गुजुल्टिएको नवनिर्माण

Share:
  
- मिलन बगाले
पुनर्निर्माण प्राधिकरणले सन्तोषको सास फेरे पनि गाउँबस्तीमा धमाधम बनिरहेका दुईकोठे घरमा ग्रामीण सभ्यता र आवश्यकता अटाउन सकेको छैन।

तस्वीरहरुः मिलन बगाले
भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि ढलेका गाउँघर राम्रोसँग उठिसकेका छैनन् । यद्यपि, पछिल्लो ६ महीनामा घर बन्ने क्रम तीव्र भएको छ । यसपालिको हिउँदमा तयार भएका निजी घरको ग्राफ उकालो लागेसँगै पुनर्निर्माण प्राधिकरणले सन्तोषको सास फेरिरहेको छ ।

त्यसो त आजकाल पुनर्निर्माण गतिविधिका समाचार उति देखिंदैनन् । समाचारसँगै पाल र अन्तरिम आवास समेत हटेर नयाँ घर बढ्दै जानु सुखद छ । स्थापनाकालदेखि नै राजनीतिक खिचातानीमा अल्झेको प्राधिकरणलाई अचेल सकस छैन । उसले आफ्नो काम गर्न पाएको छ ।

उकुसमुकुस घर

गएको दुई महीनाभित्र दोलखा, रामेछाप नुवाकोट, तनहुँ, लमजुङ, गोरखाका केही गाउँ पुग्दा घर निर्माणको कामले गति लिएको देखियो । तर, घरचाहिं गतिला बनिरहेका छैनन् । गाउँले जिन्दगी एक वा दुईकोठे घरमा कोच्चिएको छ ।

कतिपय ठाउँमा तला छाप्न छोडिएको छ । डोको, डालो, कुटो, कोदालो र अन्नपातलगायतका सामग्रीको राखनधरन र जस्तापाताको तातो छेक्नलाई तलो असल थियो । अब गाउँको घरले कोठा र पिढीबाहेक सबै स्वरुप, सुविधा र शैलीगत मौलिकता सर्लक्कै गुमाएको छ । त्यसैले नयाँ घरभित्रको जीवनशैली पहिले झ्ैं व्यवस्थित देखिंदैन । उकुसमुकुस बढेको छ । घरका धेरै मान्छे शहर र विदेशतिर भएकोले साँघुरो घर अहिलेलाई ठीक–ठीकै मानिएको हो कि जस्तो लाग्छ । तर, एकाध वर्षपछि फेरि यी घरका दायाँबायाँ पखेटा पलाएको अर्थात् कोठा थपिएको देख्न पाइने सम्भावना छ । त्यसो हुँदा घरको रहलपहल शोभा पनि रहने छैन, कोठा थप्दा जग समेत खोतलिएपछि नयाँ संरचना झ्न् कमजोर हुनेछ ।

कृषिमा आश्रित जीवनशैली अटाउने घरका लागि सुहाउँदो नक्शा, प्रोत्साहन, अनुदान, ऋण सबैथोकको खाँचो थियो । घर सरकारले बनाइदिन लागेको हैन, तीन लाख रुपैयाँको अनुदान पीडितको होस्टेमा सरकारको हैंसे मात्र हो भनेर बुझउने प्रयत्न भए पनि पुनर्निर्माणमा गाउँ खुम्चियो । भोलि फैलिनै छ भन्ने भेउ पाउँदापाउँदै पनि कतिपयले निर्माण सामग्री र निर्माणकर्मीको चरम अभाव र अन्तरिम आवासभित्रको अस्तव्यस्तता खप्न नसकेर छिटोछिटो कुचुक्क घर बनाए ।

पुनर्निर्माण प्रक्रियालाई मसिनोसँग नियाल्दा नीति, नियम र कानूनका अनेक अप्ठ्यारा बाहेक ठाउँ, व्यक्ति अनुसारका धेरै समस्या गुजुल्टो परेको देख्न पाइन्छ । त्यही गुजुल्टोमा गाउँठाउँ बन्ने प्रक्रिया नराम्ररी अल्झ्एिको÷अल्मलिएको छ ।

लहडी निर्माण

अधिकांश ठाउँमा नयाँ घरहरूमा ढुंगा जगभित्र मात्रै खुम्चिएर बसेको छ । ढुंगाको गारो लगाउन सिपालु निर्माणकर्मी पाउन मुश्किल भैसक्यो । भूकम्पका बेला छानाका स्लेट असिना झ्ैं ओइरिएकाले निर्माण पद्धतिमा सुधार गरी पुनः प्रयोग गर्ने ‘झ्न्झ्ट’ न नक्शा तयार पार्नेले गरे न त गाउँका निर्माणकर्मीले । मोटो ढुंगे गारो गल्र्यामगुर्लुम ढलेका दृश्यको साक्षी बनेकाले ढुंगे गारो पनि धेरैको प्राथमिकतामा परेन । फलस्वरुप यसअघि ईंटा नपुगेका गाउँतिर र्इंटाभट्टा खुलेका छन् । तर धेरै ठाउँमा ईंटा यति कमसल छन् कि निर्माणस्थलमा झर्दासम्म सग्लो ईंटा भेटिनै मुश्किल पर्छ । पुनर्निर्माणमा खटिने इन्जिनियरले यस्ता उद्योगहरूलाई सचेत बनाउनुपर्ने हो ।

