बाटो र गोदामघर निर्माण

Share:
  
- ज्ञानमणि नेपाल
प्रधानमन्त्री जंगबहादुर राणाले भोटसँग युद्घ गर्न आवश्यक बन्दोबस्त मिलाइराख्न निर्देशन दिए अनुसार खासातर्फका सीमा रक्षकले तयारी गरिरहेका थिए।

भोटसँग युद्ध हुने स्थिति बनिरहँदा श्री ३ जंगबहादुर राणाले खासातिरका सीमा रक्षक सुब्बा मानसरोवर सिंहलाई १९११ साल भाद्र शुदी ५ मा पत्र लेखेर बाटो र गोदामघर बनाउन र रसदपानी जोहो गर्न अह्राएका थिए । भोट सीमा नजिकैको नाकामा रसदपानी राख्ने गोदामघर तयार हुँदै थिए । सैनिक जाने बाटो र पुलपुलेसा धमाधम मर्मत र निर्माण गरिंदै थिए । भारी बोक्न चौंरी, घोडा, गधा र खच्चरहरू पनि जम्मा पारिंदै थियो ।

युद्धका लागि रसदको जोहो गर्न सबै उपाय अपनाइएको थियो । नेपालबाट चामल, चिउरा लिएर नून साट्न जानेहरूसँग चामल किनेर तिनलाई नून किनिदिएर पठाइन्थ्यो । जंगबहादुरले अह्राए बमोजिम सीमाबाट युद्धोपयोगी सामानहरू भोट प्रवेशमा पूरै प्रतिबन्ध थियो । गोली, बारुद, सिसा लगायतका कुनै पनि जंगी सामान निकासी हुन दिइँदैनथ्यो ।

प्रधानमन्त्रीले पत्र मार्फत दिएको निर्देशन अनुसार काम भइरहेको छ भनेर सुब्बा मानसरोवरले जवाफ लेखेर जानकारी गराएका थिए । सुब्बाले भोटतिरबाट चियोचर्चो गर्ने कोही चिवा अर्थात् गुप्तचर नआएको, उताको केही कुरो बुझन र बाटो हेर्न जमदार नैनसिंह घलेहरूलाई पठाएको जाहेर गरेका थिए । कुतीबाट धुपचिन लामा र एक जना केटा केही महीना अघि गुम्बामा बस्दै आएको, हेर्न पठाउँदा सुबेदार बक्तबार खत्रीले भेटेको र सुबेदारकै मानिसले लामा आएको बाटो कुती पुगेर आएको उनले पत्रमा उल्लेख गरेका थिए । सोझे र कुनै खोला तर्नु नपर्ने भएकाले युद्धको प्रयोजनमा त्यही बाटो उपयुक्त हुने निक्र्योल मानसरोवरले गरेका थिए । नवलपुरको बाटो आमचुर घाटदेखि घुगा खासीसम्मका मुखिया, मिझर र रैतीहरू सबैको नाममा उर्दी दिएमा बाटो चाँडै तयार पार्ने जंगबहादुरलाई जाहेर गरिएको थियो ।

सुबेदार बक्तबारका मानिस कुतीबाट दोचा किनेर फर्कंदा सास्याङ गुम्बामा बास बस्ने क्रममा बाटो हेर्न आएको भनेपछि त्यो कुरा भोटेहरूसम्म पुगेकोबारे पनि सुब्बा मानसरोवरले पत्र मार्फत जाहेर गरेका थिए । सूचना चुहाएवापत पछि गुम्बा क्षेत्रका मानिसलाई घरैपिच्छे रु.१५/१५ जरिवाना तिराइएको थियो ।

सुब्बा मानसरोवरले रसद जोहो, गोदामघर र बाटो बनाउने आदि धेरै काम आफू एक्लैले फत्ते गर्न मुश्किल पर्ने जनाउ दिंदै काममा सघाउन सेलाङका सुबेदार अनुपसिंह खत्रीलाई पठाइदिन बिन्ती गरेका थिए । गोदामघर बनाउन ढुंगा झ्कििसके पनि काठको अभाव भएको र २० जना कामदार पठाइदिए ढोकाको थाम लगायत चाँडै तयार हुने पत्रमा उल्लेख थियो ।

