२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

स्थानीय सरकारको बेवास्ता

Share:
  
- तुलसी गौतम
उत्पादकबाट उपभोत्तासम्म पुग्दा तरकारीको मूल्यमा आउने ठूलो अन्तर कम गरी बजार व्यवस्थित बनाउन स्थानीय सरकार अघि सर्नैपर्छ।

उपभोक्ताले चर्को मूल्य तिरिरहँदा पनि किसानले भाउ नपाएर तरकारी बारीमा डोजर लगाएको, भैंसीलाई खुवाएको जस्ता समाचार आइरहेका छन् । किसानले दूध सडकमै पोखेर विरोध जनाएका समाचार पनि वर्षेनि आइरहन्छन् ।

काठमाडौंको कालीमाटी तरकारी बजारमा माघको तेस्रो साता बन्दाको थोक मूल्य प्रति किलो ८ देखि १० रुपैयाँ हुँदा बानेश्वर, शंखमूलको तरकारी बजारमा रु.३० प्रतिकिलोमा बिक्री भएको थियो । यस्तै शंखमूलमा सानो गोलभेडा प्रति किलोको रु.४०, ब्रोकाउली रु.७० र च्याउ रु.१८० मा बिक्री भइरहँदा कालीमाटी बजारमा भने सानो गोलभेडा रु.२० ब्रोकाउली रु.३० र च्याउ रु.११० प्रति किलो थियो । उता चितवनका किसानले भने बन्दाको मूल्य प्रतिकिलो पाँच रुपैयाँ पनि पाएका थिएनन् ।

तरकारी चाँडै बिग्रेर खेर जाने, ढुवानी र भण्डारण गर्दा थिचिएर नोक्सान हुने हुँदा यसको खुद्रा मूल्य बढी हुने गरेको व्यापारीहरू बताउँछन् । थोक र खुद्रा मूल्यमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्मको अन्तर जायज मान्छन् तिनकुनेका व्यापारी विकास श्रेष्ठ । तर, मूल्य अन्तर योभन्दा निकै धेरै छ ।

अव्यवस्थित बजार

काठमाडौं लगायत शहरी क्षेत्रमा पसलैपिच्छे तरकारीको भाउमा केही अन्तर पाइन्छ । मूल्य सूची कतै उपलब्ध हुँदैन । कामकाजी उपभोक्ताहरू थोक र खुद्रा मूल्यको अन्तर केलाउन भ्याउँदैनन् । धेरैजसो किराना पसलमा तरकारी पनि बेचिन्छ । उपभोक्ताको मानसिकता बुझेको व्यापारी कसेरै मूल्य लिन्छ । बजार अर्थतन्त्रमा उपभोक्ता ‘राजा’ हुन्छ भन्ने मान्यता यहाँ लागू हुँदैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार देशकै ठूलो थोक बजार हो । यहाँ व्यापारीहरूको मिलेमतोका कारण भाउ बढ्ने गरेको आरोप लाग्ने गरेको छ । सामान्यतया माग र आपूर्तिको अवस्था अनुसार मूल्य निर्धारण हुन्छ, यहाँ । स्वदेशी उत्पादनको मूल्य भारतीय तरकारी ओइरिएको बेला ह्वात्तै घट्छ । केही घण्टा नबित्दै फेरि बढ्छ । मूल्य यसरी तल–माथि भएको बेलामा पनि उपभोक्ताले भने हिजो अस्तिकै बढेको मूल्य तिर्नुपर्छ ।

कालीमाटी बजारमा कायम भएको मूल्यले देशका अन्य थोक बजारहरू प्रभावित हुने कृषि उपज बजार सञ्चालन समिति बुटवलका अध्यक्ष कलाधर पन्थी बताउँछन् । राजमार्ग आसपासमा रहेका संकलन केन्द्र र मकवानपुरको टिस्टुङ, पालुङ, धादिङको चरौंदी, गोरखाको घ्यालचोक, स्याङ्जाको वालिङ आसपासका उत्पादन क्षेत्रमा कालीमाटी बजारको मूल्यलाई आधार मानेर पोखरा वा बुटवलमध्ये कुन बजारमा तरकारी बिक्री गर्ने निर्णय गरिन्छ । धनुषाको ढल्केवरका एक आपूर्तिकर्ता पनि काठमाडौंको बजारले देशभरको तरकारी मूल्यमा प्रभाव पार्ने बताउँछन् ।

काठमाडौंका बल्खु, चाबहिल, तिनकुने, बालाजु लगायतका ठाउँमा पनि तरकारीको थोक तथा खुद्रा बजार छन् । तर यी बजारहरूमा कालीमाटीकै भाउमा तरकारी पाइने भनिए पनि त्यस्तो देखिंदैन । उदाहरणका लागि कालीमाटीमा बन्दाको थोक भाउ ८ देखि १० रुपैयाँ प्रतिकिलो हुँदा तिनकुनेमा १६ देखि २० रुपैयाँ थियो । त्यसबेला तिनकुनेका व्यापारी विकास श्रेष्ठले कालीमाटीमा चितवनको सेतो बन्दा र तिनकुनेमा भक्तपुरे हरियो बन्दा भएकोले भाउ फरक परेको दाबी गरेका थिए । उत्पादन गरिएको ठाउँ फरक रहेको भन्दै उपभोक्तालाई भ्रममा पारेर मूल्य बढाउने काम पनि भइरहेको छ ।

समाधान के ?

यसरी मूल्य फरक भइरहँदा पनि नियामक निकायबाट अनुगमन र कारबाही भने हुँदैन । त्यस्तै तरकारी उत्पादन भएको ठाउँ अनुसार मूल्य फरक पर्ने हो भने त्यसको स्रोत र गुणस्तर अनुसार मूल्य सूचना दिनुपर्ने हो । तर, यो काम कसले गर्ने ?

खुद्रा बजारको नियामक संस्थाको पनि उपस्थिति कतै छैन । त्यसैले बजार अव्यवस्थित छ । किराना पसलेले ग्यास बिक्री गर्न नपाएजस्तै तरकारी बिक्री गर्न नपाउने, तरकारी बिक्री गर्नेले थोक र खुद्रा मूल्य सूची राख्नुपर्ने जस्ता नियम कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय सरकारको हो ।

त्यस्तै स्थानीय सरकारले तरकारी बजार सञ्चालन गर्न स्थान उपलब्ध गराउने, थोक र खुद्रा बजार सञ्चालन गर्न समिति गठन गरी त्यसमा वडा सदस्यको प्रतिनिधित्व गराउने र यस्ता समितिहरूले नियमित अनुगमन, कारबाही गर्न सक्दा बजार व्यवस्थित हुनसक्छ ।

बजार अव्यवस्थित हुनुमा कृषि बजार ऐन नबन्नु, स्थानीय सरकार र अन्य सम्बद्ध निकायले बेवास्ता गर्नु, उपभोक्ताहरू जागरुक नहुनु जस्ता कारण छन् । त्यस्तै असंगठित बजार, चर्को ढुवानी भाडा, बजार सूचना बारे उपभोक्ताको उदासीनता, छिमेकी मुलुकबाट अनियन्त्रित आयात जस्ता कारण पनि यसमा जिम्मेवार छन् । स्थानीय सरकारहरू मूल्य र गुणस्तरको नियमनमा जिम्मेवार बन्नै पर्छ ।

comments powered by Disqus

रमझम