५-११ फागुन २०७५ | 17-23 February7 2019

चिटिक्क कार्यस्थल

Share:
  

सुन्दर र सुविधाजनक कार्यस्थलले मनोबल र सृजनशीलता मात्र बढाउँदैन, उत्पादकत्व पनि बढाउँछ । यो व्यावसायिक सफलताको एउटा कडी पनि हो । कार्यस्थल अव्यवस्थित वा चित्त नबुझ्ने खालको भयो भने तनाव बढ्छ, काम गर्ने जाँगर चल्दैन । संसारभरि गरिएका सयौं अनुसन्धानले कार्यस्थलका कारण जनशक्तिको उत्पादकत्व र त्यसको गुणस्तरलाई प्रभाव पार्छ भन्ने निचोड निकालेका छन् ।

घर–आवास जस्तै कार्यस्थलको ढाँचा परम्परागत रुपमा वास्तु विज्ञानले परिभाषित गथ्र्यो भने हिजोआज इन्टिरियर डिजाइनरले कार्यस्थलको रुपरेखादेखि सजावट व्यवस्थापन गरिदिन्छन् । व्यवस्थित डिजाइन नै नगरिए पनि चिटिक्क सजाइएका कार्यकक्षमा काम गरिरहँदा स्फूर्ति त्यसै बढ्छ ।

अमेरिकी संस्था ग्यालोपले गरेको ‘स्टेट अफ द ग्लोबल वर्कप्लेस’ अध्ययन अनुसार कर्मचारीको संस्थासँगको निकटता, सहजता र अपनत्व कस्तो छ भन्ने कुरा धेरै हदसम्म कार्यस्थलको वातावरणले निर्धारण गर्छ । उक्त अध्ययनले प्राकृतिक उज्यालो भएको, खुला स्थान, व्यक्तिगत कुराकानीका लागि बैठक कक्ष र सहज कार्यस्थलले मात्रै पनि कर्मचारीको सिर्जनशीलतामा फरक पारिरहेको हुन्छ ।

सुन्दर र आकर्षक कार्यस्थल हुँदा कर्मचारीले राम्रो काम गर्ने गरेको र त्यसका लागि आकर्षक क्युबिकल भएका, प्रकाश व्यवस्था राम्रो भएका, सफा र खुला कार्यकक्ष आवश्यक हुने अध्ययनले देखाएको छ ।

कार्यस्थलको क्षेत्रफल, अवस्थिति र कामको प्रकृतिले डिजाइन कस्तो हुने भन्ने तय गर्ने भए पनि केही कुरा भने सबैले विचार पुर्‍याउनुपर्छ ।

डेस्क भरी असरल्ल फाइल र किताब, यत्रतत्र छरिएका सामान, धूलो, चिया कफीका खाली गिलास भएमा काम गर्ने ऊर्जा आउँदैन । यस्तो कार्यस्थलमा प्रवेश गर्दासाथ तनाव हुने, उदासी बढ्ने हुनसक्छ भने आगन्तुकको पनि तपाईंप्रतिको धारणा नकारात्मक हुनसक्छ । कार्यस्थलमा काम नलाग्ने वा बिग्रेका सामग्री रहिरहँदा तिनले नकारात्मक ऊर्जा प्रवाह गरिरहेका हुन्छन् ।

सजाइएको कार्यकक्ष, भित्तामा सकारात्मक ऊर्जा दिने खालका पेन्टिङ वा कलाकृति, लामो समय बसेर काम गर्दा पनि सहज हुने कुर्सी भएमा मन आल्हादित भइरहन्छ र उत्पादकत्व बढ्छ । कलम, डायरी, टेलिफोन जस्ता सामानहरू पनि डेस्कमा मिलाएर राखिएको हुनुपर्छ ।

मानिसलाई खुशी बनाउने वा आकर्षित गर्ने अर्को कुरा रङ हो । त्यसैले कार्यकक्षको रङ शान्त र उज्यालो खालको हुनुपर्छ । फर्निचरको छनोट गर्दा केही नयाँ तरिकाले सोच्नु राम्रो हुन्छ । जताततै देखिने भन्दा फरक खालका र आरामदायी फर्निचर छनोट गर्दा नयाँ खालको अनुभूति हुन्छ र नयाँ तरिकाले सोच्न प्रेरणा मिल्छ ।

कार्यालय व्यवस्थापनको आधुनिक शैली भनेको कार्यालयलाई खुला क्षेत्रको रुपमा विकास गर्ने हो । सकभर धेरै मानिसले एक–अर्कालाई देख्ने, गफगाफ गर्न सक्ने गरी कार्यकक्षको व्यवस्था मिलाउनुपर्छ । कार्यस्थलहरूबीच सजिलै आवागमन गर्न सक्ने हुनुपर्छ । तर, काम गरिरहँदा एक खालको गोपनीयता कायम राख्ने अधिकांश व्यक्तिको मनोभावना अनुसार व्यवस्थित र आकर्षक क्युबिकल वा बसाइ व्यवस्था मिलाउनु पनि जरुरी हुन्छ ।

अन्य स्थानभन्दा धेरै समय विताइने कार्यस्थलले हाम्रो जीवनलाई नै प्रभावित गरिरहेको हुन्छ । मानिसले शान्त, आनन्ददायी वातावरणमा मात्रै सही तरिकाले काम गर्न सक्छ ।

व्यवस्थित कार्यालयले संस्थाको सफलतालाई समेत प्रभावित पार्ने हुँदा कार्यालयमा सबै कुरा व्यवस्थित, सफा र आकर्षक हुनु जरुरी छ । कागजातको व्यवस्थित भण्डारण, कार्यालयको प्रकृति अनुसार पुस्तकालय र अध्ययनकक्षको व्यवस्थाले पनि कर्मचारीलाई उत्साहित बनाउँछ ।

सजिलो, व्यवस्थित र सफा कार्यकक्ष आधुनिक कार्यालयहरूको अनिवार्य शर्त हो ।

comments powered by Disqus

रमझम