१०-१६ चैत २०७५ | 24-30 March 2019

सम्पदा क्षेत्रमा कंक्रिट मोह

Share:
  
- वसन्त महर्जन
ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग गर्न नहुने मापदण्ड विपरीत कंक्रिट मोह देखिनु घातक छ।

बिक्रम राई
ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग चिन्ताको विषय बनेको छ । नयाँ प्रविधिले निर्माण संरचनालाई बलियो बनाउने जिकिर एकातिर छ भने अर्कोतिर सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग मापदण्ड विपरीत हुने धारणा छ । यही दुई विपरीत सोचका कारण सिमेन्टको प्रयोगबारे सम्पदा क्षेत्रको निर्माण वा पुनर्निर्माण कार्य प्रभावित हुने गरेको छ ।

सांस्कृतिक सम्पदा सम्बन्धी हरेक कुराको जिम्मेवारी कानूनतः पुरातत्व विभागसँग छ । नवनिर्माण वा पुनर्निर्माण कार्यमा इतिहास, संस्कृति, परम्परा तथा मौलिकतामा आँच आउन नदिनु उसको दायित्व हो । तर, विभागले सो दायित्व निर्वाह गर्ने भन्दा पनि आफ्नो उपस्थिति मात्रै देखाउने गरेको छ । काठमाडौंको ऐतिहासिक रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर निर्माणमा सिमेन्टको प्रयोग गर्ने विषय नै मूल रूपमा विवादित बनेको थियो । पानी रसाएर आउनुपर्ने पोखरी किनारमा पनि ढुंगा र सिमेन्टको प्रयोग गर्ने र सतहमा सिमेन्ट प्लास्टर गर्ने योजना थियो । तर यसमा स्थानीय सम्पदाप्रेमीहरूले व्यापक विरोध र काममा अवरोध गरे । अन्ततः सिमेन्ट प्रयोग गर्ने योजना गलत रहेको ठहर भइसकेको छ ।

रानीपोखरीको पुनर्निर्माण कार्यमा शुरूदेखि नै संलग्न पुरातत्व विभागको सहमति विना निर्माणसँग सम्बन्धी अरू कसैले पनि केही गर्न सक्दैनन् । यसर्थ त्यहाँ सिमेन्टको प्रयोग गर्न दिनुमा पुरातत्व विभागकै लापरबाही हो । पुनर्निर्माण प्रक्रियामा भएको विवादकै कारण रानीपोखरीमा खासै काम हुन नसके पनि रु.३ करोडभन्दा बढी खर्च भइसकेको छ ।

भूकम्पले असर पारेका सम्पदाहरूमा सबैभन्दा छिटो पुनर्निर्माण सम्पन्न भएकोमा प्रशंसित खास्ति महाचैत्य (बौद्ध) मा सिमेन्ट प्रयोग गर्न नदिएको भनी पुरातत्व विभागका अधिकृतहरू सन्तोष व्यक्त गर्छन् । तर, तिनै अधिकृतका आँखा छलेर कसरी सिमेन्टको प्रयोग गर्न सफल भयौं र चुप लगायौं भनेर निर्माण कार्यमा संलग्न व्यक्तिहरूले अनौपचारिक रूपमा सुनाउने कुराले विभागको कार्यकुशलतामा प्रश्न उठाउँछ ।

पशुपति क्षेत्र विकास कोषले मापदण्ड विपरीत मृगस्थलीमा पैदलमार्ग बनाएपछि विभागले गएको २ पुसमा उक्त संरचना हटाउन र थप काम रोक्न निर्देशन दिएको थियो । तर कोषले अटेर गरेपछि स्थानीय सम्पदाप्रेमीहरू गएर अवरोध गरेका थिए । पशुपति क्षेत्रमा सिमेन्टको प्रयोग यो पहिलो पटक होइन । पाशुपत क्षेत्रका साथै अन्य सम्पदास्थलहरूमा सिमेन्टका संरचनाहरू अहिले पनि यथावत् छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका कतिपय मन्दिर लगायत संरचनाहरूमा पुरातत्व विभागले नै सिमेन्टको प्रयोग गर्न स्वीकृति दिएको कुरा सार्वजनिक भएको छ । यसले विभागको दोहोरो मापदण्ड देखाउँछ । जबकि सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोगमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले समेत आपत्ति प्रकट गर्छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सिमेन्टको प्रयोग गर्न नहुने थाहा हुँदाहुँदै किन प्रयोग गरिन्छ त ? प्रयोग गर्न हुँदैन भन्ने आदर्श वाक्य पढेका विद्यार्थी सम्बन्धित क्षेत्रमा कार्यरत छन् र उनीहरू नै कार्य क्षेत्र अनुसार सिमेन्ट प्रयोग गर्ने र नगर्ने कित्तामा विभक्त छन् ।

सम्पदाको नवनिर्माण र पुनर्निर्माणमा सिमेन्ट वर्जित गर्नुपर्ने कारणहरू प्रष्ट छन् । पहिलो कारण, सिमेन्ट रैथाने प्रविधि नभएका कारण मौलिक सम्पदाका लागि यो उपयुक्त हुँदैन । दोस्रो, सिमेन्टको प्रयोगबाट निर्मित संरचना तत्कालका लागि बलियो देखिए पनि टिकाउ हुँदैन । ५० देखि ६० वर्ष मात्रै आयु भएको सिमेन्टभन्दा माटो निर्मित संरचनाको आयु बढी हुने प्राविधिज्ञहरूको अनुभवले पनि सिमेन्टलाई सम्पदा क्षेत्रमा निरुत्साहन गर्न खोजेको हुनसक्छ । ऐतिहासिक तथा पुरातात्विक सम्पदा हुनका लागि हामीकहाँ त्यो वस्तु १००वर्षभन्दा पुरानो हुनुपर्ने प्रावधान छ । तर, सिमेन्ट नयाँ प्रविधि भएकाले त्यसबाट निर्मित संरचनाले १०० वर्षभन्दा कम मात्रै देखाउँछ ।

comments powered by Disqus

रमझम