरामर्शको क्षेत्रमा काम गर्दै आएकी मनोविद् गंगा पाठक पाँच वर्षयता भने डिजिटल लतमा परेर आउनेको संख्या उल्लेखनीय रहेको बताउँछिन् । प्रविधिको सहज पहुँचले एकअर्कालाई जोड्नुको साटो युवा पुस्तालाई संवेदनाहीन, एकलकाटे र अनुत्पादक बनाइरहेको उनको भनाइ छ ।

असामाजिक बनाउने जोखिम

इन्टरनेटमा सामाजिक सञ्जालका साथै थरीथरीका एप र गेमहरूको भुलभुलैयामा रमाउने क्रममा समाजदेखि नै अलगथलग हुने डिजिटल जमात बढ्दो छ । घरपरिवार र समाजदेखि टाढिएर सामाजिक सञ्जालहरूको साथी–सर्कलमा मग्न हुने र त्यसमा अहोरात्र डुबेर गम्भीर मानसिक समस्यामा पुग्ने गरेको मनोविद्हरूको ठम्याइ छ । स्मार्टफोनको लतका कारण एकान्तमा रमाउने प्रवृत्तिले बालबालिकालाई समेत नराम्ररी गाँजेको छ । काठमाडौं, धुम्बाराहीका १२ वर्षीय बालकले आफू बस्ने कोठाको ढोकामा अंग्रेजीमा लेखेका थिए– ‘मेरो कोठामा कोही पस्न पाउँदैन ।’

सानै उमेरदेखि अधिकांश समय मोबाइल चलाएर बस्ने छोराको यस्तो व्यवहार देखेपछि बुवा–आमाले आत्तिंदै उनलाई मनोविद्कहाँ पुर्‍याए । पाहुनासँग घुलमिल हुन सिकाउँदा उनी रुने गर्छन् । हाल मनोपरामर्शमा रहेका ती बालकलाई डिजिटल लतकै कारण ‘सोसल एङ्जाइटी’ भएको मनोविद् करुणा कुँवर बताउँछिन् । उनका अनुसार, पाँच वर्षमुनिको उमेर तीव्र शारीरिक तथा मानसिक विकास हुने समय भएकाले त्यस अवधिमा बच्चाहरूलाई मोबाइल, ट्याब आदिबाट टाढै राख्नुपर्छ । डिजिटल लत छुटाउन घर र विद्यालयमा उनीहरूलाई आवश्यक सामग्री मात्र प्रयोग गर्न उत्पे्ररित गर्नुपर्ने उनी सुझउँछिन् ।

व्यस्त जीवनशैली बाँचिरहेका धेरैजसो अभिभावक बालबालिकालाई समय दिनुको सट्टा स्मार्टफोन र विभिन्न ग्याजेट दिएर भुलाउने गर्छन् । त्यसबाट बच्चै बेलादेखि डिजिटल एडिक्सन शुरू हुने मनोविद् गंगा पाठक बताउँछिन् ।

डिजिटल माध्यमको लतले हुर्कंदो उमेरका बच्चासँगै युवा गाँजिरहँदा यसले निम्त्याउने घातक असर अभिभावक र शिक्षकहरूको चिन्ताको विषय बन्न थालेको छ । काठमाडौं, बालाजुको एक विद्यालयमा पढाउने शिक्षिका सब्रिना थापा रातभर मोबाइलमा गेम खेल्ने लतका कारण विद्यार्थी बिहानको कक्षा लिन आउन नसक्ने, कक्षाकोठामै निदाउने समस्या देखिएको बताउँछिन् । ललितपुर, नक्खुस्थित मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजले २३६ विद्यार्थीमा गरेको अध्ययन (२०१५) मा ९२.८ प्रतिशत विद्यार्थीमा डिजिटल एडिक्सन र गेमिङ डिसअर्डर पाइएको थियो ।

सन् २०१८ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गेमिङ डिसअर्डरलाई अन्तर्राष्ट्रिय रोगमा सूचीकृत गर्ने घोषणा गर्नुले डिजिटल एडिक्सन विश्वमै कति भयावह बनिरहेको छ भन्ने देखाउँछ । दैनिक जीवनका सबै प्राथमिकता र अन्य रुचि भुलेर डिजिटल वा भिडियो गेममा लिप्त हुनुलाई डब्ल्यूएचओले गेमिङ डिसअर्डरका रूपमा अथ्र्याएको छ ।

