चराविद् एरेन्ड वान रिस्सेनले खोयाहाँस काठमाडौंको टौदह नजिक वागमती नदीमा भेटिएको बारे गएको पुसको अन्तिम साता सामाजिक सञ्जालमा तस्वीरसहित पोस्ट गरेका थिए । उक्त पक्षीको गन्तव्य काठमाडौं उपत्यका होइन, समथर भूभागका सिमसार क्षेत्रहरू हुन् । वागमतीमा यसको तस्वीर खिच्ने सुरले जाँदा त्यो दिन कतै भेटिएन । २ माघको बिहान पुनः टौदह नजिक वागमतीमा चहार्दै गर्दा टाढैबाट सारस जस्तो अग्लो एक चरा देखियो । क्यामेराको जुमबाट हेर्दा त्यो बार–हेडेड गूज नै रहेछ । टाढैबाट धेरै तस्वीर खिचें । अलि नजिक गई तस्वीर खिच्न लाग्दा उड्यो र केही बेर आकाशमा फन्का लगाएर अलि पर गएर बस्यो । प्रायः बथानमा देखिने खोयाहाँस वागमती नदीमा भने एक्लो थियो ।
खोयाहाँसको आकार घरपालुवा राजहाँस जत्रै हुन्छ । शरीर चाँदीजस्तो सेतो तर थोरै खैरो रङको हुन्छ । टाउको तथा घाँटीको एकतिहाइ भाग सेतो, टाउकोमा दुई वटा कालो धर्सा र आँखा कालो हुन्छ । वयस्क नभएका खोयाहाँसमा काला धर्साहरू देखिंदैनन् । खुट्टा हल्का पहेंलो हुन्छ । पखेटाको टुप्पो हल्का कालो हुन्छ । प्रायः खोला किनारमा देखिने यो पक्षी घाँसे चौरमा पनि चर्ने गर्छ । एक अनुसन्धानात्मक लेख अनुसार खोयाहाँसले विशेष गरी मंगोलिया, चीन र तिब्बतमा बच्चा कोरल्छ । ‘जियोग्राफिक भेरिएसन इन बार–हेडेड गूज, एन्सर इन्डिकसः कनेक्टिभिटी अफ विन्टरिङ एरियाज एण्ड ब्रिडिङ ग्राउन्ड्स एक्रस अ ब्रोड फ्रन्ट’ (सन् २००९) शीर्षकको लेख अनुसार हिउँदमा भने यो प्रायः भारतका सिमसार क्षेत्रमा पुग्छ । साथै; नेपाल, म्यान्मार र पाकिस्तानमा बस्छ । नेपाल र भारतको केही भूभागमा पुग्ने खोयाहाँस सगरमाथाको शिर भएर यता भित्रिन्छ । त्यति उँचाइबाट उड्न सक्ने क्षमता हुनुमा उक्त पक्षीको शारीरिक संरचना विशेष प्रकृतिको पाइएको छ । यस सम्बन्धी लेखिएका अनुसन्धानात्मक लेखहरूका अनुसार यो पक्षीले अत्यन्त कम अक्सिजनमा पनि सहज रूपमा सास फेर्न सक्छ र कम अक्सिजनबाटै शरीरलाई आवश्यक शक्ति प्राप्त गर्छ ।
नारायणीमा घट्यो, कोशीमा बढ्यो
सन् २००९ जनवरीमा चितवन राष्ट्रिय निकुञ्जको जंगल आइल्यान्ड रिसोर्टमा जाँदा नारायणी नदीमा करीब २०० को संख्यामा खोयाहाँस देखिएका थिए । स्वदेशी तथा विदेशी पर्यटकले खोला किनारमा खोयाहाँस चरेको दृश्य निकै चाखपूर्वक हेरेका थिए ।
