भाजपाको जितपछि भारतमा हिन्दुत्वको उदय भएको भन्ने मानवअधिकारकर्मीहरूको त्यसबेलादेखिको चिन्ता अर्को चुनाव आउँदासम्म सकिएको छैन । हरेक पाँच वर्षमा हुने लोकसभा निर्वाचन आउँदो ११ अप्रिलदेखि १९ मेसम्म सात चरणमा हुँदैछ ।
संसारकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको लोकसभा चुनाव सर्वत्र चासोको विषय बन्छ । खासगरी दक्षिण एशियाली मुलुकहरू र त्यसमा पनि नेपाललाई खुला सीमा, व्यापार, सांस्कृतिक सम्बन्ध आदिका कारण भारतीय चुनाव र सरकारको नेतृत्वमा को आउँछ भन्ने विषयले महत्व राख्छ ।
यो चुनावमा भाजपाले मोदी लहर फर्काउने प्रयास गरिरहँदा, विभिन्न तहमा असन्तुष्टिका आवाज पनि उठेका छन् । नवउदारवादी आर्थिक नीति र बढ्दो क्रूर पूँजीवादी सोचले महिला, दलित, आदिवासी र अन्य अल्पसंख्यक समूह झ्नै पिछडिएको भन्ने बुझाइ प्रशस्त छ । सामाजिक–राजनीतिक अभियन्ता योगेन्द्र यादव ५० हजार किसानलाई नयाँदिल्ली ल्याएर आन्दोलन गराउन सफल भए । किसान आन्दोलनको असर गएको नोभेम्बर र डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा पर्दा भाजपाले धेरै राज्यमा पराजय व्यहोरेको थियो ।
चुनावी माहोलकै बीच यहाँका महिला अधिकारकर्मीहरू पनि मोदी सरकार विरुद्ध आवाज उठाइरहेका छन् । ‘स्वायत्त महिला आन्दोलन’ (अटोनोमस वुमेन्स मूभमेन्ट) ले ४ अप्रिलमा बृहत् प्रदर्शन गर्दैछ । घृणा र हिंसा भरिएको वातावरण विरुद्ध र लोकतान्त्रिक व्यवस्थामा आफ्नो संवैधानिक अधिकार माग्न उक्त प्रदर्शनमा सहभागिताका लागि भारतभरिका महिलालाई आह्वान गरिएको छ । यो आन्दोलनले देशमा फासीवादी र नवउदारवादी तागत, असहिष्णुता तथा समाजमा विद्यमान हिंसाको कारण महिलाको जीवनमा गहिरो असर परेको, समाजमा भय बढेको औंल्याएको छ ।
भारतमा लोकतन्त्रका हिमायतीहरूको बुझाइमा सत्तारुढ भाजपाले त्रास फैलाएर अल्पसंख्यक, सीमान्तकृत र कमजोर वर्गलाई खुम्च्याएको छ । महिला नेतृत्व र लैंगिक समानताको क्षेत्रमा सक्रिय डा. जाह्नवी अन्धारिया भन्छिन्, “दलित, किसान र महिलाका आवाज उठाउनेसँगै असन्तुष्टिका स्वरहरूलाई सत्ताले चुप लगाउने गरेको छ ।”
सरकारको कार्यशैलीप्रति असन्तुष्टि र आक्रोशकै बीच भाजपा गठबन्धनको सरकार पुनः बन्छ÷बन्दैन भन्ने नै अहिले यक्ष प्रश्न हो । एक ट्याक्सी चालकले निर्धक्क भने, “म त मोदीलाई नै जिताउँछु ।” किन ? ती चालक सहित विभिन्न ठाउँमा भेटिएका श्रमजीवी र विद्यार्थीको भनाइमा, ‘स्वच्छ छविका मोदीले विश्वमा भारतको छवि पनि उकासे ।’ उत्तरप्रदेशको नोयडामा भेटिएका विद्यार्थीको समूह पनि विगतको चुनावभन्दा यसपालि बढी प्रतिस्पर्धा हुने तर झ्निो मतले सही भाजपा गठबन्धनले जित्ने ठान्छ ।
यद्यपि प्रम मोदी दोस्रो कार्यकालतर्फ बढिरहेका छन् भन्ने बुझाइ राख्नेहरू पनि पहिलो कार्यकालमा उनले देशका लागि धेरै काम गरेनन् भन्नेमा सहमत छन् । कतिपय कट्टर हिन्दूहरू समेत उनीसँग असन्तुष्ट छन्, वाचा अनुसार अयोध्यामा राम मन्दिर निर्माण नगरेकोमा ।
मोदीले जित्ने आधार सबैको एक जस्तै छ । धेरैले उनलाई सदाचारी र कुशल व्यवस्थापक मान्छन् । सत्तामा आउने बित्तिकै उनले नोटबन्दी गरेर आफू भ्रष्टाचार विरोधी हुँ भन्ने सन्देश बाँड्न सके । साथै, विभिन्न संघसंस्थालाई करको दायरामा ल्याउन ‘विदेशी सहायता नियमन कानून’ (एफसीआरए) पनि कडाइपूर्वक लागू गरे । देशमा गतिला काम नगरे पनि टक्कर दिने विपक्ष नहुँदा फेरि पनि उनले नै जित्ने आकलन छ ।
यसो भन्दैमा चुनावी पल्ला पूर्णतया मोदीको पक्षमा छ भन्ने होइन । उनी विरुद्ध अल्पसंख्यकमुखी कार्यक्रम नल्याएको सहित विभिन्न आरोप छन् । १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामा हमलापछि उनले पाकिस्तानमाथि गरेको ‘एअर स्ट्राइक’ लाई चुनावी हत्कण्डा मान्नेहरू पनि धेरै छन् । यस प्रकरण मार्फत उनले भाजपा र आफूलाई भारतको रक्षकका रूपमा स्थापित गर्न खोजे पनि त्यो रणनीति प्रत्युत्पादक भएको विश्लेषण पनि छ । विपक्षी कंग्रेस नेतृत्वको गठबन्धनले किसान, महिला, दलित र अन्य अल्पसंख्यकको मुद्दा उठाएकाले भाजपा गठबन्धन अप्ठेरोमा पर्न सक्छ ।
निर्वाचन आउन करीब दुई साता बाँकी हुँदा आम जनताको हितको बहस कसरी अगाडि बढ्छ भन्ने कुराले विजेताको निर्धारण गर्नेछ । टक्कर दिने प्रतिद्वन्द्वीको अभावमा मोदीले नै बाजी मार्ने आकलन गरिए पनि विवेकी मतदाताको जागरण र विपक्षी गठबन्धनको तयारीले भने भाजपालाई दोस्रो कार्यकालको यात्रामा हम्मे पार्नेछ ।