२९ पुस - ५ माघ २०७५ | 13-19 January 2019

घटाउलान् ब्याज ?

Share:
  
राष्ट्र ब्याङ्कको नयाँ नियमले नाफा घट्ने भएपछि वाणिज्य ब्याङ्कहरूले आम्दानी बढाउन ग्राहकलाई भार थप्ने तयारी थालेका छन्।

गएको ११ पुसमा नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाको आधारदर (बेस रेट) गणना गर्ने विधि बदल्यो । यो व्यवस्थापछि ब्याङ्कहरूको नाफा घट्दैछ । राष्ट्र ब्याङ्कले यसअघि रहेको ब्याङ्क तथा वित्तीय संस्थाको सम्पत्तिमा ०.७५ प्रतिशत लाभांश जोड्न पाउने व्यवस्था खारेज गरिदिएको छ । यसबाट कर्जाको ब्याजदर घट्ने अपेक्षा केन्द्रीय ब्याङ्कले गरेको छ ।

ब्याङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्यूनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत नै आधारदर हो । निक्षेपकर्तालाई दिने ब्याज, राष्ट्र ब्याङ्कको नियमअनुसार राख्नुपर्ने तरलताको लागत, ब्याङ्कका कर्मचारीको तलबभत्ता, ब्याङ्क सञ्चालनका लागि लाग्ने घरभाडालगायत सबै खर्च थेग्न सक्ने गरी ब्याङ्कहरूले ऋणको ब्याज लिन्छन् । त्यो ब्याज न्यूनतम कतिसम्म भयो भने ब्याङ्क घाटामा जाँदैन भनेर निकालिने हिसाब नै आधारदरको गणना विधि हो ।

निक्षेपकर्तालाई तिर्ने ब्याज, राष्ट्र ब्याङ्कको प्रावधानअनुसार अनिवार्य रूपमा नगद मौज्दात र तरलता राख्दा हुने घाटा, तलबभत्तादेखि ब्याङ्क सञ्चालन खर्चको लागत आदि ऋणीहरूबाट उठाइने भएकाले ब्याङ्कले यी सबै खर्च आधारदरमै समावेश गर्न पाउँछन् । यसरी हिसाब निकालिसकेपछि ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो कुल सम्पत्तिको ०.७५ प्रतिशत प्रतिफल पनि जोड्न पाउँथे, जुन व्यवस्था अहिले केन्द्रीय ब्याङ्कले हटाएको हो ।

नेपालको ब्याङ्किङ प्रणालीमा २०६९ सालमा पहिलो पटक आधारदर गणना गर्ने व्यवस्था लागू गर्दा ‘सम्पत्तिमा प्रतिफल दर’ जोड्न पाउने व्यवस्था गरिएको थियो । अब राष्ट्र ब्याङ्कले यस्तो न्यूनतम प्रतिफल सुनिश्चित गर्दैन ।

असर स्प्रेडदरमा

आधारदर गणनाको सूत्र बदलिंदा ब्याङ्क तथा वित्तीय संस्थाले लिने र दिने ब्याजदर अन्तर (स्प्रेड) मा असर पर्ने भएको छ । यसले ब्याङ्कहरूको स्प्रेडदर अहिलेभन्दा ७५ आधार विन्दु (बेसिक प्वाइन्ट) अर्थात् ०.७५ प्रतिशतले बढ्नेछ । राष्ट्र ब्याङ्कले स्प्रेडलाई पनि ५ प्रतिशतको सीमाभित्र समेट्नुपर्ने निर्देशन दिइसकेको छ । त्यसबाट अहिलेकै अवस्थामा ब्याङ्कहरूले करीब रु.२० अर्ब नाफा गुमाउनुपर्ने देखिएको ब्याङ्करहरू बताउँछन् ।

