३-९ चैत २०७५ | 17-23 March 2019

ह्याङ्गिङ प्लान्ट

Share:
  

घरको सजावट र स्वच्छताका लागि सामान्यतया हामी आँगन र गमलामा फूल रोप्छौं । पछिल्लो समय भने आधुनिक शैलीबाट घर वरिपरि र भित्र समेत सजाउन सकिने ह्याङ्गिङ प्लान्ट रुचाउन थालिएको छ । घर सानो क्षेत्रफलमा हुँदा फूल रोप्ने र गमला राख्ने ठाउँको अभाव हुनु स्वाभाविक हो । तर ह्याङ्गिङ प्लान्टको लागि छुट्टै ठाउँको आवश्यकता पर्दैन । सानो घर, अपार्टमेन्ट वा हाउजिङमा पनि यो उपयुक्त मानिन्छ ।

हाम्रै वरपर पाइने फूल सजाएर पनि घरका विभिन्न भागलाई सुन्दर बनाउन सकिन्छ । छत, भित्ता, बेडरुम आदिमा ठाउँ अनुसार फरक रङ र प्रजातिका फूलको प्रयोग गर्दा सुन्दरतामा थप निखार आउँछ । थोरै ठाउँ ओगट्ने ह्याङ्गिङ प्लान्टको उचित व्यवस्थापनले घरको शोभा बढ्नुका साथै सुन्दर वस्तु आँखा सामुन्ने रहँदा परिवारमा सुन्दर विचार सिर्जना हुने अमेरिकाको केन्टकी विश्वविद्यालयको अध्ययनले बताएको छ । विश्वविद्यालयको कृषि तथा वातावरण विभागले सन् २०१६ को नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनले प्रकृतिको नजिक हुन चाहनेहरूले घरमा ह्याङ्गिङ प्लान्ट राख्नु उपयुक्त हुने सुझाव समेत दिएको छ ।

ह्याङ्गिङ प्लान्टलाई घरको भित्ता र पिल्लरमा सजिलै झुन्ड्याएर राख्न सकिन्छ । विभिन्न आकार तथा पकेटमा उपलब्ध हुने यस्ता खालका फूल रोप्ने भाँडोमा रंगीचंगी फूल एवं विभिन्न प्रजातिका घाँस सजाएर पनि रोप्न सकिने अध्ययनले बताएको छ । पुराना घर तथा भित्ताहरूमा यस्तो फूलको प्रयोगले पानी चुहावट हुनसक्ने भन्दै अध्ययनले सुरक्षाका लागि ‘एन्टी लिचिङ’ सामग्रीको प्रयोग गर्न सुझाएको छ ।

घरको इन्टेरियर र बाहिरी भाग मात्र होइन, बगैंचालाई समेत थप आकर्षक बनाउन ह्याङ्गिङ प्लान्टको प्रयोग गर्न सकिन्छ । मौसम अनुसार पाइने फूलका साथै आफ्नो रुचि अनुरूप फरक–फरक बिरुवा सजाउन सकिन्छ । आवासीय घरमा मात्र होइन, ह्याङ्गिङ प्लान्टको प्रयोग व्यावसायिक भवन र कार्यालयमा समेत गर्न सकिन्छ ।

ह्याङ्गिङ प्लान्ट स्याहार गर्न पनि सजिलो छ । किनकि यसमा अरू फूलमा जस्तो दैनिक रूपमा पानी हाल्नुपर्ने झन्झट हुँदैन, हप्तामा एक पटक मात्र हाले पुग्छ । यस्ता फूललाई ह्याङ्गिङ गमला वा विभिन्न आकारका सेरामिक्स गमलामा समेत सजाएर राख्न सकिन्छ । यस्ता फूलको लागि जाडो र गर्मी दुवै मौसम उपयुक्त हुन्छ ।

ठाउँको छनोट

घरको वरिपरि तथा घरभित्र ह्याङ्गिङ गार्डेन बनाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिले उपयुक्त ठाउँ छनोट गर्नुपर्छ । घामको किरण र चिसो सीधै पर्ने ठाउँ रोज्नुहुँदैन । हल्का छायाँ पर्ने ठाउँ जस्तैः बार्दली छेउको भित्ता, झ्यालतिरको भाग लगायत ठाउँ उपयुक्त हुन्छ ।

घरको मुख्य ढोकाको दुवैतिर ह्याङ्गिङ फूल राख्दा अतिथिलाई स्वागतको आभास दिलाउँछ । यस्तो ठाउँमा सानो खालको बिरुवा उपयुक्त हुन्छ । घरमा सौन्दर्यको पृथक् रङ थप्न झ्यालमा पनि गमला झुन्ड्याउन सकिन्छ । त्यस्तै, कौसी, लबीदेखि प्यासेजसम्म ह्याङ्गिङ प्लान्ट सजाउन सकिन्छ । ह्याङ्गिङ प्लान्ट राख्दा उँचाइमा पनि ध्यान दिनुपर्छ, हिंड्दा टाउकोमा ठोक्किने हुनुहुँदैन । यसका साथै नझर्ने गरी कसिलो गरेर झुन्ड्याउनुपर्छ ।

comments powered by Disqus

रमझम