हिमाल आवरण ‘क्षतिग्रस्त बहस’ (३–९ चैत, २०७५) ले समाजमा प्रश्न, आलोचनात्मक चेत र खुला सामाजिक विमर्शको आवश्यकतालाई औंल्याइदिएको छ । विचार निर्मातादेखि सामान्यजनसम्मको आलोचनात्मक चेतलाई त्रास र अवसरको लोभले अवसानतर्फ धकेलिरहेको र खुला विमर्शको क्षयीकरण भइरहेका बेला समाजलाई पुनः ब्युँताउने हिमाल को पहल स्तुत्य छ । सार्वजनिक विमर्शको साँघुरिएको ‘स्पेस’ र दिशाहीन अवस्थालाई चिर्न समाजका अगुवा, चेतनशील र उत्तरदायी नागरिकले साहस देखाउन सक्नुपर्छ । सार्वजनिक विमर्श साँघुरियो, आलोचना भएन र सरकारले भजन र स्तुतिगान मात्रै सुन्न चाह्यो भने समृद्ध नेपालको नारा यथार्थमा परिणत हुनै सक्दैन । सामाजिक आन्दोलनलाई जीवित राख्न पनि क्षतिग्रस्त बहसलाई सुदृढ र सशक्त बनाउनु जरूरी छ ।
सब्बु न्यौपाने, अनलाइनबाट
हिमाल आवरण विचार ‘दिशाहीन सार्वजनिक विमर्श’ (३–९ चैत, २०७५) ले सामाजिक आन्दोलनहरू गैरसरकारी संस्था वरपर सीमित र बुद्धिजीवीहरू यिनै परियोजनाका परमर्शदातामा रूपान्तरित हुँदा समाजको आलोचनात्मक चेत हराएको यथार्थ खुलाएको छ ।
रेल, पानीजहाज, भ्यूटावरबाट मुलुकमा समृद्धि आउँछ भन्ने विकासको हावादारी भाष्य तयार पारेर रमाइरहेको सरकार र सत्ताले बौद्धिकको ट्याग लगाइदिएका रफ्फू मास्टरहरूले विकास कमजोरहरूका लागि हुनुपर्छ, समृद्धिले आम जनताका आकांक्षालाई सम्बोधन गर्नुपर्छ भन्नेहरूलाई विकास विरोधी बिल्ला भिराउने गरेको सटिक विश्लेषण लेखकले गरेका छन् ।
सार्वजनिक विमर्शले नै हो मौलिक विकासको गतिलाई अघि बढाउने । आलोचनाले नै हो हामीलाई परिस्कृत बनाउने । सार्वजनिक बहस र आलोचनात्मक चेतलाई प्रवद्र्धन गर्दै विकासको प्रक्रियामा आम नागरिकलाई समावेश गर्दै अघि बढ्नुपर्ने बेला एउटा व्यंग्य गीत समेत सुन्न नसक्ने सरकारले समाजलाई उल्टो दिशातर्फ धकेल्दैछ । बेलैमा चेत खुलोस् ।
कपिल यादव, अनलाइनबाट
कुरा मात्र भए
हिमाल रिपोर्ट ‘सामुदायिक शिक्षाः पूर्वाधार भए स्तर सुध्रिन्छ’ (३–९ चैत २०७५) ले मर्दै गएको आशालाई पुनर्जागृत गरिदिएको छ । हाम्रो सामुदायिक शिक्षा पूर्वाधार र गुणस्तरको अभावका कारण खस्किरहेको यथार्थ हो । अझ् शिक्षा क्षेत्रमा छुट्याइने न्यून बजेटका कारण पनि नेपालको सामुदायिक शिक्षा रसातलतिर पुग्न लागेको अवस्था छ । जुन देशको सामुदायिक शिक्षा पूर्वाधार सम्पन्न र स्तरीय हुन्छ, देश सुखी र समृद्ध बन्छ । निजी विद्यालयको भौतिक संरचनादेखि पुस्तकालय र कक्षा व्यवस्थापन राम्रो भएकैले सामुदायिकको भन्दा उनीहरूको स्तर सुध्रिएको साँचो हो ।
वसुन्धरा विक, अनलाइनबाट
लाजै पचेपछि...
