१०-१६ चैत २०७५ | 24-30 March 2019

रोमाञ्चक उडानको मजा

Share:
  
- विष्णुकान्त घिमिरे

धुलिखेल खासगरी प्राचीन कलाकौशलयुक्त घर र मन्दिरका साथै प्राकृतिक दृश्यावलोकनका लागि परिचित छ । तर, यहाँ पर्यटकका लागि अर्को आकर्षण पनि थपिएको छ । साहसिक खेलप्रेमीको लागि ‘क्लासिक जिपलाइन’ सहित ‘सुपरम्यान जिपलाइन’ र दुई जना एकसाथ खेल्न मिल्ने टेण्डम जिपलाइन सञ्चालनमा ल्याइएको हो । धुलिखेलको थाक्लेडाँडादेखि पाँचखालको खावासम्म सञ्चालित जिपलाइनको दूरी ११०० मीटर छ । यो दूरी हावामा रोमाञ्च बटुल्दै १ मिनेट २० सेकेण्डमा छिचोलिन्छ । हावाको वहाब र खेल्ने व्यक्तिको वजन अनुसार ६० देखि ९६ किलोमिटरसम्म प्रति घण्टाको गतिमा जिपलाइन बत्तिन्छ ।

तस्वीरः विष्णुकान्त घिमिरे

समुद्र सतहदेखि १३०० मीटर उँचाइबाट शुरू भएर ‘भर्टिकल ड्रप’ २४० फीट हुँदै १२०० मीटरको उँचाइमा पूरा हुने जिपलाइनको दैनिक ६० जनासम्मले सेवा लिन सक्छन् । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले वल्र्ड वाइड एड्भेन्चर प्रा.लि. स्थापना गरी जिपलाइन संचालनमा ल्याएका हुन् । युरोपेली र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको सञ्चालक थापाले जानकारी दिए ।

जिपलाइन एक्लै खेल्न १६ वर्ष उमेर पुगेको हुनुपर्छ भने कम उमेरकाले अभिभावकसँग टेण्डम खेल्न सक्छन् ।

comments powered by Disqus

रमझम