देशभरको सिमसार क्षेत्रको चरा गणना हरेक वर्ष जनवरी ५ देखि २० सम्म हुँदै आएको छ । नारायणी नदी र आसपासका सिमसारमा यो वर्ष ‘टाइगर टप थारु भिलेज रिसोर्ट’ को अगुवाइमा चरा गणना भएको थियो । उक्त रिसोर्ट सम्बद्ध डीबी चौधरीका अनुसार यो वर्ष नारायणीमा करीब ५०० खोयाहाँस देखिएका थिए । केही वर्षअघि त्यहाँ करीब ७०० खोयाहाँस आएका थिए । सन् २०१८ सम्मको आँकडा अनुसार नेपालमा सबैभन्दा बढी खोयाहाँस चितवन राष्ट्रिय निकुञ्जमा पाइने जानकारी थियो ।
काठमाडौं उपत्यकामा खोयाहाँस दुर्लभ पक्षी हो । उपत्यकाको सिमसार क्षेत्रमा यो पक्षी नदेखिए पनि यहाँको आकाशबाट उत्तर–दक्षिण उड्ने गरेको बताइन्छ । एरेन्ड वान रिस्सेनले वागमती नदी र टौदह क्षेत्रमा विगत १७ वर्षदेखि चराबारे अध्ययन गर्दै आएका छन् । रिस्सेनको पुस्तक ‘दी बर्ड्स अफ वागमती एन्ड टौदह एरिया, २००३–२०१६’ (सन् २०१७) अनुसार, वागमती र टौदह क्षेत्रमा बार–हेडेड गूज सन् २००३ देखि २०१३ सम्म जम्मा सात पटक देखिएको थियो ।
यस वर्ष कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रमा कोशी पक्षी समाजको अगुवाइमा चरा गणना भयो । बर्ड वाचिङ गाइड सुवास भुजेलले कोशी ब्यारेजदेखि उत्तरतर्फ कुसाहा आसपासको क्षेत्रमा खोयाहाँस बढी मात्रामा पाइने बताए । त्यहाँ यो वर्ष करीब १२०० खोयाहाँस गणना गरिएको थियो । आरक्षमा यसअघि यति ठूलो संख्यामा खोयाहाँस कहिल्यै पाइएको थिएन । सप्तकोशी सामुदायिक होमस्टे, प्रकाशपुरका अनिश तिम्सिनाका अनुसार, यसअघि आरक्ष क्षेत्रमा बढीमा करीब १०० खोयाहाँस देखिएका थिए ।
कोशी टप्पु बर्ड वाचिङ क्याम्पका प्रोप्राइटर सञ्जय था श्रेष्ठले गणनाका क्रममा खोयाहाँसको तस्वीर मनग्य खिचे । यो हाँस निकै चलाख हुने भएकाले नजिकै पुगेर तस्वीर खिच्न सकिन्न । यस्तै, मानिसको चहलपहल हुने स्थानमा खोयाहाँस बस्न रुचाउँदैन । ५–६ माघमा कोशी टप्पु वन्यजन्तु आरक्ष पुग्दा भने कार्यालय आसपास एउटा पनि खोयाहाँस देखिएन । अर्ना र सिमसारमा पाइने चरा हेर्ने उपयुक्त गन्तव्य आरक्षमा खोयाहाँसको संख्या वृद्धिले कोशी टप्पुको साख बढाउन मद्दत पुग्ने देखिन्छ ।
भारतमा खोयाहाँस हेर्न पर्यटकहरू ओइरो लाग्छन् । हामीकहाँ भने यसबारे खासै चर्चा गरिंदैन । वागमतीमा यदाकदा खोयाहाँस देखिनुले त्यहाँ विगतमा यसको वासस्थान थियो भन्ने अनुमान गर्न सकिन्छ । गएको वर्षसम्म चितवनमा उल्लेख्य संख्यामा पाइने खोयाहाँस यो वर्ष घट्नुको संकेत के हो भने, त्यहाँ यसको बसाइ असुरक्षित हुँदै गएको छ । यस विपरीत कोशी टप्पु वन्यजन्तु आरक्षमा मानिसको भीडभाड कम हुने क्षेत्र खोयाहाँसले रोज्दा संख्या उल्लेख्य देखियो । यो संख्या आउँदा वर्षमा घट्न नदिन आरक्षमा यसको वासस्थान सुरक्षित गर्न ध्यान दिनुपर्छ ।