२९ पुस - ५ माघ २०७५ | 13-19 January 2019

हीटर बाल्दा सावधान

Share:
  

मोनिका देउपाला
मंसीरको मध्यदेखि बढ्दै गएको जाडो अहिले चरममा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार १६ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको थियो । हिमाली र कतिपय पहाडी ठाउँहरूमा समेत हिउँ परिरहेको छ । देशका केही भागमा वर्षा हुँदा चिसो असाध्यै बढेको छ । बालबालिका, वृद्धवृद्धा र बिरामीका लागि सकसपूर्ण भैदिएको छ, यो चिसो ।

चिसोबाट बच्न गच्छे र परिस्थिति अनुसार दाउरा, कोइला, ब्रिकेटदेखि विभिन्न किसिमका हीटर बाल्ने र एसी चलाउने गरिन्छ । तर, कोठा तताउन ब्रिकेट, कोइला वा हीटर बाल्दा सावधानी अपनाइएन भने ज्यानै जाने खतरा हुन्छ । ब्रिकेट कोइलाको धुवाँबाट निस्सासिएर र हीटर दुर्घटना हुँदा मानिसको मृत्यु भएका समाचारहरू पनि सुनिइरहेका छन् ।

केही साताअघि मात्रै ग्यास हीटरले कोठा तताउँदा आगलागी भएपछि काठमाडौंको कलंकीमा बस्ने इन्जिनियर दम्पती पुष्कर जोशी र अप्सरा श्रेष्ठको मृत्यु भयो । उनीहरूका डेढ वर्षीय छोरा अस्पतालमा उपचाररत छन् । हीटरबाट ग्यास लिक भएर आगलागी भएको र त्यसको चपेटामा जोशी परिवार परेको प्रहरीको अनुमान छ । आगलागी भइरहँदा झ्यालको सिसा फोडेका इन्जिनियर दम्पती कसैगरी पनि कोठा बाहिर निस्कन सकेनन् । हीटरलाई ढोकाको सामुन्ने राखेका कारण उनीहरूले ढोकाको चुकुलसमेत खोल्न सकेनन् । यो घटनाले पूर्व सावधानी अपनाउन पनि पाठ सिकाएको छ । ग्यास हीटरबाट आगलागी भएर मृत्यु भएको यो पहिलो घटना भने होइन । हरेक जाडो मौसममा हुने असावधानीका कारण यस्ता दुर्घटनाका समाचार आइरहेका हुन्छन् ।

सतर्क रहौं

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सामुदायिक स्वास्थ्य विभागका उपप्राध्यापक डा. खेम कार्की हीटर वा कोइलाबाट कोठा तताउने क्रममा हावामा आर्द्रता कम हुने, कार्बनमोनोअक्साइड तथा कार्बनडाइअक्साइड जस्ता विषालु ग्यास उत्सर्जन भई मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने र मृत्यु समेत हुनसक्ने बताउँछन् । उनी झ्याल ढोका थुनेर कोइला वा हीटर बाल्दा कोठामा अक्सिजनको कमी हुने र सास लिंदा विषालु रसायन शरीरभित्र प्रवेश गर्ने बताउँछन् । उनी भन्छन्, “कार्बनमोनोअक्साइडको मात्रा धेरै भयो भने यसले शरीरमा अक्सिजनको प्रभाव रोकेर मानिसलाई बेहोश बनाउँछ र मृत्यु हुन सक्छ ।” कोइला वा हीटर बाल्दा झ्यालको केही भाग खुला राखेर कोठाभित्र पर्याप्त अक्सिजन रहेको सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै कोइला, हीटर, ब्लोअर इत्यादिले कोठा तताउँदा हावामा आद्र्रताको कमी हुन्छ । यसले आँखा, नाक सुक्खा बनाउने, आँखा चिलाउने र रातो हुनेजस्ता समस्या निम्त्याउन सक्छ । त्यस्तै हीटरकै कारण छाला सुक्खा हुन गई चिलाउने, चिटचिट गर्ने, चाउरी पर्ने र कतिपय अवस्थामा दाग बस्ने जस्ता समस्या पनि आउँछ । यस्तो समस्याबाट बच्न चिकित्सकहरू हीटर ताप्दा झ्याल खुला राख्न र नजिकै एउटा खुला भाँडोमा पानी राख्न सुझाव दिन्छन् । यस्तो पानीले कोठामा आर्द्रता कायम राख्न मद्दत पुर्‍याउँछ । छालाको समस्याबाट बच्न हीटर ताप्नुअघि छालामा पर्याप्त मात्रामा मोइस्चराइजर लगाउनुपर्छ ।

ग्यास वा विद्युतीय हीटर प्रयोग गर्नुअघि त्यसमा लेखिएको सावधानीको सूचना राम्रोसँग पढेर सो अनुसारको सावधानी अपनाउनुपर्छ । हीटरलाई बेलाबेला मर्मत गराउने, त्यसको अवस्था जाँच गरिरहने, हीटरलाई ढोका, बाटो जस्तो ठाउँ र बालबालिकाको पहुँचभन्दा टाढा राख्ने, हीटर अगाडि कपडा वा अन्य चाँडै सल्किने वस्तु नराख्ने जस्ता सावधानी अपनाउने हो भने मात्रै पनि दुर्घटनाको सम्भावना निकै कम हुन्छ ।

त्यस्तै हीटर रातभर वा लामो समयसम्म बाल्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । बरु न्यानो लुगा लगाउने, न्यानो लुगा ओढ्ने र तातो झोल कुरा प्रशस्तै खाने उत्तम विकल्प हो ।

comments powered by Disqus

रमझम