अध्ययन अनुसार ग्याजेटमा धेरै समय बिताउने बालबालिकाको शारीरिक र मानसिक विकासमा बाधा पुग्छ । दुईदेखि पाँच वर्ष बीचका २४०० बालबालिकामाथि गरिएको अध्ययनमा सातामा ३ देखि १७ घण्टासम्म ग्याजेटमा बिताउने बालबालिका समेटिएका थिए । अध्ययनमा एउटा दुई वर्षको बालकले सातामा १७ घन्टासम्म ग्याजेटमा समय बिताएको उल्लेख छ । ऊ तीन वर्षको हुँदा यस्तो समय साताको २५ घन्टासम्म पुगेको थियो भने पाँच वर्षको भएपछि हिंडडुल, विद्यालय र अन्य काममा व्यस्त हुन थाल्दा पनि उक्त बालकले साताको ११ घन्टा स्मार्टफोन र ट्याब जस्ता ग्याजेटमा बिताउने गरेको थियो ।
अध्ययनले सातामा तीन घन्टा ग्याजेटमा रमाउने बालबालिका भन्दा २५ घण्टा बिताएका बालकको नयाँ कुरा चिन्ने क्षमता, प्रष्ट बोल्न थालेको समय, निर्धक्क हिंड्ने लगायतका धेरै गतिविधिमा ढिलो प्रगति भएको उल्लेख गरेको छ । यस्ता ग्याजेटमा धेरै समय अलमलिनेमध्ये दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी समस्या देखिन्छ । केटाकेटीको उमेर जति कम भयो, ग्याजेटले उनीहरूको विकासमा पुर्याउने बाधा उति बढी हुन्छ । जस्तै चार वर्षका बालबालिकालाई भन्दा तीन वर्षकालाई ग्याजेटले बढी हानि गर्ने र तीन वर्षकोलाई भन्दा दुई वर्षकालाई बढी हानि गर्ने अध्ययनको निष्कर्ष छ ।
“दुईदेखि पाँच वर्षका बच्चाहरूको मस्तिष्क र शरीरको तीव्र विकास भइरहेको हुन्छ । यही अवस्थामा उनीहरू ग्याजेटको स्क्रिनमा घोरिने हो भने त्यसले समग्र विकासमा बाधा पुर्याउँछ । यी असर दीर्घकालीन हुन्छन्”, डा. मडिगानले भनेकी छन् । अध्ययनले ग्याजेटको अत्यधिक प्रयोगले बालबालिकाको वृद्धि–विकासमा सुस्तता ल्याएको मात्रै नभएर उनीहरू भविष्यमा एकलकाँटे हुने, सिक्ने क्षमतामा ह्रास आउने र सुस्तता कायम रहने उल्लेख गरेको छ ।
अध्ययनले बालबालिका जति धेरै समय स्क्रिनमा रमाउँछन्, उनीहरूको विकास उति नै कम हुने जनाएको छ । डा. मडिगानले लामो समय ग्याजेटमा अलमलिने बालबालिकाले आफ्नो वरपरका गतिविधिमा ध्यान नदिने र त्यही कारणले उनीहरूको प्राकृतिक विकासमा अवरोध आउने बताएकी छन् ।
सानै उमेरमा स्क्रिनको लत लागेपछि भविष्यमा सामाजिकीकरण प्रक्रिया पनि अवरुद्ध हुने, बालबालिकालाई संवेदनाहीन र अनुत्पादक बनाउने अध्ययनको निष्कर्ष छ । ग्याजेटको कारण अवास्तविक दुनियाँलाई वास्तविक ठान्ने प्रवृत्तिले बालबालिकाको ऊर्जा र क्षमता खेर गइरहेको हुन्छ । अध्ययन भन्छ, ‘सिक्ने क्षमता तीव्र भएका पाँच वर्ष मुनिका बालबालिकाले ग्याजेटका धेरै कुरा भ्रम हुन् भन्ने बुझ्दैनन् । रंगीन दुनियाँ वास्तविकभन्दा फरक हुने भएकाले ग्याजेटको दुनियाँ नै उनीहरूको वास्तविक संसार हुन पुग्छ ।’ यसले बालबालिकालाई बाहिरी संसार छ भन्ने भेउ पाउन पनि निकै समय लाग्ने गरेको अध्ययनमा उल्लेख छ ।
बालबालिकालाई ग्याजेटमा भुलाउनुको साटो घरपरिवार, छरछिमेक, आँगन, चउर र चोकमा खेल्न दिनुपर्छ । अभिभावकहरूले बालबालिकालाई ग्याजेटबाट पूर्णरुपमा टाढा राख्न नसके पनि ग्याजेटमा बिताउने समय कम गर्नुपर्ने अनुसन्धाताहरूले सुझाव दिएका छन् । त्यसैले बालबालिकालाई ग्याजेटको प्रभावबाट टाढै राख्दा प्राकृतिक विकासमा अवरोध नपुग्ने अध्ययनको निष्कर्ष छ ।