यी उपलब्धिले महिला फूटबलमा बेग्लै ऊर्जा थपेको विश्लेषण गरिएको छ । फूटबल विश्लेषकहरू भन्छन्, “अन्तर्राष्ट्रिय फूटबलमा अब महिलाहरूकै सम्भावना देखिन्छ ।”
अवसरको उपयोग
महिला फूटबल खेलाडीहरूले अन्य खेलमा झैं निकै कम अवसर पाउने गरेका छन् । महिला खेलाडीले साफ च्याम्पियनसिप, केही घरेलु फूटबल र उमेर समूहको प्रतियोगितामा मात्र खेल्दै आएका थिए । यस्तोमा अखिल नेपाल फूटबल संघ (एन्फा) को नयाँ नेतृत्वले यस वर्ष महिलाका सबै प्रतियोगितामा सहभागिता जनाएको छ, जुन महिला फूटबलको पुनर्जन्म जस्तै बनेको छ ।
महिला खेलाडीहरूले यस पटक पाएको अवसरलाई आफ्नो प्रतिभाबाट प्रमाणित पनि गरेका छन् । १९ वर्षमुनिको एशियाली छनोट र ओलम्पिक्स छनोटमा नेपालले सहभागिता जनाएको यो पहिलो पटक थियो । पहिलो सहभागितामै दुवै टोलीले पहिलो चरण पार गरेर इतिहास रचे । ओलम्पिकको पहिलो चरणमा छनोट हुने क्रममा नेपालले भारतलाई पहिलो पटक बराबरीमा रोकेको थियो भने उच्च वरियताको म्यानमारसँग पनि बराबरी खेलेको थियो । भारतको उडिसामा सम्पन्न हिरो गोल्डकप फूटबलमा भारतलाई पराजित गर्नु राष्ट्रिय टोलीको अर्को उल्लेखनीय सफलता बन्यो । राष्ट्रिय टोलीकी कप्तान निरु थापा भन्छिन्, “हामी अवसरको पर्खाइमा थियौं, यसपालि पाएको मौकालाई खेलाडीहरूले खेर जान दिएनन् ।”
इतिहास हेर्दा नेपालमा महिला फूटबल सन् १९८० को दशकबाट शुरु भएको हो । जुन समयमा महिला खेलाडीहरू फूटबल मैदानमा पुग्नु नै सफलता मानिन्थ्यो । फाट्टफुट्ट प्रतियोगिता खेलेर महिला फूटबल धानिने क्रम लामो समय चल्यो । सन् १९९९ मा भएको एशियन च्याम्पियनसिपमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी खेलाडी पेमा लामा सम्झन्छिन्, “कुनै प्रतियोगिता खेल्नु १५÷२० दिनअघि सूचना आउँथ्यो र प्रशिक्षण गरिन्थ्यो । खेल सकिएपछि सबै बन्द हुन्थ्यो ।” महिला फूटबलले नयाँ दिशा पाएको सन् २०१० देखि हो, जब दक्षिण एशियाली खेलकुद (साग गेम्स) मा महिला फूटबल समावेश गरियो । सोही वर्षदेखि महिला साफ च्याम्पियनसिप पनि शुरु भयो । फूटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “त्यो नै महिला फूटबल विकासको टर्निङ प्वाइन्ट बन्यो ।”
सन् २०१० देखि २०१८ को बीचमा राष्ट्रिय महिला टोलीले दुई वटा साग गेम्स र तीन वटा साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ । स्वर्ण पदकमा सधैं भारत तगारो बने पनि यी पाँच वटै प्रतियोगितामा नेपाली चेलीहरू फाइनलमा पुगेर दक्षिण एशियाली फूटबलको एउटा शक्ति राष्ट्रको परिचय दिएका छन् ।
महिला फूटबलको संरक्षण विभागीय टोलीले गरेको हो । साफ च्याम्पियनसिपपछि नेपाल पुलिस, सशस्त्र प्रहरी बल र नेपाली सेनाले महिला खेलाडीहरू अनुबन्ध गरेर क्लब फूटबल बनाए । अझैसम्म महिला फूटबलको छुट्टै क्लब नहुँदा विभागीय टोलीबाट खेल्दै खेलाडीहरू अघि बढिरहेका छन् ।
फराकिलो सम्भावना
महिला साफ च्याम्पियनसिप २८ फागुनबाट विराटनगरमा आयोजना हुँदैछ । दक्षिणएशियाकै उत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी सावित्रा भण्डारी आफ्नै देशमा हुने खेललाई महत्वपूर्ण मान्छिन् । भन्छिन्, “घरेलु मैदानमा दक्षिणएशियाको च्याम्पियन बन्नु हाम्रो लक्ष्य हुनेछ ।”
अहिले इटहरीमा बसेर बन्द प्रशिक्षण लिइरहेका खेलाडीहरू भारतसँगको जितको सिलसिला जारी राख्ने ध्याउन्नमा छन् । यो सहज भने नभएको बुझेका प्रशिक्षक हरि खड्का भन्छन्, “चुनौती पक्कै छ, तर, यसको सामना गर्न सबै खेलाडी केन्द्रित भइसकेका छन् ।”
साफ च्याम्पियनसिप महिला फूटबलको सफलताको पहिलो खुट्किलो हुनसक्ने सम्भावना छ । तर, ओलम्पिक र यू–१९ एशियन च्याम्पियनसिपको दोस्रो चरणमा पुगिसकेको महिला फूटबलका लागि थप अवसर रहेको विश्लेषकहरू बताउँछन् । उनीहरू अन्तर्राष्ट्रिय उपाधिको दृष्टिले पुरुषभन्दा महिला खेलाडीमा बढी सम्भावना देख्छन् । दक्षिण एशियाली मुलुकहरूमा भारतपछि नेपाल उपाधि दावेदार राष्ट्र हो भने एशियाली राष्ट्रहरूमा पनि नेपालको सम्भावना धेरै छ । विश्लेषक मिश्र भन्छन्, “इरानको पुरुष टोलीलाई नेपालले हराउन सक्ने अवस्था छैन, तर महिलालाई सजिलै हराउन सक्छ । महिला फूटबललाई एन्फाले दिएको प्राथमिकता निरन्तर रहे नतिजा चाँडै आउनेछ ।”