फेसबुक, ट्वीटरपछि पछिल्लो समय लोकप्रिय टिकटक जस्ता एपहरूले युवाहरूलाई घर, छरछिमेकको आँगन र चोकको भलाकुसारीबाट मोबाइल, ट्याबको चारकुने स्क्रिनमा खुम्च्याएको छ । शेयरकाष्ट इनिसिएटिभ नेपालले सन् २०१८ मा गरेको जनसांख्यिकीय सर्वेक्षणले १६ देखि २४ वर्ष उमेर समूहका ८६ प्रतिशतले फेसबुक चलाउने गरेको देखाएको छ । उक्त सर्वेक्षणमा संलग्न मिडियाकर्मी मधु आचार्यका अनुसार, ३८ जिल्लामा ३ हजार ६९१ जनाको नमूना लिएर गरेको सर्वेक्षणमा ५३.५ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता देखिएकोमा युवाको संख्या धेरै छ । तर, प्रविधिमाथि यो पहुँचको सही उपयोग हुन नसक्दा समाजमा नकारात्मक असर देखिएका छन् ।

युवाहरूमा डिजिटल एडिक्सन सूचना र संवादको आवश्यकताभन्दा पनि बढी आदतको उपज भएको देखिन्छ । यसको उदाहरण हुन्, काठमाडौं, कलंकीकी १८ वर्षीया तिर्सना शर्मा । भन्छिन्, “म एउटैले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, स्न्यापच्याट्, ट्वीटर, टिकटक, भाइबर र ह्वाट्सएप सबै चलाउँछु ।” अहिले चल्तीमा रहेका एपहरू नचलाउँदा साथीभाइबाटै हराइने उनको बुझइ छ ।

विश्वजगत जोड्ने प्रविधि र सामाजिक सञ्जाल भनिए पनि नयाँ पुस्ता यस्ता चिजको नशामा भुल्दा भविष्यमा सामाजिकीकरण प्रक्रिया नै अवरुद्ध हुनसक्ने समाजशास्त्री जनक राई बताउँछन् । उनी भन्छन्, “डिजिटल एडिक्सनले अहिलेको पुस्ता एकदमै आत्मकेन्द्रित भइरहेको छ । भर्चुअल दुनियाँलाई नै वास्तविक ठान्ने प्रवृत्तिले युवा पुस्ताको ऊर्जा र क्षमता खेर गइरहेको छ ।” आजको सूचना–प्रविधिको युगमा विद्युतीय माध्यम र इन्टरनेटलाई नकार्न नसकिए पनि यसलाई कसरी र कति समय चलाउने भन्नेबारे सार्वजनिक बहस थाल्नुपर्ने समाजशास्त्री राई सुझउँछन् ।

शारीरिक र मनोसामाजिक असर

मानिसहरू स्मार्टफोन, ट्याब र ल्यापटपमा एकोहोरो घोत्लिएको देखिनु आज सामान्य कुरा बनिसकेको छ । परिवारका सदस्यहरू आ–आफ्ना डिभाइसमा व्यस्त भएर संवादहीनता छाउने अवस्था त घरघरको कहानी नै हो ।

डिजिटल माध्यमको लत र यिनमा उपलब्ध सामग्रीले विभिन्न शारीरिक र मानसिक समस्या बढाइरहेको चिकित्सक र मनोविद्हरू बताउँछन् । स्मार्टफोनमा रमाउने बानीका कारण रातको निद्रा नै त्यागिदिने प्रवृत्तिले समाजमा अनिद्राको समस्या बढिरहेको र त्यसबाट थप स्वास्थ्य जटिलता निम्तिरहेको उनीहरूको भनाइ छ ।

लगातार मोबाइल फोन र कम्प्युटर चलाउँदा माइग्रेन, एङ्जाइटी, डिप्रेसनलगायतका मानसिक समस्या चुलिएको मनोचिकित्सक डा. सरोज वझ बताउँछन् । उनका अनुसार, अधिकांश समय डिजिटल माध्यम प्रयोग गर्नेहरूमा अनिंदोपनको समस्या पनि बढी देखिन्छ । सन् २०१६ मा अमेरिकाको युनिभर्सिटी अफ पिट्सवर्गले गरेको अध्ययनले सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुनेहरूमा डिप्रेसनको सम्भावना बढी देखिएको उल्लेख गरेको छ ।

तिलगंगा आँखा अस्पतालकी आँखा विशेषज्ञ डा. सिर्जना अधिकारीका अनुसार, स्मार्टफोन र ल्यापटप लगातार हेरिरहँदा त्यसको स्क्रिनबाट आउने नीलो प्रकाशका कारण दृष्टिमा प्रत्यक्ष असर पर्छ । त्यस्ता वस्तुको अधिक प्रयोगले आँखा चिलाउने, सुक्खा हुने, धमिलो देख्ने, टाउको दुख्नेलगायतका समस्या देखिने उनी बताउँछिन् ।

मोबाइल र ल्यापटप प्रयोग गर्दा अधिकांशको गर्धन र पिठ्यूँ झुक्ने र दैनिक घण्टौं यस्तो आसनले शरीरका विभिन्न भागमा पीडा हुने समस्या निम्तिन्छ, जसलाई चिकित्सकीय भाषामा ‘टेक्स्ट सिन्ड्रोम’ वा ‘टेक्स्ट नेक’ भनिन्छ । लगातार मोबाइल र कम्प्युटर चलाउँदा बस्ने आसनले ढाडको समस्या निम्त्याउने ढाडरोग विशेषज्ञ डा. सुनिल पौड्याल बताउँछन् । “हातका बूढीऔंला, घाँटी र कम्मरको मांसपेशी तथा नाडीको नसा च्यापिने समस्या लिएर आउनेको संख्या पछिल्लो समय बढिरहेको छ”, उनी भन्छन् ।

अपराधको कारक

डिजिटल माध्यमको लतले असामाजिकतातर्फ धकेल्ने र स्वास्थ्यमा असर पार्ने क्रमसँगै पछिल्लो पुस्तालाई संवेदनाहीन र आक्रामक बनाएको मनोविद्हरूको बुझइ छ । जसले उनीहरूलाई अपराधतिर डोर्‍याउने जोखिम बढाएको छ ।

काठमाडौंको एक कलेजमा पढ्ने किशोर दुई वर्षअघि घरबाट एकाएक हराएपछि खोजी गर्दै जाँदा २५औं दिन एक इन्टरनेट क्याफेमा भेटिएका थिए । इन्टरनेटमा गेम खेल्ने चरम लतमा फसेका ती युवकको प्राथमिक मनोपरामर्शका क्रममा एकदमै जङ्गली र संवेदनाहीन स्वभाव पाइएको मनोविद् गंगा पाठक सम्झ्न्छििन् ।

हराएको २५औं दिन छोरालाई मैलो लुगामा मैतीदेवी मन्दिर नजिकै हिंडिरहेको देखेपछि आमाले पछ्याउँदै गइन् । छोरा घट्टेकुलोस्थित एउटा भवनको अनकन्टार अण्डरग्राउन्डमा छिरे । त्यो इन्टरनेट क्याफे थियो । ११ र १२ कक्षा पढ्ने उमेरका थुप्रै किशोरहरू कोही कम्प्युटरमा खेलिरहेका त कोही सुतेको देखेपछि आमाले तत्काल मैतीदेवी प्रहरीलाई खबर गरिन् । प्रहरीले क्याफेमा छापा मार्दै सञ्चालकहरूलाई समात्यो । मनोपरामर्शमा लैजाँदा ती किशोरले भनेका थिए, “त्यहाँ खेल्न पाएपछि संसार पूरै बिर्सने गथ्र्यौं । त्यहाँ नजाँदा केही खान नपाएजस्तो, केही नभएजस्तो लागिरहन्थ्यो ।”

डिजिटल एडिक्सन र सामाजिक सञ्जालको गलत प्रयोगले नै पछिल्लो समय विद्युतीय अपराध बढेको प्रहरी अधिकारीको अनुभव छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीका अनुसार, अश्लील भिडियो आदानप्रदान गर्ने, अरूको अश्लील भिडियो खिचेर ब्ल्याकमेल गर्ने, भ्रामक सूचना फैलाएर ठग्ने, चरित्रहत्या गर्नेलगायतका गतिविधि निकै बढेको छ । उनी भन्छन्, “महाशाखामा आउनेमध्ये ९० प्रतिशत यस्ता मुद्दा यौनसँग सम्बन्धित हुन्छन् ।”

डिजिटल एडिक्सन कुन हदसम्म घातक हुनसक्छ भन्ने दृष्टान्त दक्षिण कोरिया हो । डिजिटल एडिक्सनका कारण कोरियाको एक इन्टरनेट क्याफेमा २४ वर्षीय युवकको मृत्यु भएको घटना पहिलो पटक सन् २००४ मा सार्वजनिक भएको थियो । सन् २०१२ मा दक्षिण कोरियाकै विभिन्न इन्टरनेट क्याफेमा लामो समयसम्म बस्दा रगत जमेर १० जनाको ज्यान गएको थियो भने अनलाइन गेमकै कारण भएको विवादमा एक जनाको हत्या भएको थियो ।

ती घटना हुनुअघि नै सन् २००९ मा दक्षिण कोरिया सरकारले इन्टरनेट एडिक्सनका कारण साढे एकदेखि साढे चार करोड अमेरिकी डलर बराबरको सामाजिक तथा आर्थिक क्षति हुनसक्ने अनुमान गरेको थियो । त्यसयता त्यहाँ इन्टरनेट एडिक्सनलाई गम्भीर रूपमा लिइन्छ ।

सेन्टर फर इन्टरनेट एडिक्सन, अमेरिकाले गरेको राष्ट्रिय सर्वेक्षणअनुसार इन्टरनेटमा लत बसेका ७० प्रतिशतभन्दा बढी प्रयोगकर्तामा लागूऔषध दुव्र्यसनका साथै मदिरा, चुरोट र यौनको लत समेत देखिएको छ । मनोविद् गंगा पाठकका अनुसार एउटा लतले अर्कोलाई जन्माउँदा मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम निम्तिन्छ ।

comments powered by Disqus

रमझम