१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

घरकै खाना उत्तम

Share:
  

भानु भट्टराई
व्यस्त जीवनशैलीका कारण घरमै खाना पकाएर खाने चलन कम हुन थालेको छ । दिउँसोको खाजा मात्र नभएर बिहान–बेलुकाको खाना समेत घर बाहिर खाने चलन बढ्दै गएको शहरका रेस्टुराँ र भोजनगृहमा लाग्ने घुइँचोले पनि पुष्टि गर्छ । तर, शहर–बजारका अधिकांश रेस्टुराँ र भोजनगृहमा पाइने खानेकुराको गुणस्तर परीक्षण र नियमन गरिएको हुँदैन । कमजोर अनुगमन प्रणालीका कारण बजारमा पाइने खानेकुराको गुणस्तर भरपर्दो नहुने चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँकडाले मुलुकमा खाना तथा पानीजन्य रोगहरुको समस्या बढिरहेको देखाउँछन् । त्यस्तै तयारी अवस्थाका प्याकिङ गरिएका खाना (जंकफूड) खाँदा पोषण नपुग्ने र स्वास्थ्यमा समस्या निम्तिने सम्भावना हुन्छ ।

बाहिर खानु अस्वस्थकर

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार सन् २०१८ को पहिलो दुई महीनाको तुलनामा सन् २०१९ को सोही अवधिमा एक्यूट ग्यास्ट्रोइन्टेराइटिस (ब्याक्टेरिया र भाइरसले पेटमा गराउने गडबडी) र हैजाको समस्या करीब २० प्रतिशतले बढेको छ । ईडीसीडीका निर्देशक डा. विवेककुमार लाल असुरक्षित खाना र पानीका कारण पेटसँग सम्बन्धित स्वास्थ्य समस्याहरु निम्तिने गरेको बताउँछन् । भन्छन्, “दूषित खानेकुरा र निर्मलीकरण नगरेको पानीको सेवनले पेटका रोगी बढिरहेका छन् ।”

काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला जाडो मौसमको अन्त्यसँगै खाना र पानीजन्य रोगहरुको प्रकोप बढ्ने भएकाले जहाँतहीं खाना खाँदा सावधान रहनुपर्र्ने बताउँछन् । उनी भन्छन्, “गर्मी मौसमको शुरुआतसँगै झाडापखाला जस्ता पेटका रोगहरु बढ्छन् । त्यसैले खाना खाँदा होशियार हुनुपर्छ ।” उनी घर बाहिरको खानाभन्दा घरमै पकाएको खाना पोषिलो र भरपर्दो हुने बताउँछन् । डा. बास्तोला हैजा, झाडापखाला, ग्यास्ट्रोइन्टेराइटिस जस्ता रोगबाट बच्न घरमै बनाइएको स्वच्छ र ताजा खानेकुरा मात्र खान, कार्यालय वा अन्य ठाउँमा जाँदा दिउँसोको खाजा पनि सकेसम्म घरमै बनाएर लैजान, पानी पनि उमालेर निर्मलीकरण गरिएको मात्रै सेवन गर्न सुझाव दिन्छन् ।

थापाथलीको नर्भिक अस्पतालकी पोषण विशेषज्ञ प्रणिती सिंह पछिल्लो समय घरबाहिर खाने प्रवृत्ति बढेकाले खाने बानीमा व्यापक परिवर्तन आएको बताउँछिन् । सिंहका अनुसार जंकफूडको बढ्दो प्रयोगले मधुमेह, कार्डियोभास्कुलर, उच्च रक्तचाप र पेट सम्बन्धी रोगका बिरामीको संख्या बढ्दो छ । उनी भन्छिन्, “शारीरिक श्रम नगर्ने र घर बाहिरका अस्वस्थकर खानेकुरा खाने चलन बढ्दा ३० वर्षको युवा उमेरमै नसर्ने रोग लाग्न थालेको पाइन्छ ।” सिंह सकभर घरबाहिरको खाना र पानी नखाने, खानै पर्दा खाना गुणस्तरीय र स्वस्थकर छ÷छैन भन्ने यकिन गरेर मात्रै खानुपर्ने बताउँछिन् । उनी बिहान–बेलुका घरमै खाना पकाएर खाने र कार्यालयमा खाने खाजा पनि घरमै बनाएर लैजाने बानी बसाल्न सुझाव दिन्छिन् ।

घरबाहिरको खाना, जंकफूड र फास्टफूडमा अत्यधिक मात्रामा चिल्लो पदार्थ हुने हुँदा त्यस्तो खानाले मोटोपना समेत बढाउने चिकित्सकहरु बताउँछन् । खाना स्वस्थकर नहुँदा नपच्ने, कब्जियत, एसिडिटी, पेट दुख्ने, आउँ पर्ने, उल्टी हुने, ज्वरो आउने जस्ता समस्या पनि देखा पर्छन् ।

comments powered by Disqus

रमझम