१९-२५ फागुन २०७५ | 3-9 March 2019

रौनकविहीन लिग

Share:
  
- निरञ्जन राजवंशी
शहीद स्मारक ‘ए डिभिजन’ जस्तै ‘बी डिभिजन’ लिगमा पनि बढुवा र घटुवा प्रणाली हटाइँदा लिगको प्रतिस्पर्धा र रौनक नै हराएको छ।

काठमाडौंमा जारी ‘बी डिभिजन लिग’ मा खुमलटार र पुल्चोक क्लब भिड्दै ।
फूटबलमा सात दशकभन्दा लामो समय राज गरेको क्लब हो, रानीपोखरी कर्नर टीम (आरसीटी) । ६ पटक प्रतिष्ठित शहीद स्मारक ए डिभिजन लिग जितिसकेको आरसीटी अहिले ‘बी डिभिजन’ क्लबको हैसियतमा बस्नुपर्दा पीडामा छ । पाँच वर्षअघि बी डिभिजनमा घटुवा भएपछि यो क्लब पहिलो डिभिजनमा उक्लिन आतुर छ । तर, २०७१ सालको लिगमा ए डिभिजनमा उक्लिने उसको प्रयास सफल हुन सकेन । त्यसपछि बी डिभिजन लिग नै अवरुद्ध भयो ।

यो वर्षदेखि लिग त शुरु भयो, तर आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा) ले बी डिभिजन लिगमा पनि बढुवा र घटुवा प्रणाली हटाइदिएपछि टोलीको सपना फेरि रोकिएको छ । एन्फाको यो निर्णयबाट असन्तुष्ट आरसीटीका अध्यक्ष राजेशकाजी शाक्य भन्छन्, “ए डिभिजनमा उक्लिने उद्देश्य थियो, नियमले रोक्यो ।”

आलोचित नियम र लिग

लिग प्रतिस्पर्धालाई फूटबल विकासको मेरुदण्ड मानिन्छ । यस्तै, लिगमा सहभागी क्लबको बढुवा र घटुवा प्राकृतिक नियम हो, जसले खेलमा प्रतिस्पर्धाको आधार बनाउँछ । तर, ए डिभिजन लिगमा घटुवा प्रणाली हटाउँदा निकै आलोचना खेपेका एन्फा अधिकारीहरूले अहिले बी र सी डिभिजन लिगमा पनि बढुवा र घटुवा प्रणाली हटाउने निर्णय गरेका छन् । यसबाट बी डिभिजन लिगमा पनि रौनक हराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा अहिले जारी बी डिभिजन लिगमा सहभागी १२ वटा क्लबले औपचारिकताका लागि मात्र खेलिरहेको देखिन्छ । बढुवाको सम्भावना नभएपछि क्लब अधिकारीहरूले राम्रो टोली तयार पार्न ठूलो रकम खर्चिन रुचि देखाएनन् । रेलिगेसन अर्थात् घटुवाको डर हटेपछि क्लबहरूले पनि मिहिनेत गर्न छाडेका छन् । यसको असर खेलाडीहरूको प्रदर्शन र समग्रमा बी डिभिजन लिगको स्तरमा परिरहेको छ । राम्रो खेलाडी किन्न लगानी नगरेको बताउने आरसीटीका अध्यक्ष शाक्य भन्छन्, “नतिजाले फरक नपार्ने भएपछि किन लगानी गर्ने ? बरु अर्को वर्षका लागि बजेट बचाउनु नै बुद्धिमानी हो ।”

ए डिभिजन लिगमा रेलिगेसन प्रणाली हटाउने एन्फाको नयाँ नेतृत्वको निर्णयले फूटबल जगतलाई नै आश्चर्यमा पारेको थियो । लिगको मर्ममा प्रहार भएको भन्दै त्यसको धेरै आलोचना भयो । भनिन्छ, एन्फाले निर्वाचनका बेला आफ्ना समर्थक क्लबलाई जोगाउन यो जोखिम मोल्ने शर्त मानेको हो । एन्फाको नयाँ नेतृत्वले पाँच वर्षदेखि अवरुद्ध लिग शुरु गर्दा क्लबहरू तयार नभएको तर्क गरेर जोगिने प्रयास गर्‍यो । यसलाई ‘छायाँ लिग’ भन्दै अर्को वर्ष ‘वास्तविक लिग’ हुने अर्को कारण पनि अगाडि सारियो । तर, यसपालि ए डिभिजन लिगको गुणस्तरमा पनि प्रश्न उठ्यो । अवस्था कस्तोसम्म देखियो भने, रेलिगेसन प्रणाली नहुँदा उपाधि दाबेदार मानिने एनआरटी जस्तो टोलीले अन्तिम स्थानमा रहेर खेल टुंग्याएको थियो ।

ए डिभिजनको आलोचना खेपिसकेको एन्फाले बी र सीमा पनि सोही निर्णयलाई निरन्तरता दिनुका दुई कारण छन् । एउटा, प्राविधिक समस्या हो । घटुवा नभएकाले अहिले ए डिभिजनमा १४ क्लब छन् । बी डिभिजनबाट क्लब बढुवा गर्ने हो भने ए डिभिजन क्लबको संख्या १६ पुग्ने, जुन ए डिभिजनका लागि बढी हो र एन्फाको विधान विपरीत पनि । एन्फाको विधानमा ए डिभिजनमा १४ वटा क्लब रहने व्यवस्था छ ।