यसपालिको पुनर्निर्माणमा सबैतिर धेरथोर सिमेन्ट मिसिएको छ । ईंटाको गारोमा ढलानका बन्धनबाहेक गारो लगाउने मसलामा पनि सिमेन्ट नै प्रयोग भएको छ । यदाकदा देखिने ढुंगे गारोमा चाहिं माटोको मसला र सिमेन्टको लिपपोतसाथै टिपकार देखिएको छ । गाउँठाउँमा नौला ब्राण्डका सिमेन्ट देखिएका छन्, जसको गुणस्तरमा कसैको ध्यान पुगेको छैन । मुछेको घण्टौंपछि मात्र हैन, भोलिपल्ट पनि अलिअलि पानी र बालुवा छम्केर त्यही मसला प्रयोग गर्ने चलन छ । सिमेन्ट भएपछि त्यसै बलियो हुन्छ भन्ने मान्यताले सुरक्षित ओत नबन्ने खतरा छ ।

गाउँगाउँमा सिमेन्ट, डण्डी र बालुवा पुर्‍याउन डोजरले डामेका बाटाहरू थपिएका छन् । सामान बोक्ने मान्छेको अभावसँगै गाउँले डोजर र टिपरको दबाब झ्ेलिरहेको छ । डोजर चलाउँदा बाटोका चौतारी मासिएका छन् । गाउँबस्ती शुरू हुनुअघि पाटी, ठाँटी, चौतारी र कुवा देख्न अभ्यस्त आँखाहरू थाकेका छन् । यस्ता संरचना थपिने सम्भावना पनि झ्निो छ । ग्रामीण सभ्यताको पर्याय बनेका यी सम्पत्ति लहडी नव–निर्माणको शिकार भएका छन् । ग्रामीण बस्ती शुरूआतको परिचय दिने मानक अब भट्टी पसल भएका छन् ।

चौतारो मास्न जाने पनि, ठाँटी र पाटी भत्किन दिए पनि गाउँपालिकाहरू भ्यूटावर र गेट बनाउन सिपालु भैरहेका छन् । अग्लो डाँडामा दृश्यावलोकनका लागि विश्राम स्थल, चौतारो, पाटी, शौचालय, व्यवस्थित बगैंचा बनाउनु असल काम हो । तर पर्यटन प्रवद्र्धनका नाममा भ्यूटावर खेती डरलाग्दोसँग फस्टाएको छ । ‘तपाईंलाई स्वागत छ...’ लेखिएका गेटमा अनावश्यक खर्च गर्ने चलन फैलँदो छ । ठाउँ शुरू भएको र सकिएको जनाउ दिनु त राम्रै हो तर, त्यसले स्थानीय शैली र संस्कृतिको परिचय दिन सक्नुपर्छ । कंक्रिटका भद्दा गेट डिजाइनमा स्थानीय सरकारहरू अल्झ्रिहेका छन् ।

फेरिएको निर्माणशैली तर नफेरिएको जीवनशैलीको राम्रो बिम्ब रामेछापको मन्थली छेउछाउ र नुवाकोट, बेलकोटगढीको डाँडागाउँ सेरोफेरोमा पनि देखिन्छ । डाँडागाउँमा जस्तापाताका छाना भएका दुईकोठे घरसँगै ढलान घरहरू पनि बनेका छन् । दाउरे कटेरो नभएपछि घरका छतमा दाउरा र मकै राखिएको छ । विदेशबाट पैसा भित्रिइरहँदा घरहरू मूल बाटोछेउ र बगरछेउ झ्रेका छन् । नयाँ बस्तीको साँघुरो घडेरीमा घर बनेपछि दाउरे कटेरो र मकैको कुन्यु छतमा सरेको बुझन सकिन्छ ।

रामेछापको मन्थली आसपासको ग्रामीण भेगमा बनेका ढलान घरका छतहरू पराल राख्ने टौवा र कुन्यु बनेको विचित्रको दृश्यले बताउँछ, पुनर्निर्माण मिलेको छैन । संस्कृति र कृषिमा आश्रित पेशाको चक्र सम्हाल्ने घर नबन्दा गाउँठाउँलाई आफ्नो जीवनशैली धान्न सहज छैन । लसुन र खुर्सानीदेखि मकैका झुत्तासम्म झुन्ड्याउन मिल्ने घर हराएसँगै गाउँघरको राखनधरन खलबलिएको छ ।

असल प्रविधि, गुणस्तरीय निर्माण सामग्री र सुरुचिपूर्ण डिजाइनबाट जीवनशैली, संस्कृति र पेशागत विशिष्टता अट्ने गाउँघर बनाउन सकिन्थ्यो तर, त्यसो भएन । निजी र सार्वजनिक सुविधाको सुरुचिपूर्ण र योजनाबद्ध बस्ती विकास गर्ने अवसर गुमेको छ ।

गाउँबस्तीले आफ्नो नियमित जीवनशैलीको लय पक्रिंदै जीविकोपार्जनको फराकिलो र दीर्घ मार्गमा फर्कन सक्ने गरी गाउँ विकासको खाका कोर्नेको जय होस् !

comments powered by Disqus

रमझम