१०-१६ चैत २०७५ | 24-30 March 2019

ऐतिहासिक र धार्मिक गन्तव्य

Share:
  
- भरतबन्धु थापा

कर्णाली प्रदेशको पहाडी भेग दैलेख ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र हो । बाइसे–चौबिसे राज्यमध्येको एक राज्य दुल्लुको नामबाट अहिले नगरपालिका छ, जहाँ नेपाली भाषाको अहिलेसम्म भेटिएका मध्ये प्राचीन दस्तावेज मानिने भूपाल दामुपालको समय वि.सं. १०३८ को शिलालेख र खस साम्राज्यको इतिहास झल्काउने कीर्तिखम्बा छन् । कीर्तिखम्बा शाके सम्वत् १२७९ मा तत्कालीन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो । दैलेख बजारमा रहेको कोतगढीलाई पुरानो युद्ध–किल्ला मानिन्छ ।

धार्मिक हिसाबले दैलेखमा पाँच स्थानको पञ्चकोशी तीर्थस्थल उल्लेख्य मानिन्छ । वैश्वानर पुराण अनुसार शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुकास्थान र तल्लो डुंगेश्वर (सिद्धेश्वर महादेव) लाई पञ्चकोशीका रूपमा पुजिन्छ । शिरस्थान र नाभिस्थानमा सयौं वर्षदेखि निरन्तर बलिरहेको मानिने ज्वालालाई धार्मिक आस्थाका दृष्टिले हेरिन्छ ।

दैलेख बजार । तस्वीरः भरतबन्धु थापा

पञ्चकोशी तीर्थस्थलमध्ये एक पादुकास्थान मन्दिर परिसर र मध्य नाभिस्थानमा अवस्थित नाभिस्थान ज्वाला (तल) ।

दैलेख बजारमा अवस्थित कोतगढी ।

भुर्तिमा अवस्थित बाइस देवल । यसलाई विश्व सम्पदामा सूचीकृत गर्न ‘क’ वर्गमा राखिएको छ ।

स्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर भौंतारिने क्रममा शिर खसेको ठाउँलाई शिरस्थान, नाभि झरेको ठाउँलाई नाभिस्थान, धूलो उडेको ठाउँलाई धुलेश्वर र पाउ खसेको स्थानलाई पादुकास्थान भनेर पुज्न थालिएको धार्मिक विश्वास छ । यस्तै, सतीदेवीको कोठी पतन भएको मानिने कोटिलास्थानलाई पनि चलनचल्तीमा पञ्चकोशी तीर्थस्थलमा राखिन्छ । धुलेश्वरमा मन्दिरभित्र जमीनबाट निस्किने धूलोलाई धार्मिक मान्यता अनुसार दैविक शक्ति मानिन्छ भने वैज्ञानिकहरू मृत ज्वालामुखी भन्छन् ।

दुल्लु नगरपालिकाका विभिन्न ठाउँमा रहेका यी पाँच थानमा देशका विभिन्न ठाउँ र भारतबाट समेत गरी वार्षिक एक लाखको हाराहारीमा तीर्थालु आउँछन् ।

कसरी पुग्ने ?

काठमाडौंदेखि दैलेख बजारसम्म दैनिक रात्रिबस चल्छ । बसमा १२ घण्टाको यात्रा तय गर्नुपर्छ । हवाई मार्गबाट जाने हो भने काठमाडौंदेखि सुर्खेत वा नेपालगञ्जसम्म हवाईजहाजमा र त्यहाँबाट सार्वजनिक सवारी साधनमा तीन वा ६ घण्टाको यात्रापछि दैलेख बजार ।

comments powered by Disqus

रमझम