‘हास्यरस’को शिकार

Share:
  
- मस्त केसी
राम्रो व्यापार गर्ने धुनमा उस्तै विषयवस्तु र शैली पछ्याउने प्रवृत्तिाले सिर्जनशीलता र मौलिकता मर्दै गएको छ।

चलचित्र ‘छक्का पञ्जा ३’ मा कलाकार दीपाश्री निरौला ।
नेपाली चलचित्र उद्योगमा तीन वर्षयता हास्यप्रधान चलचित्रको बाढी आएको छ । २०७२ सालको दशैंमा प्रदर्शन भएको हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला टीम निर्मित चलचित्र ‘वडा नम्बर ६’ को उत्साहजनक व्यापारपछि उस्तै शैलीका चलचित्र बनाउने क्रम बाक्लिएको हो । ‘वडा नम्बर ६’ व्यावसायिक रुपमा सफल भएपछि यही शैलीको प्रभावमा ‘जय भोले’, ‘लाल जोडी’, ‘मेरो पैसा खोइ’, ‘चंगा चेट’, ‘मिस्टर झोले’, ‘शत्रु गते’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’ लगायतका दर्जनौं चलचित्र बने । यसमध्ये किरण केसी निर्मित ‘शत्रु गते’ र अशोक शर्माको ‘जय भोले’ ले राम्रो व्यापार गरे ।

निर्देशक यादव खरेल बजारमा जस्तो चलचित्र चलेको छ, उस्तै शैलीका चलचित्र निर्माण गरेर लगानी सुरक्षित गर्न खोज्नुलाई स्वाभाविक मान्छन् । “ठूलो लगानी हुने भएकाले खर्च उठाउनुपर्ने अभिभारा पनि निर्देशकको हातमा हुन्छ” उनी भन्छन्, “तर, चलेको शैली पछ्याएर निर्माण गर्दैमा चलचित्र चल्छ भन्न सकिंदैन ।” चलचित्रमा व्यापार हावी हुँदा मौलिकता र सिर्जनशीलता केही ओझेल पर्ने उनको बुझाइ छ । शैली उस्तै पछ्याए पनि चलचित्रमा विषयको विविधता भने पछिल्लो समय बढेको खरेल बताउँछन् ।

हास्यरसकै चलचित्र ‘सुपरहिट’ भएपछि दीपक–दीपाकै टीमले पनि यो शैलीभन्दा बाहिर निस्कने आँट गरेको छैन । ‘वडा नम्बर ६’ पछि २०७३ सालमा ‘छक्का पञ्जा’ बनाएको उक्त टीमले सिक्वललाई निरन्तरता दिंदै गएको दशैंमा त्यसैको ‘छक्का पञ्जा ३’ प्रदर्शनमा ल्यायो । टेलिचलचित्रबाट ठूलो पर्दामा फड्को मारेका हास्यकलाकार टीमको एकपछि अर्को चलचित्र व्यावसायिक रुपमा सफल मात्र भएका छैनन्, सर्वाधिक व्यापारको कीर्तिमान समेत बनाएका छन् । निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार उनको पछिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ ले नेपालमा मात्रै रु.१६ करोडको कारोबार गर्‍यो । ‘६ एकान ६’ बाहेक यो टीमले बनाएका सबै चलचित्रको कमाइ रु.१० करोडभन्दा माथि छ । गिरी भन्छन्, “दर्शकको चाहना बुझेर मौलिक विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दा चलचित्र सफल हुन्छन् ।” लगानी सुरक्षित गर्ने चुनौतीलाई ख्याल गर्दै आफ्नो टीमले मौलिक चलचित्र बनाइरहेको उनको दाबी छ ।

सानो पर्दाका कलाकार जोडिएका चलचित्रको व्यापार राम्रो देखिएपछि टेलिचलचित्रबाट चलचित्र निर्माण तथा अभिनयमा फड्को मार्नेहरूको लर्को लामै छ । टेलिचलचित्र ‘जिरे खुर्सानी’ बाट राता मकैको नामले चर्चित किरण केसीले फिल्म ‘दाल भात तरकारी’ बनाएका छन् । सानो पर्दाकै कलाकारको बाहुल्य रहेको उक्त चलचित्र आगामी वैशाखमा प्रदर्शनमा आउनेछ । हास्यकलाकार राजाराम पौडेल र मनोज गजुरेल निर्मित ‘१०० कडा १०’ १८ माघबाट प्रदर्शनमा आएको छ । ‘वडा नम्बर ६’ पछि ठूलो पर्दामा नदेखिएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडी क्रिकेट रंगशाला निर्माणसँगै चलचित्रको पटकथा तयारीमा व्यस्त छ । सानो पर्दामा चर्चा कमाएका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत कलाकार पनि चलचित्र निर्माणमा जुटिरहेका छन् ।

