दक्षिण एशियाका ६ राष्ट्र सम्मिलित क्षेत्रीय महिला फूटबलमा यस्ता थुप्रै व्यवस्थापकीय र प्राविधिक त्रुटिहरू देखिए । अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीहरू यसबाट आफूले पनि पाठ सिकेको र भोलिका दिनमा मोफसलमा ठूला प्रतियोगिता हुनु अगाडि सचेत गराएको बताउँछन् ।
विशेषतः अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नुपूर्व आवश्यक प्राविधिक चुस्तता, न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डको भौतिक पूर्वाधार, खेलाडी सुरक्षा, स्वास्थ्य, स्थानीय र प्रदेश सरकारको सक्रिय उपस्थिति र शहरको सुन्दरतामा समेत ध्यान दिनुपर्ने चुनौती विराटनगरमा सम्पन्न प्रतियोगिताले देखाएको छ ।
फरक आयोजना
अन्तर्राष्ट्रियस्तरका, ओलम्पिक र एशियाली खेलकुद जस्ता ठूला प्रतियोगिताको आयोजना शहरको नाममा हुने गर्छन् । त्यसका निम्ति सम्बन्धित शहरले आफ्नो ठाउँलाई सक्दो सुन्दर बनाउन प्रयास गर्छन् ताकि, विश्वभर आफ्नो प्रचारप्रसार होस् । शहरको सभ्यताको विकासलाई अगाडि सारेर शहरवासीलाई आफ्नो परिचय फैलाउन, प्रतियोगिताका दौरान अनुशासित व्यवहार प्रदर्शन गर्न वा प्रतियोगिताको माध्यमबाट नयाँ कुरा सिकाउन समेत योजना बनाइएको हुन्छ । त्यसका लागि ठूलो लगानीमा नयाँ शहरको विकास गर्ने वा शहरको मुहार फेर्न ठूलो रकम खर्च गर्ने काम गरिन्छ । सन् २००८ को ओलम्पिक आयोजना गर्न बेइजिङले पानी जस्तै पैसा बगाएको इतिहास छ । अहिले पनि उसले ठूला प्रतियोगिता आयोजना गर्न अन्य शहरसँग कडा प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छ ।
तर, साफ महिला फूटबल च्याम्पियनसिप आयोजनाको स्वरुप भने अलि भिन्न छ । यसमा दक्षिण एशियाली फूटबल महासंघ आयोजक हो भने एन्फा स्थानीय आयोजक मात्र । मोरङ जिल्ला फूटबल संघ त एन्फाको सहयोगी मात्र हो । शुरुमा प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने भन्दै एन्फाले साफ च्याम्पियनसिपको आयोजकसँग आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेपालले आयोजनाको अवसर पाएपछि मात्र प्रतियोगिता विराटनगर लैजाने निर्णय गरिएको हो । त्यही कारण पनि हतारमा कैयौं कमी–कमजोरी हुन पुगे ।
पूर्वाधार निर्माणका चुनौती
स्थानीय तहमा प्रतियोगिता आयोजनाको अर्थ हुन्छ, त्यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माण–विस्तार । नेपाली खेलकुदको इतिहासले देखाउँछ– ठूला प्रतियोगिता आयोजनाकै दौरान नयाँ पूर्वाधारहरू बनेका छन् । जस्तो कि, दोस्रो राष्ट्रिय खेलकुदका बेला पोखरा रंगशाला निर्माण भयो । त्यसैगरी, तेस्रो राष्ट्रिय खेलकुदले वीरगञ्ज रंगशाला र छैटौं राष्ट्रिय प्रतियोगिताले गर्दा धनगढी रंगशालाको निर्माण भएको हो ।
यसपालि दक्षिण एशियाली स्तरको प्रतियोगिताकै कारण विराटनगरको शहीद मैदानले नयाँ स्वरुप पायो । मैदान, ड्रेसिङ रुम, मिडिया ट्रिब्यून, मिडिया सेन्टर, सेक्रेटेरियट जस्ता प्राविधिक स्थल पनि निर्माण गरिए । शहीद मैदानले पाएको नयाँ स्वरुपले स्थानीय तहलाई पनि थप जिम्मेवार बनाए जस्तो देखिन्छ । जस्तो कि, मैदानलाई थप व्यवस्थित गर्दै रात्रिकालीन खेलयोग्य बनाउन ‘फ्लड लाइट’ (कृत्रिम प्रकाश) निर्माण गर्ने तयारी भइसकेको छ ।
अबको सम्भावना