राष्ट्र ब्याङ्कको गएको कात्तिक मसान्तको तथ्यांकअनुसार सबै ब्याङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप रु.२९ खर्ब ५२ अर्ब २३ करोड ६५ लाख पुगेको छ । १३ पुससम्म वाणिज्य ब्याङ्कहरूले मात्रै रु.२६ खर्ब ३० अर्ब ९२ करोड निक्षेप संकलन गरेर रु.२३ खर्ब २५ अर्ब ५७ करोड लगानी गरेका छन् । यही निक्षेपको आधारमा हिसाब गर्दा वाणिज्य ब्याङ्कहरूले रु.१९ अर्ब ७३ करोड १९ लाख नाफा गुमाउनेछन् । यस तथ्यांकअनुसार एउटा वाणिज्य ब्याङ्कको औसत रु.७० करोड ४७ लाख नाफा घट्नेछ ।

चैत मसान्तपछि वाणिज्य ब्याङ्कहरूको नाफा अझै घट्नेछ । राष्ट्र ब्याङ्कले ११ पुसमै जारी गरेको निर्देशन अनुसार ब्याङ्कहरूले चैत मसान्तमा स्प्रेड दर ४.७५ प्रतिशतमा झर्नुपर्नेछ । यसो गर्दा १३ पुसको निक्षेपका आधारमा ब्याङ्कहरूले थप २५ आधार विन्दु (०.२५ प्रतिशत) अर्थात् रु.६ अर्ब ५७ करोड ७३ लाख स्प्रेडवापतको आम्दानी गुमाउनेछन् ।

असोज मसान्तमा ब्याङ्कहरूले प्रकाशन गरेको वित्तीय विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै ब्याङ्कको ब्याजदर अन्तर (स्प्रेड) निर्धारित ५ प्रतिशतको सीमाभित्र झ्रिसकेको थियो । तर, नयाँ प्रावधानले सात ब्याङ्कलाई कर्जाको ब्याजदर घटाउन दबाब पर्ने भएको छ । यसमा नेपाल ब्याङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य ब्याङ्क, एभरेस्ट ब्याङ्क, नबिल ब्याङ्क, नेपाल एसबीआई ब्याङ्क, कृषि विकास ब्याङ्क र नेपाल इन्भेष्टमेन्ट ब्याङ्क पर्छन् । असोजकै स्प्रेड दर कायम रहने हो भने चैतपछि सनराइज, हिमालयन र एनएमबी ब्याङ्कले पनि या त निक्षेपको ब्याज बढाउनु वा कर्जाको ब्याजदर घटाउनुपर्नेछ ।

सेवा शुल्क बढाउने तयारी

राष्ट्र ब्याङ्कले प्रतिफलको दर घट्ने नीति बनाएपछि ब्याङ्करहरूले आम्दानी बढाउने नयाँ उपायको रूपमा शुल्क बढाउने तयारी थालेका छन् । कर्जाको ब्याजदर घटाएर सेवा शुल्क बढाउने एउटा विकल्प हुनसक्ने एक ब्याङ्करले बताए । “ब्याङ्कहरूले ब्याजदर १३ बाट ११ प्रतिशतमा झर्ने तर सेवा शुल्क १ होइन, २ प्रतिशत देऊ भन्न सक्छन्” उनी भन्छन् । साथै, ग्राहकसँग १५० भन्दा धेरै शीर्षकमा सेवा शुल्क लिनसक्ने उनी बताउँछन् ।

राष्ट्र ब्याङ्कले चार वर्षअघि ११ पुस २०७१ मा ‘वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्था’ जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा दिने प्रशासनिक सेवा शुल्क र प्रतिबद्धता शुल्कबाहेक कुनै शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । कर्जा सूचना केन्द्रसँग सम्बन्धित काम, एटीएमलगायत विभिन्न कार्ड प्रयोगकर्ताबाट लिने शुल्क, चेक राफसाफ शुल्कलगायत ग्राहकसँग लिन नपाइने व्यवस्था छ । तर, अहिले पनि मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता प्राविधिक सुविधा र राष्ट्र ब्याङ्कको उक्त निर्देशनले नसमेटेका क्षेत्रमा ब्याङ्कहरूले आफूखुशी शुल्क लिंदै आएका छन् ।

विनय बञ्जारा

comments powered by Disqus

रमझम