२६ फागुन- २ चैत २०७५ | 10-16 March 2019

बर्दियाका वैभव

Share:
  
- भरतबन्धु थापा

बर्दिया राष्ट्रिय निकुञ्ज खासगरी बाघ हेर्ने गन्तव्यका रूपमा प्रख्यात छ । हात्ती सफारी गर्दै वन्यजन्तु र चराचुरुंगी अवलोकन गर्न आन्तरिकसँगै विदेशी पर्यटक निकुञ्जमा आउँछन् । निकुञ्जसँगै जोडिएर बग्ने कर्णाली नदीमा कैलालीको चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङको मज्जा लिन सकिन्छ ।

९६८ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जको ७० प्रतिशत भूभाग जंगलले ढाकिएको छ भने ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी जनावर, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने जन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् । कर्णाली नदीमा डल्फिनको लोभलाग्दो दृश्य निकुञ्जको अर्को आकर्षण हो, जहाँ माछा मार्न सौखिन पर्यटक समेत आउँछन् । निकुञ्ज व्यवस्थापनसँग अनुमति लिएर निकुञ्ज क्षेत्रमा क्याम्पिङ गर्न पनि पाइन्छ ।

तस्वीरः भरतबन्धु थापा
निकुञ्जभित्रको प्रजनन केन्द्रमा रहेको गोही ।

कर्णालीको भँगालोमा गैंडा ।

निकुञ्जभित्र रमाएका मृग ।

ठाकुरद्वारा बाबाको मन्दिर ।

पश्चिम नेपालकै प्रमुख धार्मिक स्थलहरूमा पर्ने ठाकुरद्वारा मन्दिर निकुञ्ज नजिकै छ । लिच्छविकालीन मूर्तिहरू रहेको यो मन्दिरमा माघेसंक्रान्तिमा मेला लाग्छ । बर्दिया जिल्लाकै गौरव थारु संस्कृति निकुञ्ज यात्रामा जाँदा छुटाउने कुरै भएन । निकुञ्जबाट ५/६ किलोमिटरको दूरीमा रहेको डल्लागाउँको थारु होमस्टेले थारु परिकार र परम्परागत नाचगान सहित पाहुनाको स्वागत गर्छ ।

ठाकुरद्वारामा थारू समुदायको घरमा कोरिएको परम्परागत चित्रकला ।

डल्लागाउँको होमस्टेमा नृत्य गर्दै थारू युवती ।

निकुञ्जभित्रको कर्णाली भँगालोमा हात्तीलाई नुहाइदिंदै माहुते ।

कसरी पुग्ने ?

हवाईजहाजमा जाने हो भने काठमाडौंबाट ५५ मिनेटको यात्रापछि नेपालगञ्ज र त्यसको दुई घण्टामा बर्दियाको ठाकुरद्वारा पुगिन्छ । बसमा जाँदा काठमाडौंबाट १२ घण्टामा पुग्न सकिन्छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको आम्बासाबाट १३ किलोमिटर टाढा छ, ठाकुरद्वारा । यहाँ बास बस्न सुविधायुक्त होटल र रिसोर्टहरू छन् ।

comments powered by Disqus

रमझम