२०-२६ माघ २०७५ | 3-9 February 2019

बढे चखेवा र खोयाहाँस

Share:
  
कोशीटप्पुमा यस वर्षको गणनामा चखेवा र खोयाहाँसको संख्या पहिलेभन्दा उल्लेख्य बढे पनि वासस्थानको वातावरण खलबलिंदै जाँदा समग्र जलचराको संख्या घट्दो छ।

कोशीटप्पुमा चखेवा ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा यो वर्षको चरा गणनामा चखेवा (रुडी शेल्डक) गएको वर्षभन्दा तेब्बर बढी पाइएको छ । कोशी पक्षी समाज र हिमाली प्रकृति नामक संस्थाले २१ पुसदेखि पाँच दिनसम्म गरेको गणनामा आरक्षभित्रको नदी क्षेत्रमा २,३२१ वटा चखेवा भेटिएको हो । २०७४ सालमा गणना गर्दा ८५३ मात्रै चखेवा पाइएको थियो । त्यसअघि भने २०७३ सालमा १,५०८ र २०७२ मा १,०५५ वटा चखेवा गणना गरिएको थियो ।

धान मात्रै खाने र प्रायः जोडी नछुट्ने चखेवाले दक्षिणपूर्वी युरोप र मध्य एशियामा प्रजनन् गर्छ । यो पक्षी हिउँदमा नेपाल आउँछ । यो वर्ष ५२ प्रजातिका ६,९५९ जलचरा भेटिएकोमा ३३ प्रतिशत चखेवा मात्रै पाइएको छ । चखेवासँगै यस पटकको गणनामा बार–हेडेड गूज (खोयाहाँस) पनि उल्लेख्य संख्यामा पाइएको छ ।

आरक्षको नदी आसपास यसअघि छिटपुट मात्रै देखिने खोयाहाँस यसपटक १,२२८ वटा पाइएको कोशी पक्षी समाजका अध्यक्ष अनिस तिम्सिना बताउँछन् । जलचराको संख्या घट्दो क्रममा रहेको कोशीटप्पुमा यी दुई चराको संख्या बढ्नु उत्साहजनक भएको भन्दै उनी थप्छन्, “धेरै वर्षदेखिको चरा गणनामा यति ठूलो संख्यामा चखेवा पाइएको थिएन । खोयाहाँसको यो संख्या पनि सामान्य होइन ।” जाडो छल्न विगतका वर्षमा अन्यत्र जाने गरेका यी दुई जातका चरा यस वर्ष कोशीमा आएको पक्षीविद् संघ पूर्वाञ्चलका संयोजक बद्री चौधरी बताउँछन् । “वासस्थानमा मानव अतिक्रमण हुन थालेपछि यी फिरन्ते चराहरू नयाँ ठाउँ जाने गर्छन्”, उनी भन्छन् ।

घट्दै जलपक्षी

नेपालमा पाइने ८८४ प्रजातिका चरामध्ये कोशीटप्पुमा ५२८ प्रजाति पाइन्छन् । यस वर्ष कोशीटप्पुमा चराको संख्या सामान्य वृद्धि भएको देखिए पनि संख्या वर्षेनि घट्दो छ । २०७४ सालको गणनामा आरक्षमा ५५ प्रजातिका ५,९६४ चरा पाइएकोमा यस वर्ष ५२ प्रजातिका ६,९५९ को संख्यामा पाइएको छ ।

२०७४ सालमा २०७३ भन्दा २,६१५ चरा कम पाइएको थियो । २०७३ मा ५७ प्रजातिका ८,५६१ चरा भेटिएको तथ्यांक राखिएको थियो । २०७२ मा गणना गर्दा ५६ प्रजातिका ३,७७० चरा फेला परेका थिए । कोशीटप्पुमा ३१ वर्षअघिदेखि चरा गणना गरिंदै आएको छ । यस अवधिमा हरेक वर्ष सबै प्रजातिका चराको संख्या घट्दो क्रममा पाइएको छ । चरा गणनामा २५ वर्षदेखि सहभागी हुँदै आएका चराविद् बद्री चौधरी भन्छन्, “पहिले जस्तो चराको झुण्ड अहिले कहाँ पाइन्छ र !”

तस्वीरः यात्रा राई
कोशीटप्पुमा खोयाहाँस ।

चीन, रूसको साइबेरिया लगायतका स्थानबाट कोशीटप्पुमा आउने जलचरामध्ये अधिकांशले अन्न मात्रै खान्छन् । अन्न पाइने एकलास स्थानका खेतहरू प्लटिङ हुनुका साथै आरक्ष आसपास मानव चहलपहल बढेकाले चराहरू भारत पुगेको अनुमान चराविद्हरूको छ ।

आरक्षमा जलचरा घटे पनि सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालमा जलचरा बढी पाइएको छ । कोशी पक्षी समाजले ताल क्षेत्रमा ३० प्रजातिका १२ हजार २४८ चरा गणना गरेको छ । हिमाली प्रकृतिका चरा गणक सञ्जीव आचार्यका अनुसार, सुनसरीमा फल्भस ह्विस्लीङ डक (ठूलो सिलसिले हाँस) ३१ वर्षपछि फेला परेको छ । लेसर ह्विस्लीङ डक (सिलसिले हाँस) को बथानमा १६ वटा ठूलो सिलसिले हाँस देखिएको उनले बताए । यसअघि कोशी ब्यारेजमा १६ मार्च १९८७ मा उक्त प्रजातिको एउटा हाँस देखिएको थियो ।

बर्जु तालमा धेरै प्रजातिका चरा बसाइँ सरेर आउने गरे पनि वासस्थानको वातावरण जोगाउने चिन्ता मुख्य रहेको चराविद्हरू बताउँछन् । कोशी पक्षी समाजका सदस्य सुवास भुजेलका अनुसार, ताल वरपर वनभोज खाने र तालको डिलमा सवारी साधन गुडाइने गर्दा चरालाई असर पर्ने गरेको छ ।

कमल रिमाल, सुनसरी

comments powered by Disqus

रमझम