१०-१६ चैत २०७५ | 24-30 March 2019

मुनाफाको रङ

Share:
  
- शेखर खरेल
सांस्कृतिक पर्व फागुलाई हरदम नाफाको जोडघटाउमा रहने बजारले छोप्न थालेको छ।

मोनिका देउपाला
झट्ट हेर्दा युवायुवतीको भीडले कुनै आन्दोलनको झैं झल्को दिन्थ्यो, तर आन्दोलनमा जस्तो आक्रोश र तनावमा उनीहरू थिएनन् । बरू उत्साह र उमङ्गले तरङ्गित देखिन्थे । किनभने, त्यो युवा उभार भेनेजुएलाको कारकास, इजिप्टको ताहिर स्क्वायर नभई हाम्रै राजधानीको वसन्तपुर र टुँडिखेल वरपरको थियो । सन्दर्भ थियो– फागु पूर्णिमा ।

रङको पर्व फागुमा केही वर्षदेखि निष्क्रियप्रायः छु, तैपनि यसप्रतिको मोह मनबाट पूरै उत्रिइसकेको छैन । तन्नेरी पुस्ताको उल्लासपूर्ण सहभागिता देख्दा स्वयं पनि तरङ्गित हुन्छु । शायद पर्वहरू पनि पुस्तान्तरित हुने भएर होला, हिजोको आफ्नो सक्रियता एक पूर्व खेलाडीले मैदानको साटो प्यारापिटबाट खेलको आनन्द लिए जस्तै महसूस गर्छु । तैपनि फागुका रङहरूसँगै उमङ्ग र उल्लास यसै पनि छचल्किइहाल्छन् ।

रङ्गोत्सवको दर्शक बन्ने उद्देश्यले फागुको दिन अर्थात् ६ चैत मध्याह्न शहर घुम्न निस्किएँ । माइतीघरबाट सैनिक मुख्यालयछेउको ‘लिंकरोड’ हुँदै भद्रकाली पुग्दानपुग्दै युवा उभारको चाप महसूस हुनथाल्यो । टुँडिखेलछेउको पेटीमा युवा जमातको ‘ह्याप्पी होली’ गुञ्जायमान थियो । पेटीले युवाउभार थेग्न नसक्दा ती सडकमा यत्रतत्र छरिएका थिए, जसलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई नै हम्मेहम्मे थियो । राजधानीको फागुको ‘इपिसेन्टर’ बनेको वसन्तपुरको जबर्जस्त कम्पन टुँडिखेल वरपर सडक, टोल सर्वत्र फैलिएको थियो ।

बजारको पर्व

फागुको रङ्गोत्सवमा युवायुवती नै केन्द्रमा हुन्छन् । नेपाल यसै पनि युवाबहुल मुलुक हो । २०६८ सालको राष्ट्रिय जनगणनाले नेपालीको मध्य उमेर २१.६ वर्ष तय गर्नुले पनि हाम्रो जनसंख्याको बहुल हिस्सा ३० वर्षमुनि रहेको प्रष्ट गर्छ । फागु (होली) मा युवा उभार हुनुको एक प्रमुख कारण यही हो ।

अर्को कारक हो– बजार । एक्काइसौं शताब्दीको उदयसँगै फस्टाउँदो नवउदारवादी अर्थतन्त्र र भूमण्डलीकरणले मानिसलाई पहिले उपभोक्ता, अनि मात्र नागरिक बनाएको छ । जन्मदेखि मरणसम्मका सबै उपक्रममा बजारले चाबुक हान्छ । पर्वहरू पनि त्यसमा अपवाद छैनन् । करीब दुईदशक अघिसम्म देशका पहाडी भूभागमा ‘फागु’ र तराईमा ‘होली’ शब्द प्रचलनमा थियो । छिमेकी राष्ट्रको सांस्कृतिक प्रभावका कारण अब जताततै ‘होली’ मनाइन्छ । त्यसमाथि बजारको प्रभावले होली मनाउने तौरतरिका पनि बदलिएको छ । पछिल्ला केही वर्षदेखि होली मनाउने बेग्लै पोशाक अर्थात् सेतो पृष्ठभूमिको रङ्गीन टी–सर्ट अनिवार्य जस्तै बनेको छ । एकपटक लगाएर मिल्काइने यो लुगा लाखौंको संख्यामा बिक्री हुन्छ र त्यसवापत करोडौं रुपैयाँ देशबाट बाहिरिन्छ । त्यसबाहेक फास्टफूड, हल्का पेयदेखि मदिरा, रङ्गरोगनका ब्राण्ड, सिनेमा आदिको बजारीकरणका लागि उपयुक्त मौका होली नै हो । उत्पादन वा सेवा प्रवद्र्धनका निम्ति लाखौं युवायुवती उमङ्गसाथ सहभागी हुने होली भन्दा प्रभावकारी अरू पर्व हुनै सक्दैन ।

वास्तवमा तिनै पर्व ‘उल्लासमय’ रहन्छन्, जसमा युवासँगै बजार जेलिएको हुन्छ । साउने र माघेसंक्रान्ति, जनैपूर्णिमा भन्दा होली उल्लासमय हुनुको कारण यही हो । उपभोक्तावाद र ग्लोबलाइजेसनको यो युगमा पर्वहरू मौलिक र नेपाली नै हुनुपर्छ भन्ने छैन । ग्रेगोरियन ‘न्यू इअर’ त्यसरी नै मनाइन्छ, जसरी हामी विक्रमाब्दको नयाँ वर्ष मनाउँछौं । पर्वहरू कुनै जातीय समूह, सम्प्रदाय र धर्मसँग जोडिनुपर्छ भन्ने पनि अब रहेन । भ्यालेन्टाइन–डेकै उदाहरण हेरौं । होली पछिको युवा सहभागिताको उल्लासपूर्ण यो पर्व बजारका लागि मुनाफा दोहनको अपूर्व अवसर हो । पुष्प व्यवसायीहरुका अनुसार यो वर्षको भ्यालेन्टाइन–डेमा डेढ अर्ब रुपैयाँ बराबरको गुलाफको फूल नेपाल भित्रियो रे ! अनुमान गरौं, भ्यालेन्टाइन–डे मनाउने क्रममा लुगाफाटा, उपहार, चकलेट–केक, खानपिन र घुमघाममा नेपालीले कति पैसा खर्च गरे होलान् र त्यसको कति हिस्सा बाहिरियो होला !

भ्यालेन्टाइन–डे नेपालमा एउटा ‘ग्लोकल’ (ग्लोबल र लोकलको संयोजित रूप) प्रवृत्ति बनिसकेको छ । आगन्तुक अन्य पर्वहरूले पनि विस्तारै नेपाली माटोमा जरा गाड्दैछन् । दुई दशकअघि अध्ययनको सिलसिलामा बेलायत पुग्दा पंक्तिकारले ‘हालोइन’ शब्द पहिलो पल्ट सुनेको थियो । केही वर्षयता हालोइन नेपालमै मनाउन थालिएको छ । ग्रेगोरियन क्यालेण्डरको ३१ अक्टोबरमा मनाइने यो इसाइ पर्वको छेकोमा हाम्रा रेस्टुराँ, पव र डिस्कोथेकहरू खचाखच हुनथालेका छन् ।

comments powered by Disqus

रमझम