१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

मलेशियामा रोजगारी: नयाँ मापदण्ड तोडियो सिन्डिकेट

Share:
  
मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षणमा कायम ३९ संस्थाको सिन्डिकेट खारेज भएर मापदण्ड पुगेका अन्य संस्थाबाट पनि परीक्षण गर्ने बाटो खुलेको छ।

तस्वीरः हिमाल आर्काइव
मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण संस्थाको हकमा त्यहाँको सरकारले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई नयाँ मापदण्ड पठाउँदै सोही अनुसार संस्था सूचीकरण गर्न आग्रह गरेको छ । अहिलेसम्म वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण गर्न श्रम मन्त्रालयले २०७० सालमा मापदण्ड बनाएको थियो । सोही मापदण्डका आधारमा सूचीकृत संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

नेपाल र मलेशियाबीच १२ कात्तिकमा भएको नयाँ श्रम सम्झैता कार्यान्वयन गर्न गठित संयुक्त कार्यदलको सोही दिन बसेको पहिलो बैठकले मलेशिया जाने कामदारका लागि ‘मेडिकल र सेक्युरिटी स्क्रिनिङ’ गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार दुवै देशका अधिकारीहरू सम्मिलित प्राविधिक समितिको बैठकमा स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड मलेशिया सरकारबाट नेपाललाई उपलब्ध गराउने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार नयाँ श्रम सम्झैता कार्यान्वयनको पहिलो चरण अन्तर्गत मलेशियाको स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्थाको मापदण्ड ८ चैतमा नेपालस्थित मलेशियन दूतावास मार्फत श्रम मन्त्रालयलाई पठाइएको छ । यो मापदण्डले यसअघि मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघ अन्तर्गतका ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट तोडेर थप स्वास्थ्य संस्था पनि सूचीकृत हुने गरी फराकिलो दायरा बनाएको छ । नेपाली कामदारका लागि मलेशियाको श्रम बजार गएको असारदेखि बन्द रहेको अवस्थामा स्वास्थ्य परीक्षणको लागि आएको नयाँ मापदण्डले त्यहाँ जाने प्रक्रिया खुलाउन सहज पार्ने देखिएको छ ।

के छ नयाँ मापदण्डमा ?

मलेशिया सरकारले पठाएको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ मापदण्डमा कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रत्येक स्वास्थ्य संस्थामा ३०० मिलिएम्पियरेज (एमए) को डिजिटल एक्स–रे र त्यसको सुरक्षा व्यवस्थापन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । श्रम मन्त्रालयले २०७० सालमा बनाएको मापदण्डमा १०० एमएको म्यानुअल एक्स–रे भए पनि स्वास्थ्य परीक्षण गर्न सकिने प्रावधान छ । नयाँ मापदण्डमा स्वास्थ्य संस्थामा युरिन एनालाइजर अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि यो अनिवार्य थिएन । युरिन एनालाइजरले पिसाब जाँचेर शरीरमा सुगर भए–नभएको पत्ता लगाउन सके पनि कति परिमाणमा सुगर छ भन्ने देखाउन सक्दैन । यस्तै, पछिल्लो मापदण्डमा स्वास्थ्य संस्थामा माइक्रोस्कोप, अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर, कल्चर काउन्टर, इन्कुबेटर, अटो क्लेभ लगायतका प्याथोलोजीका १७ सेट सामग्री अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा अब एक प्याथोलोजिष्ट अनिवार्य हुनुपर्ने मापदण्ड पनि राखिएको छ । यस्तै प्याथोलोजिष्ट सहित रेडियोलोजिष्ट, एमडीजीपी वा एमबीबीएस डाक्टर, रेडियोग्राफर लगायतका १३ जना जनशक्ति हुनुपर्छ ।

सिन्डिकेट तोड्ने प्रावधान

श्रम मन्त्रालयले १३ र १४ चैतमा सूचना प्रकाशन गरेर नयाँ मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आशयपत्र माग गरेको छ । मन्त्रालयको वैदेशिक रोजगार शाखाका प्रमुख दीपक ढकाल मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई मलेशियाको सरकारसँग समन्वय गरेर छनोट गर्ने बताउँछन् । उनी भन्छन्, “नयाँ व्यवस्था अनुसार निजी अस्पताल र उपत्यका बाहिरका स्वास्थ्य संस्थालाई सूचीकरणको बाटो खुला गरिएको छ ।”

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयबाट २३४ स्वास्थ्य संस्था सूचीकृत थिए । मन्त्रालयले २०६९ सालदेखि नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण गर्ने बाटो खोलेको थिएन । शाखा प्रमुख ढकाल मलेशिया जाने कामदारका लागि यसअघि सूचीकृत ३९ संस्थाको सिन्डिकेट तोडिएकाले अब थप सूचीकृत हुनेमध्ये जुनसुकै स्वास्थ्य संस्थाबाट परीक्षण गर्न सकिने बताउँछन् ।

सूचीकरणका लागि छनोटमा पर्ने स्वास्थ्य संस्थाले मलेशियाको सरकारले पठाएको ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर्स’ (एसओपी) अनुसार स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । मन्त्रालयले स्वास्थ्य संस्था छनोट भएपछि एसओपी उपलब्ध गराउने जनाएको छ ।

स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड पठाइए पनि नेपाली कामदारले यहाँ स्वास्थ्य परीक्षण गरेपछि पुनः मलेशियामा परीक्षण गर्नुपर्ने वा नपर्ने भन्ने खुलाइएको छैन । यसअघि यहाँ स्वास्थ्य परीक्षण गरेका कामदारले मलेशियाको सरकारले आउट–सोर्सिङ गरेको फोमेमा एसडीएन बीएचडी नामक कम्पनी मार्फत परीक्षण गराउनुपथ्र्याे । फोमेमाले ‘अनफिट’ देखाए नेपाली कामदार फर्किनुपर्ने बाध्यता थियो ।

रामु सापकोटा

comments powered by Disqus

रमझम