२२-२८ पुस २०७५ | 6-12 January 2018

अरनिको र कुब्लाई

Share:
  
- कनकमणि दीक्षित
उतिबेलादेखि आजसम्म नेपालमण्डल (उपत्यका) का नागरिकमध्ये अन्तर्राष्ट्रिय सफलता कमाएको अरनिको जति कोही छैन ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिल भवनको दोस्रो तलामा दुई वटा यस्ता कलाकृतिका नक्कल झुण्डिएका छन्, जसले मल्लकालीन नेपालमण्डल र तेह्रौं शताब्दीको चीनलाई जोड्छन् । भर्‍याङबाट उक्लिएर दोस्रो तलाको ‘वागमती ग्यालरी’ पस्नुहोस्, त्यहाँ छन् फ्रेम गरेर राखिएका दुई पोट्रेट — महाचीनको युआन डाइनेस्टीका मंगोल सम्राट कुब्लाई खाँ र उनको दोस्रो रानी छवी ।

चिङ्गिस खाँका नाति थिए कुब्लाई, जसले सङ्ग वंश कमजोर हुने क्रममा तेह्रौं शताब्दीमा युआन वंशको थालनी गरे । उनको जन्म सन् १२१५ मा भयो भने राज १२९४ सम्म रह्यो । कुब्लाईको साम्राज्य प्रशान्त महासागर र साइबेरियादेखि पूर्वी यूरोप, तिब्बत र अफगानिस्तानसम्म फैलिएको थियो ।

यस्तो प्रभावशाली बादशाहको दरबारको दैलोमा सन् १२६० तिर पाटन शहरका एक १७ वर्षे कलाकार पुगे । जसको नाम समेत हाम्रो इतिहासलाई थाहा छैन, उतिबेलाको चिनियाँ नाम अनिगे अथवा अरनिको भएको मात्र जान्दछौं । संस्कृतिविद् सत्यमोहन जोशीले आधा शताब्दीअघि बेइजिङमा रहेको स्रोतको अध्ययनपश्चात् अरनिकोबारे नलेखेको भए शायद आजसम्म हामी बेखबर नै रहन्थ्यौं ।

सम्राट कुब्लाई खाँले आफ्ना राजगुरु तिब्बतको सिगात्से नजिक रहेको शाक्या गुम्बाका संघनायक पाहसपालाई सुवर्ण विहार बनाउने आदेश दिएका थिए । दशौंदेखि तेह्रौं शताब्दी नेपालमण्डलको कलाकृति र वास्तुकला चम्किएको समय थियो । पाहसपाले नेपालमण्डल नरेश जयभीमदेव मल्लसँग कलाकार–कारिगर मगाए ।

सन् १२४४ मा जन्मिएका अरनिकोले सन् १२५५ को महाभूकम्प पनि भोगेको हुनुपर्दछ, जसले उपत्यकामा धेरै ज्यान लियो, राजा अभय मल्ललगायत । अरनिको चित्रकला, मूर्तिकला र वास्तुकलामा निपुण थिए । भनिन्छ, कलाकार टोलीको नेतृत्व गर्दै उनी सिगात्सेतिर लागे । त्यहाँ उनले तन्त्रको ज्ञान पनि लिए र गुम्बाको तयारीपश्चात् नेपाल फर्कने ‘मूड’ मा थिए, तर पाहसपाले उनलाई उल्टो बाटो बेइजिङको ‘ग्रेट खाँ’ सँग भेट्न लिएर गए ।

ललितपुरका यी युवा मूर्तिकार र वास्तुविद्ले राजधानी तातू (आजको बेइजिङ) मा कुब्लाई खाँलाई तुरुन्तै प्रभावित गरे, र मठमन्दिर, चैत्य, गुम्बा, मूर्ति, पौभा आदि बनाउन व्यस्त भए । बेइजिङको प्रसिद्ध श्वेत चैत्य तथा छेउको महाविहार उनका सबैभन्दा उत्कृष्ट प्रस्तुति मानिन्छन् । उनलाई दरबारको पूरै कारिगरी र कला विभागको प्रमुख बनाइयो, अनेक मानपदवीले सुसज्जित भए, मन्त्रीस्तरको पद ग्रहण गरे र लियाङ्ग प्रान्तको काजीसम्म बनाइए । ललितपुरमा श्रीमती छाडेर गएका अरनिकोले सोही क्रममा विरानो मुलुकमा दोस्रो घरजम गरे, ठूलै जमीनदार र तातूका ‘एलिट’ मध्येकै प्रबुद्ध बने । अरनिकोको देहान्त ६२ वर्षको उमेरमा सन् १३०३ मा भयो ।

प्रश्न गर्न मिल्छ, आदिकालदेखि आजसम्म नेपालमण्डल (उपत्यका) को अर्को कुन व्यक्तित्वले यत्रो अन्तर्राष्ट्रिय सफलता हासिल गरे ? अरनिको जतिको अन्तर्राष्ट्रिय सफलता अरू कसैको छैन, आजैसम्म ।

सत्यमोहन जोशीको वि.सं. २०४४ को ‘कलाकार अरनिको’ पुस्तकको भूमिकामा कृष्णचन्द्रसिंह प्रधान यसरी लेख्छन्ः

“एउटा केटौली वयका नेपाली कलाकार सात सय वर्षभन्दा अझ धेरै वर्षअघि चीन जस्तो कला र संस्कृतिको धनी देशमा गएर नेपाली शैलीका मौलिक कृतिद्वारा गौरवान्वित गर्ने विलक्षण स्रष्टा भएकैले कलाको क्षेत्रमा उनले हाम्रो इतिहासमा कसैबाट हुननसकेको योगदान गरे, अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाए . . . विदेशमा आफ्नो विलक्षण प्रतिभाद्वारा अद्भुत सीपको दृष्टान्त उपस्थित गरी राष्ट्रलाई नै सम्मान दिलाउने संरचनाकार अरनिको नेपालको पहिलो र हालसम्मका अन्तिम कलाकार भने हुन्छ ।”

१८ फेब्रुअरी १२९४ मा कुब्लाई खाँको निधन भयो र अरनिकोले आफ्नो महान् जजमान गुमाए । सम्राटको मरणको केही समयपश्चात् अरनिकोले उनको पोट्रेट कोरे, जसमा कुब्लाई खाँको पहिरन आफ्नो पुख्र्यौली मंगोल झाँक्रीले लगाउने सेतो लबेदा छ । अरनिकोले कुब्लाईकी रानी छवीको पनि अर्धकदको मुहारचित्र कोरे ।

यी दुई पोट्रेट नेपाली नभई उतिबेलाको चिनियाँ शैलीमा कोरिएका छन् भने तत्पश्चात्को चीन सम्राटका तस्वीरहरुको लागि शैली नै स्थापित गरिदिए अरनिकोले । यी दुई पोट्रेट ताइपेई शहरको ताइवान नेशनल प्यालेस म्युजियममा रहेको सत्यमोहन जोशीले पत्ता लगाए, र विद्वान् मीनबहादुर शाक्यको मद्दत लिई दुइटा चित्रको राम्रो ‘कपी’ नेपाल ल्याइयो । मल्लकालीन नेपालमण्डलको महाचीनसँगको उत्कृष्ट सम्बन्धको यथार्थ दर्शाउने यी दुई पोट्रेट हेर्न तपाईं पनि नेपाल आर्ट काउन्सिलको ‘वागमती ग्यालरी’ जान सक्नुहुन्छ ।

comments powered by Disqus

रमझम