जसले ‘ट्रेन्ड’ बसाए

चलचित्र ‘दाल भात तरकारी’ को भिजिट भिसामा गीतको दृश्यमा कलाकार हरिवंश आचार्य र निरुता सिंह ।
माओवादी हिंसात्मक विद्रोहका कारण २०५० को दशकको मध्यतिर चलचित्रको व्यापार शिथिल थियो । राजेश हमाल अभिनित एकाध चलचित्रले मात्र सन्तोषजनक व्यापार गरेका थिए । त्यही बेला २०५६ सालमा निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दर्पण छायाँ’ प्रदर्शनमा आयो । दिलीप रायमाझी, निरुता सिंह र उत्तम प्रधानको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले अत्यधिक रुचाए । चलचित्रले व्यापारिक कीर्तिमान मात्रै बनाएन, बजारको नयाँ आयतनको सम्भावना पनि देखाइदियो । त्यसपछि श्रीकृष्ण श्रेष्ठ र दिलीप रायमाझीले अभिनय गरेका प्रेमकथामा आधारित चलचित्रले केही वर्ष उद्योग धाने ।

प्रेमकथाका चलचित्रको व्यापार सुस्ताउन लागेको बेला २०५९ मा नवनायक निखिल उप्रेती अभिनित द्वन्द्वप्रधान चलचित्र ‘पिंजडा’ प्रदर्शित भयो । यसको सफलतापछि मारधाडले भरिएका चलचित्र निर्माणको लहर चल्यो, जसको उपयोग गर्दै निखिलसँगै, विराज भट्ट, रमित ढुंगाना लगायत अभिनेताले करीब १० वर्ष राज गरे । एक्सन चलचित्र हराएसँगै उनीहरू पनि सेलाए । यही बीचमा २०६९ मा रंगमञ्चबाट आएका कलाकारको बाहुल्य रहेको चलचित्र ‘लूट’ प्रदर्शनमा आयो । बोलीचालीको भाषा टपक्कै टिपेर बनाइएको निश्चल बस्नेत निर्देशित उक्त चलचित्रले व्यापारिक सफलता मात्रै कमाएन, चलचित्र उद्योगमा नयाँ ‘धार’ को बहस पनि गरायो । ‘लूट’ कै लवजमा बनेका ‘चपली हाइट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘कबड्डी’, ‘दुई रुपैयाँ’, ‘मिस्टर झोले’, ‘प्रसाद’ लगायतले औसत व्यापार गरे । तर, सिक्वलको रुपमा बनाइएका ‘लूट–२’ र ‘चपली हाइट–२’ ले भने दर्शकबाट राम्रो प्रतिक्रिया पाएनन् ।

‘वासुदेव’, ‘वसन्ती’ जस्ता चलचित्रका निर्माता/निर्देशक समेत रहेका नीर शाह व्यापारिक सफलतालाई मात्रै ध्यान दिंदा चलचित्रमा सिर्जनशीलता हराउन सक्ने बताउँछन् । “बजार ख्याल नगरी बनाएका थुप्रै चलचित्र फ्लप भएका छन्” शाह भन्छन्, “अर्कोतिर, नयाँ प्रयोग र अनुसन्धानमा लगानी गर्ने चलन नै छैन ।” मौलिक कथा र सिर्जनशीलतालाई ध्यान दिएर बजार अनुकूलको चलचित्र बनाउनेतिर ध्यान दिनुपर्ने उनको सुझाव छ ।