हिमाल को प्रदेश–५ सम्बन्धी रिपोर्ट ‘अस्पतालजन्य फोहोरः धुवाँको मुस्लोमा उपचार’ (३–९ चैत २०७५) ले हामीमा मानवीय संवेदना हराउँदै गएको देखाएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा किन होला कसैको पनि ध्यान नपुगेको ? अस्पतालमा आउने बिरामीहरू अनपढ भए पनि त्यहाँ काम गर्ने डाक्टर र नर्सहरू त शिक्षित नै होलान्; के उनीहरूलाई यो सब पचिरहेको छ ? अझ् प्रसूति कक्ष अगाडि नै फोहोरको भयावह अवस्था देख्दा त लाजै लाग्नुपर्ने होइन र !
पवित्रा तुलाधर, अनलाइनबाट
यो भ्रष्टाचार भएन र !
हिमाल रिपोर्ट ‘गण्डकी मेडिकल कलेजः मनपरी शुल्कको मार’ (३–९ चैत २०७५) ले शिक्षाका व्यापारीहरूको अनुहार उदाङ्गो पारिदिएको छ । शिक्षा क्षेत्रमा खुलेआम मनपरी गर्नु भनेको भ्रष्टाचार नै होइन र ! शिक्षा क्षेत्रका यस्ता भ्रष्टलाई कानूनी कठघरामा ल्याउनुको साटो सरकारले नै मिलापत्र गराएको सुनिंदैछ । के सरकार अपराधीलाई कारबाही गर्नुको साटो उल्टै मिलापत्र गराउने एजेन्सी हो ? सरकार आफैंले दण्डहीनता प्रवद्र्धन गरिरहेको हो ?
लता अधिकारी, अनलाइनबाट
प्रतिष्ठामा आँच पुर्यायो
हिमाल रिपोर्ट ‘ढुङ्गा–गिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार’ (१२–१८ फागुन २०७५) मा तेमाल गाउँपालिका वडा नं.२ मा संचालित ह्रेन्जेन दोर्जे क्रसर उद्योगका संचालक ज्ञानबहादुर तामाङ भनी निजले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक पहुँच र आडमा पेशा–व्यवसाय गरेको उल्लेख छ । रिपोर्टमा उल्लिखित सो कम्पनीको सञ्चालक ज्ञानबहादुर तामाङ नभई म ज्ञानध्वज तामाङ हुँ ।
हे्रन्जेन दोर्जे कम्पनी प्रा.लि.ले सम्पूर्ण प्रक्रिया पूरा गरी तत्कालीन जिविस काभ्रेपलाञ्चोकबाट १४ कात्तिक, २०६८ मा अनुमति प्राप्त गरी आफ्नो व्यावसायिक कार्य कानूनसम्मत तरिकाले गर्दै आएको छ । यस्तो अवस्थामा सरोकारवाला व्यक्तिसँग सोधपुछसम्म नगरेर मेरो चरित्र हत्या गरी सामाजिक प्रतिष्ठामा आघात पर्ने, व्यावसायिकतामा आँच पुर्याउने काम हुन पुगेको छ । रिपोर्टमा मेरो तस्वीर कुन नियत र उद्देश्यले कसरी प्रकाशित हुनपुग्यो ? उल्लिखित रिपोर्टबाट असावधानीवश भएको मेरो चरित्रहत्या र व्यावसायिक क्षतिको उन्मुक्तिका लागि यो खण्डन मार्फत ह्रेन्जेन दोर्जे कम्पनी प्रा.लि.ले राजनीतिक पहुँचका आधारमा नभई विधि र कानूनसम्मत ढंगबाट व्यवसाय गरिरहेको जानकारी गराउँदछु ।
ज्ञानध्वज तामाङ
संचालक अध्यक्ष, ह्रेन्जेन दोर्जे कम्पनी प्रा.लि.