१०-१६ चैत २०७५ | 24-30 March 2019

घरमा पार्किङ

Share:
  

कुनै बेला धनीमानीले मात्र चढ्ने निजी गाडी अहिले मध्यमवर्गीय परिवारको समेत आवश्यकता बन्न पुगेको छ । व्यस्त जीवनशैली, समय सिर्जित आवश्यकताका साथै पर्याप्त र भरपर्दो सार्वजनिक यातायातको अभावले कारण पनि निजी सवारी साधनको प्रयोग बढ्दै गएको छ । ब्याङ्क तथा वित्तीय संस्थाको सरल सवारी कर्जाले निजी गाडीको प्रयोग झनै बढाएको छ । निजी सवारी साधनको प्रयोग बढेसँगै हरेक घरमा पार्किङ अत्यावश्यक भइसकेको छ ।

आफ्नो गाडी नभए पनि नयाँ घर बनाउँदा पार्किङका लागि स्थान छुट्याइयो भने पछि गाडी किन्दा झन्झट व्यहोर्नुपर्दैन । घर भाडामा दिंदा वा गाडी चढ्ने पाहुना आएका बेला पार्किङ त चाहिन्छ नै । पछि घरलाई रिनोभेट गर्नुभन्दा शुरुमै गाडी राख्ने ठाउँ बनाउनु बुद्धिमानी हुन्छ । गाडी नहुँदासम्म त्यो खाली ठाउँलाई अन्य काममा उपयोग गर्न पनि सकिन्छ ।

शहरी क्षेत्रमा बढेको जग्गाको मूल्यका कारण औसत आय भएका व्यक्तिले सानो क्षेत्रफलमा घर बनाउनु बाध्यता बनेको छ । यसकारण पार्किङस्थल निकाल्न असाध्यै सकस हुन्छ । तर, घरको डिजाइन गर्दा नै पार्किङको लागि ठाउँ छुट्याउने हो भने सानो क्षेत्रफलमा पनि गाडी पार्किङको स्थान निकाल्न सकिने जानकारहरू बताउँछन् । सिभिल इन्जिनियर सञ्जीव बस्नेत घरको नक्शाङ्कन गर्दा नै पार्किङ क्षेत्र निर्धारण गर्नुपर्ने बताउँछन् । बस्नेत भन्छन्, “डिजाइनकै समयमा गाडी राख्ने ग्यारेज बनाउँदा घरको सुन्दरता पनि बिग्रिंदैन ।”

ठूलो क्षेत्रफलमा घर बनाउने र वरिपरि कम्पाउन्ड हुनेले घरकै छेउमा सानो टहरो बनाएर पनि गाडी राख्ने गरेको पाइन्छ । यद्यपि, सौन्दर्यका हिसाबले घरमै पार्किङ स्थल निकाल्दा उपयुक्त हुने उनको सुझाव छ । सानो क्षेत्रफल भएको स्थानमा पार्किङ बनाउँदा घरको गेटबाट सीधा अगाडि पर्ने गरी बनाउनुपर्छ । ५Š३ मीटर क्षेत्रफल छुट्याउँदा एउटा सानो कार र दुई वटा मोटरसाइकल अट्ने पार्किङ बनाउन सकिने बस्नेतको भनाइ छ ।

स्मार्ट पार्किङ

अलि खर्चिलो भए पनि ठूलो क्षेत्रफलमा घर बनाउनेहरूले पार्किङ क्षेत्रलाई प्रविधिसम्पन्न बनाउन सक्छन् । रिमोट कन्ट्रोल भएको सटर, पार्किङ म्याट, पार्किङ सेन्सर किट, सीसीटीभी आदि जडान गरेर पार्किङलाई स्मार्ट बनाउन सकिन्छ । रिमोट कन्ट्रोल सटर राख्दा सवारी चोरी सम्भावना न्यून हुन्छ भने प्रत्येक पटक भित्र–बाहिर गर्दा ओर्लिएर सटर खोल्ने–बन्द गर्ने गर्नुपर्दैन । पार्किङ म्याटले मोटरलाई चिप्लन दिंदैन । सधैं एकै स्थानमा सवारी साधन राख्न पनि म्याट उपयोगी हुन्छ । ग्यारेजमा पार्किङ सिग्नल, पार्किङ लेजर जस्ता सामग्री राख्दा घरका अन्य सदस्यलाई समेत मोटर पार्क गर्न सजिलो हुन्छ । पार्किङमा सीसीटीभी राख्नु सुरक्षाको हिसाबले गतिलो उपाय हो ।

आगलागी तथा दुर्घटनाबाट बच्न पानीको आपूर्ति र निकासको व्यवस्था गर्दा उपयुक्त हुन्छ । साथै गाडी धोएपछि पानी बग्नका लागि निकासको व्यवस्था गर्दा पार्किङस्थल चिटिक्क देखिन्छ ।

comments powered by Disqus

रमझम