होला उत्खनन ?

Share:
  
- रमेश कुमार
चीनमा गरिएको प्राविधिक परीक्षणको नतिजा सकारात्मक आएपछि देशभित्रै फलामको व्यावसायिक उत्पादन हुने सम्भावना बढेको छ।

तस्वीरहरूः विद्रोही गिरी
नवलपुर धौवादीको पोखरीमा भूगर्भविद्द्वारा चट्टानमा फलामको मात्रा अध्ययन गर्दै
नवलपरासीको धौबादीबाट संकलित चट्टानको चीनमा परीक्षण गर्दा फलाम खानीको राम्रो संभावना देखिएपछि सरकार त्यहाँ रहेको फलाम भण्डार खोतल्न उत्साहित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चासोपछि परियोजना नै बनाएर थप अध्ययन र परीक्षण उत्पादनको काम अघि बढाइने तयारी भइरहेको खानी तथा भूगर्भ विभागका एक अधिकारी बताउँछन् ।

विभागले चीनको छन्तुस्थित साउथ वेस्ट मेटालर्जिकल सेन्टरमा धौबादीबाट संकलित एक हजार किलो चट्टान नमूना परीक्षणका लागि पठाएको थियो । “त्यसमध्ये, ५०० किलो चट्टानको परीक्षणबाट स्पञ्ज आइरन राम्रो भएको नतिजा आएको छ, बाँकी ५०० किलोको नतिजा एक महीनाभित्र आउँछ”, विभागका महानिर्देशक सोमनाथ सापकोटा भन्छन् ।

बाँकी परीक्षणको नतिजा आएपछि यसको विस्तृत अध्ययन, परीक्षण उत्पादन र उत्खननको काम अघि बढाउने विभागको तयारी छ । अहिले विभागको एक टोलीले धौबादीमा इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी (ईआरटी) प्रविधि मार्फत जमीनमुनिको चट्टानमा फलामको मात्रा अध्ययन गरिरहेको छ । प्रारम्भिक अनुमान अनुसार, यो क्षेत्रमा १० करोड टनभन्दा धेरै फलाम छ जसले नेपालको फलामको मागलाई वर्षौंसम्म थेग्न सक्छ ।

ठूलो भण्डार

करीब एक दशकअघि कोइला र अन्य खनिजको अध्ययन गर्न धौबादी पुगेको विभागको टोलीले एकै ठाउँमा ठूलो फलाम भण्डार फेला पारेको थियो । प्रारम्भिक अध्ययनमा करीब १० किलोमिटर लम्बाइ र २० मिटर चौडाइ क्षेत्रफलमा फलाम मिश्रित चट्टान रहेको देखिएपछि विभागले आफ्नै प्रयोगशालामा रासायनिक परीक्षण गर्दा त्यहाँको चट्टानमा फलामको मात्रा करीब ४० प्रतिशत रहेको पाइएको थियो । गुणस्तरका हिसाबले चट्टानमा भेटिएको फलाम सामान्य खालको भए पनि परिमाणका हिसाबले ठूलो भएको विभागका एक अधिकारी बताउँछन् ।

नवलपुरको धौवादीमा रहेको फलाम खानी।
चट्टानमा फलामको मात्रा ५५–६० प्रतिशतभन्दा धेरै भए प्रशोधन गर्न सहज र सस्तो हुन्छ । “त्यसैले धौबादीको चट्टानबाट फलाम निकाल्न एक स्तर स्तरोन्नति गर्नुपर्छ”, विभागका प्रवक्ता कृष्णदेव झ भन्छन् ।

फलामको मात्रा ६० प्रतिशतभन्दा बढी भएका चट्टानबाट फलाम निकाल्न आर्थिक सम्भाव्यताको हिसाबले राम्रो मानिन्छ । फलामको मात्रा थोरै भएका चट्टानबाट फलाम निकाल्न सकिने भए पनि त्यस्ता चट्टानबाट नचाहिने वस्तु फालेर फलाम छुट्याउँदा लागत केही बढी लाग्ने विभागका अधिकारी बताउँछन् ।

छन्तुमा पठाइएका ४२ प्रतिशत फलामको मात्रा भएको चट्टानको पहिलो चरणमा गरिएको ‘बेनिफिकेसन र स्पञ्ज आइरन परीक्षण’ बाट ‘स्पञ्ज आइरन’ को मात्रा ९५ प्रतिशत पाइएको थियो । स्पञ्ज आइरन नै फलाम तथा स्टिलका लागि कच्चा पदार्थ हो । त्यस्तै त्यहाँ पठाइएको ३६ प्रतिशत फलामको मात्रा भएको चट्टानको परीक्षण जारी छ । धेरै र थोरै फलामको मात्रा भएको चट्टानको परीक्षणबाट औसतमा ९० प्रतिशतभन्दा धेरै स्पञ्ज आइरन पाइएमा खानी खोतल्न आर्थिक हिसाबले सम्भव हुने विभागको प्रारम्भिक अनुमान छ ।

