५-११ फागुन २०७५ | 17-23 February7 2019

क्रिकेट विकासको जग सुदूरपश्चिम

Share:
  
- निरञ्जन राजवंशी
नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिइरहेको सुदूरपश्चिममा देशका अन्य भागभन्दा क्रिकेटको माहोल राम्रो छ, कसरी ?

सन्दीप जोरा ।
‘सन्दीप जोरा, नेपालका छोरा !’

कञ्चनपुरका युवा खेलाडीको प्रशंसामा दुई साताअघि दुबईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमीमा गुञ्जिएको नारा हो, यो । युनाइटेड अरब इमिरेट्ससँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उनी सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने पहिलो खेलाडी भए भने शृंखला जिताउन पनि उनको महत्वपूर्ण भूमिका रह्यो । महेन्द्रनगर गोवरियाका जोराले स्थानीय सनराइज स्कूलबाट क्रिकेट खेल्न शुरु गरेर छोटो समयमै राष्ट्रिय टोलीमा स्थान बनाए । सुदूरपश्चिमकै भीम सार्कीले पनि यसैपालि राष्ट्रिय टोलीमा प्रवेश गरेका छन् । भलै पहिलो सहभागितामा उनी मैदान प्रवेश गर्न पाएनन् ।

त्यस्तै, सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी र प्रदीप ऐरी पनि राष्ट्रिय टोलीमा छन् । यी बाहेक भुवन कार्की, नरेश बुढाऐर, दिलीप नाथ, राजु रिजाल, ललितसिंह भण्डारी, सुनिल धमला, विक्रम सोव जस्ता खेलाडीहरूको राष्ट्रिय टोलीमा आउजाउ भइरहेको छ । प्रेम तामाङ, लोकेश बम, विपिन रावल जस्ता खेलाडीहरू अहिले भविष्यका होनहार खेलाडीको सूचीमा छन् ।

समृद्ध इतिहास

राष्ट्रिय टोलीमा पाँचजना खेलाडी समावेश गराउन सकेको सुदूरपश्चिमको विगत पनि समृद्ध छ । यस क्षेत्रबाट राष्ट्रिय टोलीमा प्रवेश गर्ने पहिलो खेलाडी हुन्, प्रेम चौधरी । उनको प्रवेश यू–१९ टोलीमा भएको थियो भने राष्ट्रिय टोलीमा बाटो खोल्ने काम धीरेन्द्र चन्दले गरे । तेज गतिका बलर चन्दले लामो समय राष्ट्रिय टोलीमा योगदान दिए । त्यसपछि राष्ट्रिय टोलीमा सुदूरपश्चिमको सहभागिता बढ्दो छ ।

सुदूरपश्चिममा क्रिकेट फस्टाउनुको मुख्य कारण छिमेकी भारतसँगको सम्बन्ध र प्रभाव हो । सुदूरपश्चिमका युवा अध्ययनका लागि सीमा नजिकको खाटीदेखि नैनिताल र दिल्ली लगायतका शहरमा जाने चलन थियो । त्यहाँ उनीहरूमध्ये अधिकांश क्रिकेट सिकेरै फर्के । सीमापारिको टोली आएर खेल्ने र यहाँको टोली उता जाने प्रचलन सामान्य थियो । निलम्बित नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द सम्झिन्छन्, “वारि र पारिका गाउँ–गाउँका टोलीबीच प्रतिस्पर्धा हुन्थ्यो, बनवासा नजिकैको वरेलीमा धेरै खेल हुन्थ्यो ।” प्रेम चौधरी र धीरेन्द्र चन्द हुँदै राष्ट्रिय टोलीमा स्थापित हुन थालेपछि सुदूरपश्चिमका युवाहरूमाझ क्रिकेट क्रेज झनै बढ्न पुग्यो ।

क्रिकेटको बढ्दो लोकप्रियतासँगै यहाँ क्रिकेट एकेडेमी खुल्न थाले । विदाका बेला भारतका विभिन्न एकेडेमीमा गएर बन्द प्रशिक्षण लिने संस्कार नै बन्न पुग्यो । थुप्रै युवा रोजगारीका क्रममा भारतीय शहरमा रहेकाले पनि भारतमा गएर सिक्नु सहज हुन गयो ।

डीपीएल क्रान्ति

पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको धनगढी प्रिमियर लिग (डीपीएल)ले सुदूरपश्चिमको क्रिकेटको उँचाइ ह्वात्तै बढाइदिएको छ । डीपीएलका अध्यक्ष सुभाष शाही भन्छन्, “हाम्रो उद्देश्य पनि यही नै हो । राष्ट्रियस्तरका खेलाडी जन्माउने वातावरण, अन्तर्राष्ट्रिय रंगशाला निर्माण र ठूलो बजेट जस्तो विषय अहिले सुदूरपश्चिमका लागि सहज चर्चाको विषय बनेको छ ।”

यो वर्ष डीपीएल–३ को खेलाडी किनबेच (अक्सन) मा ७२ खेलाडी बिक्री हुँदा २३ जना खेलाडी सुदूरपश्चिमका थिए । सबैभन्दा महँगो मूल्य पाएका ६ खेलाडीमध्ये पनि तीन जना सुदूरपश्चिमकै छन् ।

प्रतियोगितामा सहभागी ६ वटा टोलीमा धनगढी, अत्तरिया र महेन्द्रनगर गरी तीन वटा क्लब सुदूरपश्चिमकै हुनु पनि यहाँका खेलाडीका लागि ‘एड्भान्टेज’ हो । अत्तरियाले मात्र आफ्नै क्षेत्रका ७ खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

महिला खेलाडी पनि उत्तिकै

सुदूरपश्चिममा महिला खेलाडी पनि कम छैनन् । नेपाली महिला क्रिकेटमा स्थापित अञ्जली चन्द र रेखा रावलले एकै दिन शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका छन् ।

पुरुष खेलाडीसरह राष्ट्रिय महिला टोलीमा पनि यस क्षेत्रको सहभागिता निरन्तर नै छ । सोनु खड्का राष्ट्रिय टोलीकी मुख्य खेलाडी हुन् भने रितु कनौजिया, रोशनी बोहोरा, जानकी भट्ट, माया राउत जस्ता खेलाडीले राष्ट्रिय टोलीमा राम्रो छाप पारेका छन् ।

नेपाली क्रिकेटको भविष्य सुन्दर छ भन्ने आम अनुमानमाझ सुदूरपश्चिम क्षेत्रमा बनिरहेको क्रिकेटको पूर्वाधार, वातावरण र स्थानीय चासो देशको क्रिकेट विकासमा कोसेढुंगा बन्ने पक्का छ ।

comments powered by Disqus

रमझम