जसलाई संकेत पारेर समुद्रमा हामी आँखा टेक्दथ्यौं’
बालकृष्ण पोखरेलको निधनको खबर सुन्नासाथ वर्षौंअघि पढेको बैरागी काइँलाको कविता मनमा आयो । ठ्याक्क शब्द मिलेका छैनन् भन्ने थाहा थियो, तर उनीप्रतिको श्रद्धाञ्जलि स्वरूप सामाजिक सञ्जाल ट्वीटरमा मैले त्यही लेखें । भाषा–साहित्य क्षेत्रका सबैका मनमा यस्तै भाव आउनु स्वाभाविक थियो । शरच्चन्द्र वस्तीले गोरखापत्र मा लेखे “प्रा. बालकृष्ण पोखरेलको प्रतिभा जति बहुआयामिक र विलक्षण भए पनि उहाँको मूल व्यक्तित्व भाषाशास्त्रीकै हो । उहाँ नै हो हाम्रो भाषालाई बाटो देखाउने ध्रुवतारा ।”
बालकृष्ण मात्र २२–२३ वर्षका थिए, जब उनले तारानाथ शर्मा, बल्लभमणि दाहाल, कोषराज रेग्मी, चूडामणि रेग्मी जस्ता उत्साही दौंतरीहरूका साथमा बनारसबाट ‘झर्रोवादी आन्दोलन’ शुरू गरे । तारानाथ दार्जीलिङबाट उच्च शिक्षा पढ्न त्यसबेला नेपालीहरूको अध्ययन र बौद्धिक विमर्शको मुख्य थलो बनारस जाँदा त्यहाँ बालकृष्ण पोखरेलसित भेट भएको थियो ।
तारानाथ दार्जीलिङमा पारसमणि प्रधान, रुपनारायण सिंहहरूको सान्निध्यमा पढ्थे र ‘प्राञ्जल र विशुद्ध नेपाली’ बोल्ने लेख्नेहरूमा गनिन्थे । बालकृष्ण पोखरेल बनारसमा पढ्ने झरिला नेपाली युवाहरू मध्येमा पनि अगाडि थिए, तर उनी नेपाली भाषामा अन्य भाषा, मूलतः संस्कृत र हिन्दीबाट परेको प्रभावको विरोधी थिए । तारानाथ सम्झन्छन्, “हामी दुवै जना नेपाली भाषाका प्रेमी र उदाउँदा लेखक थियौं, तर हाम्रो बाटो अलि फरक भएकाले साथीहरूले हाम्रो प्रतिस्पर्धा र झगडा पर्न सक्छ भन्ने सोचेका रहेछन् । तर भेट हुनासाथ हामी मिल्यौं । नेपाली भाषा विशुद्ध हुनुपर्छ भन्ने मेरो धारणा सुनेर उनले भने ‘तारानाथ, तिमीले भनेको कुरा र मैले सोचेको कुरा फरक छैन । तर किन संस्कृतको विशुद्ध भन्ने, अरू कुरा नमिसिएको, आफ्नोपन भएको भाषालाई ‘झर्रो’ भनौं न !’ म सहमत भएँ, हामीले नौलो पाइलो मार्फत झर्रोवादी आन्दोलन शुरू गर्यौं ।”
बनारसमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि अरुहरू विभिन्न विश्वविद्यालयतिर लागे । नेपाली भाषाको सौभाग्य नै भनूँ, बालकृष्ण पोखरेल भने भाषाशास्त्र अध्ययन गर्न कलकत्ता विश्वविद्यालयमा पुगे ।
“नेपालमा भाषाशास्त्र (फिलोलोजी) अध्ययन गर्ने बालकृष्ण पोखरेल मात्र हुनुभयो । त्यसपछिका हामी सबैले भाषाविज्ञान (लिङ्गिवस्टिक्स) का विविध विषय पढ्यौं । उहाँले भाषाशास्त्र पढ्नाले हाम्रो भाषाको ऐतिहासिकता र क्षेत्रीयताका बारेमा धेरै काम गर्न सक्नुभयो । आज आधा शताब्दी नाघिसक्दा पनि हामी उहाँकै पदानुशरण गरिरहेका छौं”, भाषाविज्ञानका प्राध्यापक माधवप्रसाद पोख्रेल भन्छन् ।
विराटनगरमा रहेर लामो समयसम्म बालकृष्णको सङ्गत गरेका तथा नेपाली भाषा–साहित्यका अध्येता विपुलेन्द्र चक्रवर्ती भन्छन्, “कलकत्ता विश्वविद्यालयमा तुलनात्मक भाषाशास्त्र पढ्दा सुनीतिकुमार चटर्जी, सुकुमार सेन, दयानन्द श्रीवास्तव जस्ता अन्तर्राष्ट्रिय ख्याति भएका प्रोफेसरहरूसितको सान्निध्यले बालकृष्ण पोखरेलमा प्राज्ञिक महत्वाकांक्षा र परिमार्जन ल्यायो ।”
