भान्साका केही सामग्रीबाट साधारण भोजन बनाउन जान्नु जीवनको आधारभूत सीप हो । खाना बनाउन जानेका बालबालिका विद्यालयबाट फर्किएपछि फ्रिजमा राखेको भात भुट्न, तरकारी उमाल्न वा सजिलोसँग बनाउन सकिने अन्य परिकार बनाएर खान सक्छन्, जुन स्वास्थ्यका लागि उपयुक्त हुन्छ । तर खाना बनाउन नजान्ने बालबालिका सीधै खान सकिने प्याकेटका खाना वा पसलतर्फ जाने सम्भावना हुन्छ, जसले पोषणमा नकारात्मक प्रभाव पार्छ । आफ्नो ख्याल आफैं गर्न सक्ने उमेरका बालबालिकाका लागि पकाउन जान्नु वा साथी र भाइबहिनीलाई ख्वाउन सक्नु गर्वको कुरा पनि हुन्छ ।
अमेरिकी पोषणविद् एवम् अभियन्ता जुली निगरिन बालबालिकालाई तीन वर्षकै उमेरदेखि भान्सासँग परिचित गराउनुपर्ने बताउँछिन् । साना बालबालिकालाई डाइनिङ टेबलमा भाँडा राख्ने, गिलासमा पानी सार्ने वा धनियाँ केलाउने जस्ता काम सिकाउन सकिन्छ । त्यस्तै अलिक ठूला भइसकेपछि पीठो मुछ्ने, मःमको डल्ला बनाउने, पिंधेको गोलभेंडामा नुन हालेर फिट्ने जस्ता काम गराउन सकिन्छ ।
उसो त बालबालिकालाई खाना बनाउन सिकाउन धैर्य भने निकै चाहिन्छ । केटाकेटीले तेलको भाँडो घोप्ट्याइदिन सक्छन्, आफू अर्कोतिर फर्किएका बेला मिक्सचरको स्वीच ‘हाई’ मा राखिदिन्छन् । चुल्हो र चक्कुका अगाडि उनीहरूलाई सुरक्षित राख्न पनि उत्तिकै चनाखो हुनुपर्छ । अलिक ठूला केटाकेटीले ‘मलाई खाना बनाउन मन छैन’, ‘होमवर्क धेरै छ’, ‘खेल्न जानु छ’ जस्ता अनेकौं बहाना बनाइदिन सक्छन् ।
तर, बालबालिकालाई भान्साको काममा संलग्न गराउनुका फाइदा धेरै हुन्छन् । द न्यू योर्क टाइम्स मा केजी डेल एन्टोनिया र मार्गक्स लस्की लेख्छन्, “तपाईंले बालबालिकालाई सानैमा खाना बनाउन सिकाउनुभयो भने उनीहरू जीवनभर तपाईंप्रति अनुगृहित हुनेछन्, पाककलाले जीवनका लागि आवश्यक धेरै सीप सिकाउँछ ।”
खाना बनाउन सिक्दै गर्दा बालबालिकाले तरकारी, फल र विभिन्न खाद्य पदार्थका साथै पोषणबारे पनि जानकारी पाउँछन् । कपबाट पानी खन्याउने, अण्डा गन्ने जस्ता काम गरिरहँदा उनीहरूले विधिपूर्वक काम गर्ने, नाप लिने, हिसाब गर्ने जस्ता विषयमा जानकारी पाउँछन् । भान्साको कामले व्यावहारिक कुरा सिकाउनुका साथै गणित र विज्ञानको शुरुआती अवधारणा विकास गर्न सहयोग पुर्याउँछ ।
सोझै थालमा पस्किदिएको खाना खान नमान्ने बालबालिका पनि आफैं संलग्न भएर पकाएपछि खानमा रुचि देखाउँछन् । सानैदेखि भान्सामा बानी परेका नानीहरू जीवनपर्यन्त नयाँ स्वाद, संस्कृति र परिवेशबारे उदार हुने अनुसन्धानहरूबाट देखिएको छ । खाना बनाउन जान्दा बालबालिकामा आत्मविश्वास बढ्छ, परनिर्भरता कम हुन्छ ।
बालबालिकालाई खाना बनाउन सिकाउनु उनीहरूलाई स्वास्थ्य र पोषणबारे बुझाउने उपयुक्त तरिका पनि हो । दाल र गेडागुडीमा प्रशस्त प्रोटिन, सागमा भिटामिन र भातमा स्टार्च हुन्छ र यी सबै कुरा सन्तुलित मात्रामा शरीरलाई चाहिन्छ भन्ने कुरा खाना बनाउँदै गर्दा सिकाउन सकिन्छ ।
बालबालिकालाई साताको एक वा दुई दिन उनीहरूको रोजाइको खाना बनाउन प्रोत्साहित गर्नु उत्तम हुन्छ । इन्टरनेट वा कुक–बूकबाट रेसिपी रोजिरहँदा उनीहरूले सबैका लागि उपयुक्त हुने खाना छनोट गर्न सिक्छन् । उनीहरूमा सबैसँग मिलेर अगाडि बढ्ने बानीको विकास हुन्छ । कुरैकुरामा राम्रा र गलत बानीबारे पनि सिक्ने मौका पाउँछन् । सधैं आफ्नो रोजाइको खाना बनाएर पस्किदिनु भन्दा साना नानीहरूलाई भान्सामा संलग्न गराएर स्वतन्त्र व्यक्तित्व निर्माणका लागि सहयोग गर्नु राम्रो हुन्छ ।