केही समययता चन्दको पार्टीको हिंसाजन्य गतिविधि सरकारका लागि टाउको दुखाइ बन्दै आएको थियो । तर, चन्दा, कुटपिट, मोसो, आगजनी जस्ता गतिविधिबाट उक्त पार्टीको कदम आज सर्वसाधारणको ज्यान लिने हदसम्म पुगेको छ । यसले राज्यको निम्ति सुरक्षा चुनौती मात्र पैदा भएको छैन, सर्वसाधारण हिंसाको निशानामा पर्ने गम्भीर अवस्था देखिएको छ । एनसेल मुख्यालयको विस्फोट चन्दको पार्टीले नै गराएको तथ्य सो पार्टीकै पछिल्ला गतिविधिले पुष्टि गर्छन् । उक्त पार्टीका कार्यकर्ताहरू एलएमजी र एम–१६ जस्ता स्वचालित हतियार सहित फेला पर्नुले धम्काउने र तर्साउने जस्ता क्रियाकलापबाट यो अब कतै सशस्त्र विद्रोहको तयारीमा त छैन भन्ने शंका उत्पन्न भएको छ ।
हिंसा गहिरिने ठाउँ
२०५२ फागुनमा संसदीय व्यवस्था विरुद्ध हतियार उठाएका माओवादीले संसदवादी दलहरूसँगको १२ बुँदे सहमतिको जगमा उठेको २०६२–६३ को जनआन्दोलनको सफलतासँगै संसदीय व्यवस्थाको मार्ग रोजे । विस्तृत शान्ति सम्झैतापछि संयुक्त राष्ट्रसंघको उपस्थितिमा हतियार बिसाउन माओवादीका निम्ति खासै कठिन भएन । तर, माओवादीभित्रको नेतृत्वकारी तप्काको राजनीतिक रूपान्तरण जति सहज हुनसक्यो, त्यस विपरीत लडाकूको समायोजन र पुनस्र्थापना चुनौतीपूर्ण बन्यो । अयोग्यताको टाँचा लगाइँदै एक जमात लडाकूलाई शिविरबाट चियापानी खर्च दिए जसरी बहिर्गमित गराइएपछि ती लडाकूमा कुण्ठा र प्रतिरोधको बीजारोपण भयो ।
त्यसै क्रममा माओवादीभित्रको एउटा गुट संसदीय अभ्यासमा रमाउँदै सत्ताको चास्नीमा डुब्दै गयो भने अर्को गुट उपेक्षाभावका कारण असन्तुष्ट बन्दै गयो । माओवादीको पटक–पटकको फुट र विग्रह सत्ताको उपयोग र क्रान्तिको तुष बीचको द्वन्द्व थियो । अझ्, संविधान निर्माणपछिको आम निर्वाचनमा मूलधारको माओवादी र तत्कालीन एमालेबीचको चुनावी गठबन्धन र निर्वाचनपछिको पार्टी एकीकरण ‘जनवादी सत्ता’ को सपना देख्नेका निम्ति अपाच्य बन्यो ।
सशस्त्र विद्रोह अक्सर विद्रोहीको जित वा उनीहरूको विनाशबाट टुङ्गिएको हुन्छ । विद्रोहीको जित असम्भव देखिंदा उनीहरूले सम्झैतामा पुगेर हतियार बिसाएका उदाहरण संसारमा अनेकौं छन् । तर, विद्रोही पक्षको ठूलै तप्काले सम्झैताको बाटो रोज्दा पनि एउटा सानो तर उग्र समूह आफ्नो ‘क्रान्तिकारी’ धार त्याग्न तत्पर हुँदैन । सम्झैताको बाटो रोजेको मूलधारका निम्ति त्यो उग्रपन्थी समूह कोलाहल मच्चाइरहने जत्था जस्तो देखिन्छ । राजनीतिशास्त्रमा ‘बार्किङ डग’ (भुकिरहने कुकुर) जस्तो भनिने यो समूह असन्तुष्टिको मनोदशामा रहे पनि विध्वंश नै भने गरिहाल्दैन । त्यसैले कतिपय अवस्थामा यस्तो समूहलाई उपेक्षा पनि गरिएको हुन्छ ।
देशमा त्यही ‘बार्किङ डग’ अहिले ‘बाइटिङ डग’ मा परिणत हुँदै गरेको देखिन्छ । यो टोकाइ त्यस्तो बेला भएको छ, जुन बेला माओवादीमा चन्दका कुनै बेलाका ‘कामरेड इन आर्मस्’ राज्यको सुरक्षा प्रशासनका प्रमुख छन् । हिजो राज्य विरुद्ध बन्दूक उठाएका एकै उद्देश्यका सहयात्रीहरू नै अहिले आमनेसामने छन् । गृहमन्त्री रामबहादुर थापा चन्दा र विस्फोट मार्फत आज ‘आतङ्क’ मच्चाइरहेका आफ्ना पूर्व दौंतरीहरूलाई त्यसरी नै चेतावनी दिइरहेका छन्, जसरी उनी स्वयंको नेतृत्वमा हिजो यस्तै कर्म हुँदा कांग्रेस, एमाले र शाहीकालका गृहमन्त्रीहरू कुर्लिने गर्थे ।
संविधानसभाबाट बनेको संविधान र त्यसपछिको आम निर्वाचनमा वामपन्थी दलको बहुमतपछि गठित दुईतिहाइको सरकार बनेपछि अमनचैन र स्थिरताको जुन अपेक्षा गरिएको थियो, त्यसलाई चन्दको पार्टीको हिंसात्मक गतिविधिले नराम्ररी हल्लाएको छ । बाह्र वर्षअघि थामिएको हिंसाको दुश्चक्र फेरि फर्किन लागेको त होइन भन्ने संशयले सम्बद्ध पक्षहरू सजग हुनुपर्ने बनाएको छ ।