उनको ‘नेपाली भाषाको कथा’ नेपाली भाषाको भाषाशास्त्रीय अध्ययनमा आधारित पहिलो लेख थियो । कमल दीक्षितको सम्पादकत्वमा निस्किने नेपाली (त्रैमासिक) को पूर्णांक १२ (२०१९ साउन–असोज) मा प्रकाशित त्यस लेखमा उनले नेपाली भाषाको काल विभाजन गरिदिए । उनले विभिन्न समयका शिलापत्र, ताम्रपत्र आदिको अध्ययन गरेर प्रारम्भदेखि ई. १४९८ (वि.सं. १५५५) सम्मलाई प्रारम्भिक काल, त्यहाँदेखि पृथ्वीनारायण शाहकालसम्मलाई माध्यमिक काल र पृथ्वीनारायण शाहदेखि अहिलेसम्मलाई आधुनिक काल भनेर गरेको विभाजन नै हाम्रो सर्वमान्य भाषिक काल विभाजन भएको छ । ‘नेपाली भाषाको कथा’ मा उनले विभिन्न भाषाशास्त्रीय र भाषावैज्ञानिक विधि प्रयोग गरेर प्रमाणित गरेकाले नै उक्त विभाजन निर्विवाद भएको हो ।
उनले ‘नेपाली भाषा र साहित्य’ नामक कृतिका लागि २०२१ सालको मदन पुरस्कार प्राप्त गरेका थिए ।
“म उहाँको दोस्रो ब्याचको विद्यार्थी थिएँ । उहाँकै प्रेरणाले मलाई भाषाशास्त्रतर्फ झुकाव बढ्यो । पछि मदन पुरस्कार पुस्तकालयबाट मैले विद्वत् वृत्ति पाएँ र नेपाली भाषाको उत्पत्ति नामक किताब लेखें । मेरो पेशागत जीवनमा उहाँको अर्को पनि प्रभाव पर्यो । उहाँ विराटनगर गएपछि म उहाँकै ठाउँमा पढाउन विश्वविद्यालयमा नियुक्त भएँ”, प्राध्यापक चूडामणि बन्धु बताउनुहुन्छ ।
विपुलेन्द्र थप्छन्, “पछि, २०२८ सालमा दोस्रो स्नातकोत्तरका रूपमा नेपालीमा एमए गर्दा बालकृष्ण पोखरेलको कापी काट्नेमा पनि चूडामणि बन्धु हुनुहुन्थ्यो ।” “५०० वर्षका अभिलेखहरू फेला पारेर उहाँले नेपाली अनुसन्धाताहरूलाई साह्रै ठूलो गुन लगाउनुभएको छ । तिनलाई आधार बनाएर नेपाली भाषा र समाजका विभिन्न पक्षको अध्ययन गर्न सक्ने भएका छौं” माधव पोख्रेल बताउँछन् ।
२०१३ सालमा आफूबाट शुरू भएको झर्रोवादी आन्दोलन आगन्तुक शब्दहरूको हिज्जेको नेपालीकरणको आन्दोलन हुँदै बृहत् नेपाली शब्दकोश (२०४०) सम्म आइपुग्दा नेपाली भाषाका बारेमा लिइएका अधिकांश निर्णयमा प्रा. पोखरेलको महत्वपूर्ण भूमिका थियो । त्यसमध्ये प्रमुख थियो ‘हिज्जेको नेपालीकरण’ । तर २०६९ असारमा कान्तिपुर दैनिकमा प्रकाशित ‘हिज्जेको नेपालीकरण’ को विरोधी मत राख्ने ‘नेकशुले–२०६९’ का पक्षमा बोल्दै उनले भने, “मैले नेपाली बृहत् शब्दकोश’ को पापको प्रायश्चित ‘नेकशुले–२०६९’ मार्फत गरेको छु ।”
प्रा. माधव पोखरेल यस प्रसङ्गमा भन्छन्, “उहाँले तयार गरेको शब्दकोशमा पछि प्रज्ञा–प्रतिष्ठानमा आउनेहरूले आफूखुशी परिवर्तन गर्दै, हिज्जे फेर्दै गए । त्यसबाट उहाँमा असन्तुष्टि आउनु अस्वाभाविक थिएन । अर्को किसिमले भन्दा, उहिले कम्युनिष्ट छँदा बालकृष्ण पोखरेल हिज्जेलाई नेपालीकरण गर्ने पक्षमा हुनुहुन्थ्यो, कांग्रेस भएपछि पहिलेकै ढाँचामा फर्काउने मतमा फर्किनुभयो ।” यस प्रसङ्गमा विपुलेन्द्र चक्रवर्ती उनलाई ‘ढिलै भए पनि यथार्थ ग्रहण गर्न सक्ने विद्वान’ मान्छन् ।
भाषा, साहित्य, संस्कृति, व्याकरण, कोश, इतिहास विविध विषयका दर्जनौं कृतिका स्रष्टा पोखरेलले ‘वसन्त’ उपनामबाट लोकप्रिय उपन्यासहरू पनि लेखेका छन् । तर जेजस्ता विषयमा लेखे पनि उनी नेपाली भाषाको इतिहासका प्रणेता थिए । नेपाली भाषा सम्बन्धी कुनै नयाँ कुरा हुँदा वा विवाद पर्दा सबैका मनमा ‘बालकृष्ण गुरुले के भन्नुहुन्छ?’ भन्ने प्रश्न आउँथ्यो, जहाजीले ध्रुवतारा हेरेजस्तै ।
नेपाली भाषा–साहित्यको आकाशबाट त्यही ध्रुवतारा अस्ताएको छ ।