१३-१९ माघ २०७५ | 27 Jan - 2 Feb 2019

पुस्तक पढ्ने बालबालिका बढी तेज

Share:
  

हामीमध्ये अधिकांशका बालबालिकालाई विद्यालयका बाहेक अन्य पुस्तक पढ्न उत्प्रेरित गर्ने बानी हुँदैन । साना नानीहरूले विद्यालयको पुस्तक पढ्नु पर्याप्त हुने र वयस्क भएपछि मात्रै अन्य पुस्तक पढ्नुपर्छ भन्ने धारणा पनि पाइन्छ, जुन गलत हो ।

पाठ्यक्रम बाहिरका विविध पुस्तक पढ्ने बालबालिकाको कुनै कुरालाई ग्रहण गर्ने क्षमता बढी हुन्छ । उनीहरूको तीक्ष्णता, आत्मविश्वास र सिक्ने बानीमा पनि यसले सुधार ल्याउँछ । किताबले बालबालिकालाई जिज्ञासु बनाउँछ । यस्ता बालबालिका विद्यालयको परीक्षामा मात्रै नभएर अतिरिक्त क्रियाकलाप र सामान्य ज्ञानमा पनि अगाडि हुन्छन् । किताबसँग साक्षात्कार गर्दै हुर्किएका र सानै उमेरदेखि घरमै पढ्ने बानी भएका बालबालिकाले आविष्कारको क्षेत्रमा प्रगति गरिरहेका छन् ।

अमेरिकी सामाजिक विज्ञान अनुसन्धान संस्था ‘साइन्स डाइरेक्ट’ले सन् २०११–२०१५ सम्म गरेको अध्ययनमा पुस्तकालय भएको घरमा हुर्किएका बालबालिकामा पछिसम्म पनि सिक्ने र बुझ्ने क्षमता बढी हुने देखाएको छ । ३१ वटा समुदायमा एक लाख ६० हजार व्यक्तिबीच गरिएको ‘बालबालिका, किशोरावस्था पुस्तकालय र प्रविधि’ विषयक अध्ययनमा ८० भन्दा बढी पुस्तक भएको घरका बालबालिकामा विश्वविद्यालयसम्मको पढाइ पूरा गर्ने दर पनि तुलनात्मक रुपमा बढी भएको पाइएको छ । विद्यालय शिक्षा पूरा गरेपछि मात्रै विद्यालय पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्न थाल्नेको तुलनामा ११४ भन्दा बढी पुस्तकसहित हुर्किएका बालबालिकाको सिक्ने क्षमता १७ गुणाले बढी हुने अध्ययनमा उल्लेख छ ।

घरमा सरदर ३५० पुस्तक भएका करीब २४ प्रतिशत बालबालिका विद्यालयको पढाइपछि आविष्कारको क्षेत्रमा लागेको अध्ययनको निष्कर्ष छ । त्यस्तै खेलकुदका साथै शारीरिक विकासमा पनि उनीहरू अगाडि देखिएका छन् ।

पुस्तक पढ्ने बालबालिका सम्मिलित खेलकुद क्लब तथा विद्यालयहरूले पुरस्कार जित्ने दर ७ प्रतिशतले बढी छ । त्यस्तै पाँच वर्ष उमेर अगावै पुस्तक पढ्ने बानी भएका बालबालिकाहरू हुर्किएपछि विश्वविद्यालय तह पूरा गर्ने दर पनि २२ प्रतिशतले बढी छ । डा. जोन्ना सिकोराको नेतृत्वमा भएको अध्ययनले ३५० पुस्तक भएको घरका किशोरकिशोरीले कलेज र विश्वविद्यालयको पढाइमा पनि १४ प्रतिशत बढी गुणात्मक ज्ञान लिन्छन् ।

अझ रोचक कुरा त कम्प्युटर, ट्याब जस्ता माध्यममा डिजिटल पुस्तक पढ्नु भन्दा साँच्चिकै पुस्तक (हार्ड कपी) पढ्नु राम्रो हुने पाइएको छ । अध्ययनमा डिजिटल पुस्तक पढ्ने बालबालिकाको सिक्ने क्षमता ‘हार्ड कपी’ वा कागजी किताब पढ्ने जति नहुने उल्लेख छ । हार्ड कपी पढेका बालबालिकामा डिजिटल पुस्तक पढ्ने बालबालिका भन्दा आफ्नो कुरा अरुलाई सजिलै सुनाउन र नजानेको कुरा तोकेरै सोध्न सक्ने क्षमता बढी हुन्छ । यति मात्र होइन हार्ड कपी पढेका बालबालिकाले सामाजिक वातावरणलाई राम्रोसँग बुझ्ने र सहयोगीको भावना बढी हुन्छ ।

सानै उमेरदेखि पढ्ने बानी लागेका बालबालिका किशोर हुँदा पनि बाबुआमासँग समुद्र वा बगैंचामा घुमे जस्तै पढाइमा पनि रमाउँछन् । सानै उमेरमा बालबालिकाको सिकाइ र उनीहरूको लागि पुस्तकमा लगानी गर्नु भविष्य बलियो बनाउनु हो । डा. सिकोरा विद्यालय तहमा पुगेर वर्ष दिनको लागि ट्यूसनमा खर्च गर्नुको साटो सानै उमेरमा पुस्तकमा खर्च गर्नु उचित हुने बताउँछन् । बालबालिकालाई भूत वा कुनै काल्पनिक घटनाभन्दा भौगोलिक र भौतिक जानकारी दिने यथार्थपरक पुस्तक पढाउनु उचित हुने उनको सुझाव छ ।

comments powered by Disqus

रमझम