अहिलेसम्म धौबादीमा फलामको ठूलो भण्डार देखिए पनि त्यो आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने थाहा लागिसकेको छैन । विस्तृत अध्ययन तथा परीक्षण उत्खननबाट लागतको हिसाब आएपछि आर्थिक दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्ने यकिन हुनेछ ।

धौबादीमा फलामको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएपछि निजी कम्पनीहरू पनि उक्त खानीको उत्खनन र अन्वेषणमा इच्छुक देखिएका छन् । नेपालमा ठूलो परिमाणमा फलामे छड उत्पादन गरिरहेको जगदम्बा स्टिल्सले यहाँको फलाम खानीको अन्वेषण र उत्खननमा आफू इच्छुक रहेको भन्दै विभागलाई पत्र लेखेको छ । यसअघि जगदम्बाले फुल्चोकीको फलाम खानी उत्खननको जिम्मा लिएको थियो । तर, स्थानीय बासिन्दाले खानीले वातावरण विनाश गराउने भन्दै अवरोध गरेपछि उसले फुल्चोकी खानी उत्खननको काम गर्न नसकिने विभागलाई जानकारी गराइसकेको छ ।

अन्यत्र पनि छन्

रामेछापको ठोसेस्थित फलाम खानीमै राणाकालमा बन्दूक बनाउन स्थापना गरिएको कारखाना ।
यसअघिका विभिन्न अध्ययनले रामेछापको ठोसे र ललितपुरको फुल्चोकीमा एक–एक करोड टनका फलाम खानी रहेको देखाएका छन् । फुल्चोकीको खानीमा फलामको मात्रा ५५ प्रतिशतभन्दा धेरै भेटिए पनि कुल फलाम करीब एक करोड टन मात्र रहेको अनुमान गरिएको छ । तनहुँको लब्धी खोला, चितवनको जिर्बाङ, पर्वत आदि स्थानमा पनि फलामका स–साना खानी भेटिएका छन् । तर, परिमाण थोरै भएका कारण यी खानी खोतल्न चासो कम छ ।

अहिलेसम्म देशका विभिन्न जिल्लाका ६५ स्थानमा फलाम खानीको संकेत देखिएको छ तर ती खानीमा कति परिमाण र कुन गुणस्तरको फलाम छ भन्ने अध्ययन र परीक्षण भने गरिएको छैन । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् १९६० को दशकमा मध्य हिमाली क्षेत्रको ३९ हजार वर्ग किमीमा गरेको प्रारम्भिक भू–रासायनिक अध्ययनले फलाम र अन्य धातुका दर्जनौं खानीको सम्भावना देखाए पनि तिनको विस्तृत अध्ययन हुनसकेको छैन ।

फलामलाई विकास र औद्योगिक विस्तारको आधार मानिन्छ । पूर्वाधार निर्माण र औद्योगिकदेखि घरायसी सरसामानसम्म बनाउन यसको प्रयोग हुन्छ । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन किटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधित फलामबाट स्पात, स्टिल, छड इत्यादि बनाइन्छ ।

नेपालमा फलाम खानीको परम्परागत उपयोग सयौं वर्षदेखि भए पनि व्यवस्थित उत्खनन हुनसकेको छैन । राणाकालमा दैनिक ९ नाल बन्दूक बन्ने गरेको ठोसेको फलाम तिब्बत निर्यात हुने गरेको इतिहास छ । रामेछाप र रोल्पा लगायत विभिन्न जिल्लामा रहेका परम्परागत फलाम खानीले सन् १९७० को दशकसम्म स्थानीय घरेलु माग धान्ने गरेको ‘मिनरल रिसोर्सेज अफ नेपाल’ पुस्तकमा उल्लेख छ ।

तर, अहिले मुलुकमा फलाम उत्पादन नहुँदा यसको अधिकांश हिस्सा भारतबाटै आयात भइरहेको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महीनामा मात्र नेपालले रु.६७ अर्बभन्दा बढीको फलाम (स्टिल) र फलामजन्य वस्तु आयात गरेको छ । पूर्वाधार तथा भवन निर्माणमा आएको तीव्रताका कारण गएको केही वर्षदेखि फलाम (स्टिल) र यसका उत्पादन नेपालमा पेट्रोलियम पदार्थपछि धेरै आयात हुने वस्तु बन्न पुगेका छन् ।

comments powered by Disqus

रमझम