अर्को कारण हो एन्फा राजनीति । ए डिभिजनको आलोचना पार गरिसकेको एन्फा टोलीलाई बी डिभिजनमा आउन सक्ने आलोचना तुलनात्मक रुपमा ठूलो लागेको थिएन । त्यसमा बी डिभिजनकै अधिकांश क्लबबाट एन्फाले साथ पाएको छ । यद्यपि कतिपय बी डिभिजन क्लबले विरोध नगरेका होइनन् । झम्सीखेल युथ क्लबका प्रशिक्षक पुरुषोत्तम थापा भन्छन्, “बढुवा–घटुवाको नियम हुनैपर्छ भन्नेबारे कडा रूपमा प्रस्तुत हुँदै हामीले लिग खेल्दैनौं सम्म भन्यौं । तर, अधिकांश क्लब एन्फाको प्रस्तावको समर्थनमा देखिए । नखेले सी डिभिजनमा झर्नुपर्ने एन्फाको भनाइ आएपछि हामीसँग खेल्नुको विकल्प रहेन ।”

क्लबहरूको बाध्यता

कतिपय बी डिभिजन क्लबका पदाधिकारीहरू भने क्लबहरूको कमजोर आर्थिक हैसियतका कारण एन्फाले राखेको प्रस्तावलाई सहजतापूर्वक स्वीकारेको बताउँछन् । एन्फाले प्रत्येक क्लबलाई तयारी खर्च स्वरुप रु.७ लाख दिने प्रस्ताव गरेको थियो । तयारीका लागि बी डिभिजनमा दिइएको यो अहिलेसम्मकै ठूलो रकम हो । साथै लिगलाई दुई समूहमा बाँडिएको थियो, ताकि क्लबले धेरै खेल खेल्न नपरोस् । खुमलटार क्लबका अध्यक्ष मणिराज विष्ट भन्छन्, “बी डिभिजन क्लबहरूले ए डिभिजनको जस्तो प्रायोजन पाउन नसक्ने भएकाले महीनौंसम्म खेलाडी पाल्न गाह्रो हुन्छ । त्यसैले धेरैले कठिन बाटो रोज्न नरुचाएका हुन् ।”

नयाँ प्रणाली अनुसार लिगमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार एउटा क्लबले पाँच खेल खेले पुग्छ । अहिले लिगको पहिलो चरण सम्पन्न भइसक्दा बाँसबारी युवा क्लब र नयाँ बस्ती युवा क्लब पुछारमा छन् । प्रत्येक समूहका शीर्ष दुई टोली गरी चार क्लब अन्तिम चरणमा पुगेका छन् । यी चार क्लबले थप तीन खेल खेल्नेछन् र त्यसको विजेताले उपाधि उचाल्नेछ ।

एन्फाको प्रयास

ए डिभिजनमा जसरी नै खेलको रौनक हराउन नदिन एन्फाले प्रयास भने गरेको छ । ए डिभिजनमा प्रतिस्पर्धा कायम राख्न एन्फाले प्रत्येक म्याचको विजेतालाई रु.५० हजार पुरस्कारको व्यवस्था गरेको थियो । त्यस्तै, पुछारका दुई टोलीलाई अर्को वर्षको लिगमा तीन अंक घटाउने निर्णय र तयारी खर्चमा रु.३ लाख कटौती गर्ने प्रावधान राखिएको थियो ।

बी डिभिजनमा पनि अन्तिम दुईमा रहने टोलीले अर्को वर्षको लिगमा एक अंक गुमाउनेछन् भने एन्फाले दिने तयारी खर्चमा रु.५० हजार कम पाउनेछन् । यसका साथै खेलाडीहरूमा प्रतिस्पर्धाको जाँगर जगाउन भन्दै एन्फाले ‘खेलाडी खोज’ अभियानलाई बी डिभिजनमा पनि राखेको छ । एन्फाको एक कमिटीले बी डिभिजनमा देखिने राम्रा प्रतिभाको पहिचान गर्नेछ ।

एन्फा अधिकारीहरू फूटबलको वास्तविकता बुझेर नै यस्ता प्रणाली विकसित गरिएको बताउँछन् । एन्फाको लिग कमिटीका निर्देशक सञ्जीव मिश्र भन्छन्, “युवा खेलाडीहरूले मौका पाएका छन् र प्रतिस्पर्धाको स्तर पनि उच्च छ । मलाई विश्वास छ, यो लिगबाट केही राम्रा प्रतिभाको पहिचान हुनेछ ।”

३०० भन्दा बढी खेलाडी प्रत्यक्ष संलग्न हुने र क्लबहरूले ए डिभिजनमा दाबी गर्ने यो प्लेटफर्म औपचारिकतामा सीमित हुन नदिन एन्फाले आगामी वर्षहरूमा खेलको संख्या वृद्धि गरेर खेलाडीहरूलाई पर्याप्त मौका दिनुपर्ने खाँचो छ । एन्फाले अर्को वर्षदेखि बढुवा र घटुवा प्रणाली शुरु गर्ने प्रतिबद्धता जनाएको त छ, तर फेरि पनि नियममा फेरबदल नहोला भन्न सकिन्न ।

comments powered by Disqus

रमझम