२६ फागुन- २ चैत २०७५ | 10-16 March 2019

पुनर्जीवनको तयारी

Share:
  
- विनय बञ्जारा र विष्णुकान्त घिमिरे
भूकम्पले क्षति पुर्‍याएपछि साढे तीन वर्षदेखि बन्द सिन्धुपाल्चोकको तातोपानी नाकामा पुनर्निर्माण कार्य अघि बढेसँगै त्यस क्षेत्रका बासिन्दामा आशाको सञ्चार भएको छ।

सिन्धुपाल्चोकलाई प्राकृतिक विपद्ले लगातार तीन वर्षसम्म दपेट्यो । १७ साउन २०७१ मा साविकको माङ्खा गाविसको जुरेमा ठूलो पहिरो गयो, जसमा मारिने र हराउनेको संख्या १५६ जना पुगेको थियो भने १ हजार ११ जना विस्थापित भएका थिए । यस्तै, १२ वैशाख २०७२ को भूकम्प र त्यसपछि २९ वैशाखको परकम्पले त जिल्लाभरको धेरैजसो भौतिक संरचना ध्वस्त पार्‍यो । भूकम्पको क्षतिपछि तिब्बतको खासा बजार जोड्ने नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पूर्णरूपमा ठप्प भयो । लगत्तै, २१ असार २०७३ को राति पहिरोले थुनिएर भोटेकोशीमा उर्लेको बाढीले सीमावर्ती तातोपानी र आसपासका दुई दर्जन घर बगायो, सो क्षेत्रमा व्यापार गरेर बसेका परिवारहरू विस्थापित भए ।

तस्वीरहरूः विष्णुकान्त घिमिरे
चीनले बनाइरहेको कोदारी राजमार्ग अन्तर्गत मितेरी पुल–बाह्रबिसे खण्ड ।

नाका बन्द भएसँगै व्यापार–व्यवसाय चौपट भएपछि सिन्धुपाल्चोकको यस क्षेत्रका बासिन्दा मर्कामा पर्दै आएका छन् । पछिल्लो समय भने नाका खोल्न पुनर्निर्माणका कामहरू अगाडि बढेपछि उनीहरूमा आशा जागेको छ ।

नाका खोल्ने तयारी

तातोपानी नाका खोल्न नेपाल र चीन दुवै सरकारले काम थालेपछि त्यस क्षेत्रका बासिन्दा नाका पुनः सञ्चालनमा आउने दिनको पर्खाइमा छन् । नाका सञ्चालनमा ल्याउन नेपालले विगतमा पटकपटक कूटनीतिक प्रयास गरे पनि सफल भएको थिएन । तर, अहिले चिनियाँ पक्षले बाह्रबिसेसम्म बाटो खोलिदिने प्रक्रिया अघि बढाएपछि नाका पुनः सञ्चालनमा आउने पक्का भएको छ ।

चिनियाँ पक्षले अहिले सीमा क्षेत्रमा भोटेकोशी नदीमा मितेरी पुल बनाउने काम अघि बढाएको छ । सुक्खा बन्दरगाह र कार्यालय भवनहरू निर्माण तथा सुधारको काम पनि अघि बढाएको छ । मितेरी पुलदेखि बाह्रबिसेसम्मको २५ किलोमिटर सडक पनि चीनले नै मर्मत गरिदिने भएको छ । यी कामका लागि चीनले २२ करोड १८ लाख युआन (करीब रु.३ अर्ब ७७ करोड) खर्चिंदैछ ।

सिन्धुपाल्चोकको लार्चामा बन्दै गरेको सुक्खा बन्दरगाह ।

लार्चामा बनाउन लागिएको सुक्खा बन्दरगाहको ८० प्रतिशत काम सकिसकेको आयोजनाले जनाएको छ । १८२ वटा कन्टेनर व्यवस्थापन गर्न सक्ने यो बन्दरगाह निर्माणमा ५० चिनियाँसहित डेढ सय कामदार खटिएका छन् । गएको १३ जेठदेखि निर्माण शुरू गरिएको बन्दरगाहको काम आगामी जेठसम्म सक्ने लक्ष्य छ । बाह्रबिसेसम्म बाटो खन्ने र मर्मत गर्ने काममा पनि ५० चिनियाँसहित झ्ण्डै २५० मजदूरले काम गरिरहेका छन् । १०० जना चिनियाँ कामदार जुटिरहेको मितेरी पुलको भने २० प्रतिशत काम सकिएको छ । गएको १२ पुसदेखि शुरू गरिएका यी दुवै काम आउँदो जेठसम्म पूरा हुने चिनियाँ पक्षको लक्ष्य छ ।

सीमा क्षेत्रको मितेरी पुल चीनले बनाइदिने भए पनि लार्चा र सादि खोल्सामा रहेको बेलीब्रिजलाई प्रतिस्थापन गरी पक्की पुल नेपाली पक्षले निर्माण गर्नेछ । यसका लागि केन्द्र सरकारसँग पहल गरिरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल बताउँछन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ भने बाह्रबिसेदेखि तलको सडक स्तरोन्नतिमा हाम्रा सरकारी निकायको चासो नदेखिएको बताउँछन् । यद्यपि, उक्त सडक खण्डको मर्मत गर्ने जिम्मा पाएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र झाले भने मर्मतको काम गरिरहेको बताए । “हामीले तीन वटा ठेक्का लगाएर अहिले चार स्थानमा मर्मत कार्य गरिरहेका छौं”, उनले भने । उनका अनुसार नेपाली पक्षले बाह्रबिसेदेखि काभ्रे र सिन्धुपाल्चोकको सीमा क्षेत्र बन्देउसम्म सडक मर्मतको काम अघि बढाएको छ । कार्यालयले यसका लागि रु.३७ करोड छुट्याएको र रु.२६ करोडमा ठेक्का लगाएको जनाएको छ ।

बन्दै गरेको मितेरी पुल ।

झाले पहिरोले बगाएको जुरे क्षेत्रमा पर्खाल लगाएर सडक बनाउने, कोठे भन्ने स्थानमा एक लेनको सडक दुई लेनमा विस्तार गर्ने, अन्यत्र पनि टेवा पर्खाल लगाउने र साँघुरा घुम्तीका सडक चौडा पार्ने काम भइरहेको बताए । यो काम आउँदो जेठभित्रै सक्ने उनले बताए । तर भत्किएको सडक कालोपत्रे गर्न अहिलेसम्म बजेट विनियोजन नभएकाले ग्राभेलमै चित्त बुझाउनुपर्ने अवस्था छ । ल

comments powered by Disqus

रमझम