अभिनेता तथा निर्माता राज तिमल्सिना उस्तै शैलीका चलचित्रको बजार लामो समय नटिक्ने बताउँछन् । “हाम्रो विगतदेखिको अनुभव हेर्दा एउटा धारको चलचित्र चल्दा त्यसको प्रभाव बढीमा चार/पाँच वर्ष रहन्छ”, उनी भन्छन् । २०४० को दशकमा बनेका ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘सिन्दूर’, ‘युगदेखि युगसम्म’ पनि प्रेमकथामै आधारित चलचित्र हुन् । तर, त्यो समयमा चलचित्र निर्माण अत्यन्तै कम हुने भएकाले यी चलचित्रले व्यावसायिक सफलता पाए पनि ‘ट्रेन्डसेटर’ बनेनन् । पुरानो पुस्ताका निर्देशक तुलसी घिमिरे, शिव रेग्मी, लक्ष्मीनाथ शर्मादेखि नयाँ पुस्ताका निश्चल बस्नेत र दीपाश्री निरौलाका चलचित्रले बजारमा ‘ट्रेन्ड’ को विकास गरे । जसलाई अरुले पछ्याइरहेका छन् ।

फैलिंदो बजार

नेपालमा वार्षिक करीब १२० वटा चलचित्र निर्माण भइरहेका छन् । यकिन तथ्यांक नभए पनि तीमध्ये करीब ८० प्रतिशत चलचित्र प्रदर्शनमा आउँछन् । जसमध्ये १० वटा चलचित्रले मुश्किलले लगानी उठाउने गरेका छन् । दुई वा तीन चलचित्रले भने राम्रै आम्दानी गर्छन् । निर्देशक खरेल नेपालमा मात्रै नभएर अन्य देशमा पनि निर्माण भएकामध्ये १० प्रतिशत चलचित्र मात्रै ‘हिट’ हुने बताउँछन् । उनी भन्छन्, “हलिउड, बलिउडका एक÷दुई चलचित्रलाई लिएर उदाहरण दिनुहुँदैन ।” नेपाली चलचित्रको बजार निराश नै हुनुपर्ने खालको नरहेको भन्दै उनी मौलिक र आफ्नै परिवेशको कथामा जोड दिनुपर्ने सुझाउँछन् ।

प्रविधिको विकास–विस्तारसँगै चलचित्रको बजार फराकिलो बन्दैछ । नेपाली बसेका धेरै पश्चिमा देशमा अहिले नेपाली चलचित्र चल्ने गरेका छन्, जसले चलचित्र उद्योगलाई भरथेग गरेको छ । मौलिक र स्थानीयपन बोकेका चलचित्र बने बाहिरको पनि बजार राम्रो हुने निर्माता तिमल्सिना बताउँछन् । उनी भन्छन्, “दर्शकले चलचित्रमा आफ्नोपन पाए भने सफल हुन्छ ।”

अर्कोतर्फ चलचित्रका गीत बजार बढाउन सहायक बन्न थालेका छन् । चलचित्र चल्नुमा गीतको पनि धेरथोर भूमिका रहने छँदैछ, निर्माताहरूले यूट्यूबमा राखिने गीतबाट ‘भ्यूज’ को आधारमा १५ प्रतिशत मुनाफा पाइरहेका छन् । बल्लतल्ल लगानी सुरक्षित गरेको चलचित्र ‘दुई रुपैयाँ’ को कुटुमा कुटु अहिलेसम्म यूट्यूबमा हेरिएकामध्ये सर्वाधिक भ्यूज पाएको नेपाली गीत हो । माघ तेस्रो सातासम्म यो गीतको भिडियो ९ करोड २० लाखभन्दा बढीले हेरेका छन् । यसबाट निर्माताको खल्तीमा करीब रु.१ करोड ४० लाख आएको छ । जबकि यो चलचित्र निर्माणको लागत रु.६० लाख हो ।

निर्माताहरूका अनुसार यूट्यूबमा एक करोड भ्यूज हुँदा डिजिटल अधिकारप्राप्त कम्पनीबाट करीब १५ लाख रुपैयाँ प्राप्त हुन्छ । यो आधारमा ‘लूट २’ को ठमेल बजार, ‘पर्व’ को काले दाइ, ‘वडा नम्बर ६’ को सुर्के थैली खै, ‘मंगलम’ को पर्ख पर्ख मायालु, ‘ह्याप्पी डेज’ को चेप्टे चेप्टे पेरुङ्गो, ‘शत्रु गते’ को रुपै मोहनी, ‘चंगा चेट’ को गोजीमा दाम छैन, ‘प्रसाद’ को वनकी चरी लगायतका गीतले यूट्यूबमा लोकप्रिय हुँदै राम्रै कमाइ गरे । आगामी वैशाखमा प्रदर्शनमा आउने चलचित्र ‘दाल भात तरकारी’ को भिजिट भिसामा गीत अहिले यूट्यूब ‘ट्रेन्डिङ’ मा छ ।

comments powered by Disqus

रमझम