२६ फागुन- २ चैत २०७५ | 10-16 March 2019

लक्ष्य उपाधि

Share:
  
- कमल रिमाल
पछिल्ला सफलताहरूले उच्च मनोबलमा रहेको नेपाली महिला फूटबल टोली घरेलु मैदानमा दक्षिण एशियाली उपाधि जित्न आतुर छ।

विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा अभ्यासरत राष्ट्रिय महिला फूटबल टोली र मुख्य प्रशिक्षक हरि खड्का ।
२८ फागुनमा विराटनगरमा शुरु हुने साफ महिला फूटबल च्याम्पियनसिप आयोजक नेपालका लागि धेरै हिसाबले अर्थपूर्ण छ । पहिलो, काठमाडौं बाहिर दक्षिण एशियाली स्तरीय फूटबल प्रतियोगिता पहिलो पटक हुँदैछ । भूकम्पमा क्षतिग्रस्त काठमाडौंको दशरथ रंगशाला पुनर्निर्माण नभइसकेकाले विराटनगरले यो अवसर पाएको हो । दोस्रो, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एकपछि अर्को सफलताले मनोबल उच्च रहेको नेपाली महिला फूटबल टोली घरेलु मैदानमा पहिलो दक्षिण एशियाली उपाधि जित्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ ।

काठमाडौं बाहिर दक्षिण एशियाको प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर पाएकाले विराटनगर महानगरपालिका र प्रदेश–१ सरकारले मन खोलेर आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताका खेलहरु सञ्चालन हुने शहीद मैदानको स्तरोन्नतिका लागि महानगरपालिकाले रु.१ करोड १५ लाख र प्रदेश सरकारले रु.५० लाख दिएको छ । मैदान व्यवस्थापन सहसंयोजक एवं पूर्व फिफा रेफ्री मधुसूदन खनालका अनुसार सुरक्षित मैदानका लागि ८ इन्च माटो राखिएपछि घाँस नपलाएकाले माथिबाटै दूबो रोपिएको छ । प्रतियोगितालाई ध्यानमा राखेर विराटनगरका सडक मर्मत र स्तरोन्नतिको काम तीव्र पारिएको छ । महानगरका मेयर भीम पराजुली प्रतियोगिता उद्घाटनअघि नै भित्री सडकको मर्मत समेत सक्ने गरी दिनरात नभनी काम भइरहेको बताउँछन् ।

महिला फूटबलमा मोरङको गर्विलो इतिहास छ । कुनै बेला राष्ट्रिय महिला फूटबल टोलीमा मोरङका मात्र ९ जना खेलाडी थिए । अहिले पनि राष्ट्रिय टोलीमा तीन जना खेलाडी मोरङकै छन् । मोरङ जिल्ला फूटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल यो प्रतियोगिताले महिला फूटबलको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउँछन् । “यही प्रतियोगिताकै कारण काठमाडौंपछिको स्तरीय रंगशाला विराटनगरमा बनेको छ, ९ हजार ५०० दर्शक क्षमताको रंगशालामा सोलारबत्ती समेत जडान भएको छ”, धिमाल भन्छन्, “हामीलाई विश्वास छ, यसले महिला फूटबलप्रतिको आकर्षण बढाउनेछ र नयाँ नयाँ खेलाडी उत्पादनमा पनि योगदान गर्नेछ ।”

दाबेदार नेपाल

साफ महिला च्याम्पियनसिपमा नेपाल रहेको समूह ‘ए’ मा भूटान र बाङ्लादेश छन् । यही समूहमा रहेको पाकिस्तानले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेको छ । समूह ‘बी’ मा साविक विजेता भारतसहित माल्दिभ्स र श्रीलंका छन् । नेपालले समूह चरणको पहिलो खेलमा भूटान र दोस्रो खेलमा बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सुनसरीको इटहरीमा एक साताको प्रशिक्षण लिएपछि नेपाली टोली अहिले विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा अभ्यासरत छ । मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा ६ जना प्रशिक्षक नेपाली टोलीको स्तर सुधार्न लागिपरेका छन् । आशलाग्दो कुरा के भने हालसालै मात्र राष्ट्रिय महिला टोलीले ‘२०२० ओलम्पिक्स’ को एशियाली छनोट चरण पार गरेको छ भने १९ वर्षमुनिको महिला फूटबल टोली एशियन च्याम्पियनसिपको दोस्रो चरण पुगेको छ । प्रशिक्षक विवेकविक्रान्त अधिकारीका अनुसार साविक विजेता भारतलाई हालसालै उसकै मैदानमा पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च छ । “हामीले अहिलेसम्म दक्षिण एशियाको उपाधि जित्न सकेका छैनौं” अधिकारी भन्छन्, “यसपालि हामीसँग त्यो मौका छ, मनोबल पनि उच्च छ ।”

केही समयअघि भारतको उडिसामा सम्पन्न हिरो गोल्डकपमा नेपाली महिला टोलीले भारतलाई पराजित गरेको थियो । “हिरो गोल्डकपमा भारतमाथि जित हात पारेपछि खेलाडीको मनोबल बढेको छ” मुख्य प्रशिक्षक हरि खड्का भन्छन्, “ओलम्पिक छनोट र एशियन च्याम्पियनसिपमा देखिएका कमजोरीलाई पनि हामीले हिरो गोल्डकपमा सुधारेका छौं ।”

साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले पछिल्लो समय चीन र म्यानमारमा गएर समेत खेलेको थियो । नेपाली टोलीको लक्ष्य उपाधि नै हो त ? मुख्य प्रशिक्षक खड्का आफ्नो पहिलो लक्ष्य प्रत्येक खेल जित्ने रहेको बताउँछन् । “पहिलो खेलमा भूटान र दोस्रोमा बाङ्लादेशलाई कसरी हराउने भन्ने रणनीति अनुसार हामी तयारी गरिरहेका छौं” उनी भन्छन्, “अवश्य पनि लक्ष्य साफ च्याम्पियनसिप जित्ने नै हो । प्रत्येक खेलमा कमजोरी सुधार गर्दै गएकाले उपाधि जित्ने सम्भावना पनि बलियो छ ।”

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम