‘गर्भ छिटा’ मा उत्पीडनको व्यथा

Share:
  
- सेवा भट्टराई
कर्णालीको परिवेश प्रस्तुत गरेको यो नाटकले परम्पराको नाममा महिलाको जीवनमा परिवार र समाजले कसेको नियन्त्रण विरुद्घ विद्रोह बोल्छ।

भैलेरा आया...

ऋतु जुनाया...

तस्वीरहरुः सेवा भट्टराई
परम्परागत पहिरन आङ्डो लगाएका युवतीहरू यस्तो गीत गाउँदै छिमेकीको घरमा भैली खेल्दैछन् । देशको अन्य भेगभन्दा फरक कर्णालीमा पुसमा खेलिने भैलीको सन्दर्भमा नाटक गर्भ छिटा शुरु हुन्छ । गर्भ छिटा छोराछोरी गर्भमै हुँदा अभिभावकले विवाह पक्का गरिदिने कर्णाली क्षेत्रको प्रचलन हो । त्यही प्रचलनको शिकार भएर परिवारको वचन राख्न बहिरा व्यक्तिसँग घरजम गरेकी पम्फाको पीडा नाटकमा देखाइएको छ । एकातिर बहिरा श्रीमान् र अर्कातिर घरमा कमारो बसेको आफ्नो प्रेमी चाउरो दमाईंबीचको दोसाँधमा परेको पम्फाको जीवनलाई नाटकले प्रस्तुत गरेको छ ।

गएको १३–२० फागुनमा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५ अन्तर्गत कीर्तिपुरको थिएटर मलमा देखाइएको यो नाटक कर्णाली आर्टस् सेन्टर, मुगुले तयार पारेको हो । कर्णालीकै कथा र कलाकारहरू रहेको नाटक महोत्सवपछि पनि २४ फागुनदेखि काठमाडौंको मण्डला थिएटरमा नियमित मञ्चन भइरहेको छ । काठमाडौंमा कर्णालीको नाटक एक दशकपछि मञ्चन भएको हो । यसअघि कर्णालीको संस्कृति, रहनसहन र पीडा समेटिएको नाटक कर्णाली दख्खिन बग्दो छ २०६५ भदौताका गुरुकुल नाटकघरमा देखाइएको थियो ।

कर्णाली दख्खिन बग्दो छ कै टोलीमा रहेका हीरा बिजुलीले गर्भ छिटा को लेखन र निर्देशन गरेका हुन् । त्यसबेला चलचित्र निर्देशक मीन भाम र हीरा बिजुली लगायत थुप्रै युवा आरोहण गुरुकुलमा नाटक सिकिरहेका थिए । त्यही सिकाइ र प्रभावलाई हीराले कर्णालीको मुगुमा लगेर स्थानीय कलाकारलाई प्रशिक्षण दिएपछि मञ्चमा उतारेका छन् ।

नाटकमा कर्णालीमा प्रचलित परम्परागत भैली गीतहरु सुन्न पाइन्छ । भैली खेल्ने क्रममा युवतीहरू थुप्रै दिन घरबाहिर एकसाथ बस्ने गर्छन्, जसमा माइती आएकी पम्फा पनि मिसिन्छिन् । उनीहरु भैली खेलेर जम्मा पारेको धान कुट्ने बेला आफ्नो कुटुम्बका युवकहरुलाई बोलाएर रमाइलो गफ गर्दै काम बाँड्छन् र राति देउडा खेल्न भेट्ने सल्लाह गर्छन् । विवाहित पम्फालाई उनका कुटुम्बले अझै पनि मन पराएर पछ्याइरहेका हुन्छन् । देउडा खेल्दा गीत मार्फत ती युवक आफ्नो भावना पोख्छन्ः ‘तिमीलाई मन त पराएँ, तर के गरुँ तिमी अर्कैकी भइसक्यौ ।’ पम्फा पनि सांकेतिक तरिकाले उत्तर दिन्छिन्ः ‘भाग्यमा नभएको कुरा मन पराएर के गर्छौ ? मन बुझाएर बस ।’

देउडा खेल्दै गरेका अविवाहित युवतीको सेतो पोशाक र विवाहितको कालो र रातो पोशाकले दर्शकको ध्यान तान्छ । यो पनि कर्णालीको संस्कृति हो ? निर्देशक हीरा बिजुली भन्छन्, “हो, अविवाहित केटीहरुले सेतो पोशाक लगाउँछन्, विवाह भए पनि त्यो स्वीकार्न नचाहनेले पनि सेतो नै लगाउँछन् । त्यसैले पम्फाले पनि सेतो पोशाक लगाउँछिन् ।”

पम्फा विवाहमा बेखुशी भएर पनि नयाँ जीवन शुरु गर्न आएका प्रेम प्रस्तावहरूबाट तर्किन्छिन्, कारण उनको आफ्नै प्रेमी छ । तर, घरको कमारो रहेको प्रेमी चाउरो सामाजिक परिबन्दका कारण उनको प्रेमलाई अपनाउने हिम्मत गर्दैनन् । पम्फाको गर्भ रहिसकेपछि पनि उनीसँग भागेर जान सक्दैनन् । चाउरो आफ्नो बासस्थान गोठ हेर्छन् र समाजले नस्वीकार्ने अवस्था सम्झेर मन खुम्च्याउँछन् । पम्फा र चाउरोबीचको संवादमा उनीहरूले यी सबै बाध्यता खुलाउँदै संकुचित समाजको सत्य स्वीकारेको दृश्य मार्मिक र सशक्त लाग्छ । नाटकले आफूखुशी प्रेम गर्नबाट वञ्चित महिलाको स्थान मात्र होइन, जातीय विभेदको विकृति पनि उजागर गरेको छ । समाजमा निम्न वर्गको हैसियत कति निम्छरो हुन्छ, कमारोको मृत्युपछि मालिकले भन्छन्ः ‘त्यसको लाश लगेर फाल्दे । न मासु खानु, न हड्डी घोट्नु ! अब के काम त्यसको ?’

नाटक मार्फत दुर्गम जिल्लाको संस्कृति, भेषभूषा र रहनसहन काठमाडौं ल्याइपुर्‍याउने कर्णाली आर्टस् सेन्टर, कर्णालीको लोक संस्कृतिको जगेर्ना गर्न धेरै वर्षदेखि क्रियाशील छ । काठमाडौं बाहिर आधुनिक रंगमञ्चको अभियान चलेका केही जिल्लामध्येमा पर्ने मुगु लोक संस्कृतिमा सम्पन्न छ । नाटक गर्भ छिटा पनि पम्फाफूल भन्ने लोककथामा आधारित छ । आधुनिक नेपाली रंगमञ्चमा मौलिक लेखनको कमी र विदेशी नाटकको मञ्चन गर्ने क्रम बढिरहेको बेला हाम्रै समाजको एउटा पाटो प्रकाशमा ल्याउँदै गर्भ छिटा ले विशिष्ट स्वाद पस्किएको छ ।

comments powered by Disqus

रमझम