रसद जोहो गर्न तागिता गरिरहेको बारे पनि पत्रमा बेलिविस्तार लगाइएको थियो । अनाज कुटाउने, पिसाउने र भुट्ने कार्यका लागि गाउँगाउँमा ढिकी, जाँतो, घट्ट तयार पारेर राख्न उर्दी दिएको उल्लेख थियो । नूनको भाउ अहिले सस्तो रहेको र पछिका लागि २/४ हजारको किनिराख्नु पर्ला कि भन्ने व्यहोरा पनि सुब्बाले प्रधानमन्त्रीलाई पठाएका थिए । 


श्रीप्राईम्मिनिष्टर जंगबहादुर कुँवर राणाजीका हजुरमा सुब्बा मानसरोवरसिंहले लेखिआयाको

चौंरी, भेडा, खसि जाँचन लाञ्यू मर्जीबमोजिम थुंन्या कुरो थुंन्या चिवा भन्या उस पट्टिको ञाहा कोही आयाको छैन. तै पनि बुझ्दै लेखको बाटो जमादार नैनसिंघहरू पुगि आयाको बाटो गरि कुतीबाट येक धुप चिन लामा केटा एक जमुकेबलु गुम्बाको छोमोथानमा फागुमा बस्न आयाका रहेकाछन् भनि अस्ति गोठालाहरूले समाचार ल्याया र हेर्न पठाया सुबेदार बक्तबार खत्री पनि भेट्या भन्या सुनिन्छ. बाटो पनि त्यही लामा आयाको बाटो सुबेदार बक्तबार खत्रीका मानिसले कुती पुगी आए भनि सुनिन्छ. हाम्रा तजबिजमा पनि त्यही बाटो होला भन्या लाग्छ. त्यही बाटोलाई सोजो खोला साँघु तर्नु नपन्र्या नवलपुरको बाटो आमचुरघाटदेखि घुगाखासीसम्मका थरि मुखिया मिजार रैतीगैह्रका नाउमा दस्खत १ गरि पठाइबक्स्या बाटो चाँडो तयार गरुम्ला. कुती जान्याहरू पनि आयाको छैन. घर रसद बाटो धेरै काम हुँदा मेरा एक दमले ढाक्न कठिन होला कि भन्या झैं लाग्छ. सेलाङ्गका सुबेदार अनुपसिंह खत्रीलाई मसित साथलाई बक्सनुभया यस तर्फका भुयारु पनि छन्. आमचुरघाटदेखि नवलपुरको बाटोमा गेयुल उतन्र्या बाटो उसदेखि भित्र जहाँसम्म सकिएला हामी बनाउँछौं. मर्जी बमोजिमका काममा पनि ताकिति गर्दै छु. कुटाउन्या कुरो, भुटाउन्याकुरोलाई गाउँ गाउँमा ढिकी जाँतो घट्ट तयारी गर्नु भनि उर्दी दिएको छु. गोदामघरलाई पनि ताकिति गर्दै छु. ढुङ्गा झ्किी सक्यौं, बोसिनपुग्दा काठविना अड्कीरहेछ. कर्मी हाल २० जना पठाई बक्सनुभया ढोका थाम चाँडो तयार हुँदो हो. सुबेदार बक्तबार खत्रीका मानिस कुतीमा दोचा खरिद गरि फर्कदा कुतीमा बास बस्याछन् र तिनीहरूले हामी बाटो खोज्न आञ्यू भने र पछि उनीहरू आयापछि भोटेलाई थाहा भयो र सोस्याङ्ग गुम्बाका मानिसलाई घरही १५/१५ रुपियाँ डाडिलियो भन्या समाचार सुनिन्छ. त्यस तरफको मानिसहरूलाई मद्दत दियाको छ. नूनको भाउ माना १५ भइरहेछ, १६ मानासम्म होला भन्या डबल छ. कुतीमा २० माना भईरहेछ. हामीलाई पनि चाहिया २/४ हजारको खरिद गरौं कि. सोरा भारि १ के मुरी ६/६ चह्राई पठायाको छ. दाखिल भयो हो नूनको ब्यहोरालाई जो मर्जी. ११ साल भाद्र सुदी १२ रोज २ शुभम् ।

comments powered by Disqus

रमझम