विराटनगरले देखाएको बाटो के हो भने अब अन्य जिल्लाहरू पनि ठूला प्रतियोगिता आयोजनाका लागि लालायित बनेका छन् । काठमाडौं बाहिर विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिता नै नभएका होइनन् । वीरगञ्जमा यू–१६ साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता आयोजना भइसकेको छ । पोखरामा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फूटबल पनि आयोजना भयो । यसबाहेकका अन्य केही छिटपुट अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नभएका होइनन् । तर, अब गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो– न्यूनतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता ।
देशभर खेलकुद पूर्वाधार छरिएर रहेका छन् । वर्षभरि विभिन्न प्रतियोगिताहरू आयोजना पनि हुन्छन् । नकआउट गोल्डकप फूटबल प्रतियोगिता त कति हो कति ! तर, ती सबै घरेलु सम्झौता र सहजतासँग जोडिएका देखिन्छन् । साफ महिला फूटबल च्याम्पियनसिपले यसमा केही सोच्न बाध्य बनाएको छ । शहर निर्माणदेखि तारे होटल (फिफाको नियममा कम्तीमा चार तारे), खेलाडीको सुरक्षा, खेलाडीको स्वास्थ्य व्यवस्था (कम्तीमा दुईवटा एम्बुलेन्स सहितको उच्चस्तरीय हस्पिटल) मा अब ध्यान दिनैपर्छ । पोखरा, बुटवल, धनगढी, वीरगञ्ज जस्ता शहरहरूमा त्यो सम्भावना प्रचुर छ ।
आउँदो डिसेम्बरमा नेपालले आयोजना गर्ने १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) त्यसको परीक्षा हुनेछ । तेस्रो पटक साग आयोजना गर्न लागेको नेपालले पहिलो पटक काठमाडौं बाहिर, पोखरामा पनि प्रतियोगिता लैजाँदैछ । बहुउद्देश्यीय कभर्ड हलदेखि रंगशाला लगायतका प्रमुख पूर्वाधार तयार भइसकेको पोखरा हरेक दृष्टिकोणले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सक्षम ठानिएको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा संघका आगामी कार्यक्रमहरू जिल्लामा केन्द्रित हुने बताउँछन् । उनी भन्छन्, “थुप्रै स्थानीय तह र प्रदेश सरकारले चासो देखाइरहेका छन्, त्यही अनुरुप कार्यक्रम बनिरहेको छ ।” शेर्पाका अनुसार धनगढी उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता गर्न रु.४० लाख बजेट छुट्याइसकेको छ भने बुटवल उपमहानगरपालिका पनि आयोजनाको निम्ति तयार छ । प्रदेश सरकारहरूले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बेला मौकामा व्यक्त प्रतिबद्धताहरूले देखाउँछन् ।
यी र यस्ता वातावरण र प्रतिबद्धता थपिंदै गए नेपालका प्रमुख शहरहरू अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि योग्य हुँदै जानेछन् । त्यस पछाडिको प्रमुख फाइदा चाहिं देशका विभिन्न स्थानमा योग्य खेल पूर्वाधार निर्माण हुनेछन् ।
नेपाल फेरि रोकियो
नेपाली महिला फूटबल टोलीको दक्षिण एशियाली फूटबल (साफ) च्याम्पियनसिप उपाधि जित्ने लक्ष्यमा फेरि चिरपरिचित प्रतिद्वन्द्वी भारत बाधक बनेको छ । विराटनगरमा ८ चैतमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिपमा भारतले नेपालमाथि ३–१ गोलको जित हात पार्दै लगातार पाँचौं पल्ट उपाधि जितेको हो ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको नेपाली महिला फूटबल टोली फाइनलमा भने अनुभवी भारतसामु टिक्न सकेन । फाइनलसम्म पुग्दा नेपालले १० गोल गरेको थियो भने विपक्षीबाट कुनै गोल व्यहोरेको थिएन । फाइनलमा पहिलो हाफमै गोल खाएको नेपालले १० मिनेटभित्रै खेल बराबरीमा ल्याएको थियो । तर, दोस्रो हाफमा दुई पटक रक्षापंक्तिले गरेको गल्ती नेपाललाई महँगो सावित भयो ।
साफ च्याम्पियनसिपमा फाइनल पुग्ने र भारतलाई पन्छाउन नसक्ने सिलसिला तोड्न नसक्दा घरेलु मैदानमा उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपाल यसअघि तीनपटक फाइनलमा पुगे पनि तीन पटक नै भारतसँग पराजित भएको थियो ।