जलस्रोत तथा ऊर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रका नवनियुत्त कार्यकारी निर्देशक मधुसूदन अधिकारी भन्छन्, “सौर्य ऊर्जा हाम्रो मुख्य ऊर्जा बन्न सक्छ।”
शुरुमा केन्द्रका तर्फबाट भएका कामबारे जानकारी लिंदैछु । अबचाहिं विगतमा जस्तो अनुदान वितरण गर्ने काम हुँदैन । केन्द्रमा एउटा सानो र कुशल टीम राखेर काम गर्ने योजना छ । सौर्य ऊर्जा र लघु जलविद्युत् आयोजना मार्फत विद्युत्को पहुँच बढाउने, दाउरा र गुइँठाको प्रयोगलाई विस्थापन गर्दै आधुनिक ऊर्जा प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुसार नै काम हुन्छ ।
वैकल्पिक ऊर्जाको भविष्य कस्तो छ ?
प्रविधिको उच्चतम विकाससँगै विकसित देशहरूले सौर्य ऊर्जामा जोड दिइरहेका छन् । बाढी, पहिरो जस्ता विपत्ति र अन्य कारणले जलविद्युत् आयोजना चुनौतीपूर्ण छन् तर, सौर्य ऊर्जामा त्यस्तो चुनौती छैन । त्यसैले अबको भविष्य सौर्य ऊर्जाकै हो ।
हाम्रो सन्दर्भमा यो कुरा बढी महत्वाकांक्षी भएन र ?
सौर्य ऊर्जाको ‘एक्सपर्ट’ भएको नाताले म सौर्य ऊर्जा नै हाम्रो मुख्य ऊर्जा हुने सम्भावना देखिरहेको छु । यो लागतका हिसाबले सस्तो र असीमित छ । प्राकृतिक विपत्तिका कारण जलविद्युत्मा आउन सक्ने जस्तो समस्या सौर्य ऊर्जामा छैन । अहिलेचाहिं हामी छलफलकै क्रममा छौं ।
हाम्रो तत्कालको आवश्यकता के हो ?
अहिलेको मुख्य आवश्यकता विद्युत् ग्रिड नपुगेको ठाउँमा नवीकरणीय ऊर्जा पुर्याउनु हो । खासगरी देशको उत्तरी क्षेत्रमा ऊर्जाको अभाव छ । सौर्य ऊर्जा र साना जलविद्युत् आयोजना मार्फत सबै ठाउँमा उज्यालो पुर्याउनु जरुरी छ ।
नवीकरणीय ऊर्जाको काम स्थानीय सरकारले गर्ने भएपछि केन्द्रको भूमिका के हुन्छ ?
संवैधानिक व्यवस्था अनुसार सौर्य ऊर्जा सहित एक मेगावाट भन्दा कम क्षमताका लघु जलविद्युत् आयोजना स्थानीय सरकार मातहत पुगेको अवस्थामा अब हाम्रो भूमिका समन्वयकारी हुनेछ । स्थानीय सरकारले गर्ने काममा हामी हस्तक्षेप गर्दैनौं । प्राविधिक सल्लाह दिन्छौं । दातृ निकाय र सरकारबीच पुलको काम गर्छौ ।