१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

फैलँदै सडक

Share:
  
प्रदेश–५ मा मुख्य राजमार्गहरू फराकिला हुँदै गर्दा प्रदेश सरकारले पनि आफू मातहतको सडक क्षेत्र पाँच वर्षमा दोब्बर बनाउने गरी काम शुरू गरेको छ।

दीपक ज्ञवाली
पूर्व–पश्चिम राजमार्गलाई भारतीय नाका सुनौलीसँग जोड्ने बुटवल–बेलहिया (२७ किलोमिटर) सडक छिचोल्न अहिले आधा घण्टा पनि लाग्दैन । केही महीना अघिसम्म एक घण्टाभन्दा बढी समय लाग्ने यो दूरी तीन महीनामा आयोजना सम्पन्न भयो भने अझै घट्नेछ । बुटवल बेलहिया व्यापारिक राजमार्ग आयोजनाका प्रमुख जीवेन्द्र मिश्र भन्छन्, “असारभित्रै सबै काम सम्पन्न हुँदा यो समय अझै छोट्टिनेछ ।”

अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न भएको आयोजनाको बुटवल बजार क्षेत्रमा पर्ने साढे तीन किलोमिटरमा सडक विस्तारको काम रोकिएको छ । ६ लेनमा विस्तार भइरहेको सडक छेउका घर भत्काउन स्थानीय बासिन्दाले अवरोध गरेकाले १८ प्रतिशत काम बाँकी भएको हो । तर, आयोजनाले १२ चैतमा सूचना प्रकाशित गरी सडक क्षेत्रमा पर्ने सबै संरचना १५ दिनभित्र भत्काउन भनेको र यो सूचनालाई बेवास्ता गरिए आयोजनाले नै भत्काएर काम सम्पन्न गर्ने मिश्र बताउँछन् । राजमार्ग क्षेत्रमा अझै पनि २४० घरहरू भत्काउनुपर्ने सूचीमा छन् ।

होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल भन्छन्, “राजमार्गको विस्तार र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले यस क्षेत्रको आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउनेछ ।”

पाँच वर्षमा दोब्बर !

यस क्षेत्रको विकासमा योगदान दिने अर्को सडक विस्तारको काम पनि शुरू भएको छ, त्यो हो मुलुककै लाइफलाइन मानिएको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड । अहिले नारायणगढ—बुटवल ११४ किलोमिटर दूरी पार गर्न दुईदेखि तीन घण्टा लाग्छ । बुटवल–बेलहिया आयोजनामा जस्तो ढिलासुस्ती भएन भने अबको साढे तीन वर्षमा उक्त दूरी एकदेखि डेढ घण्टामै पार गर्न सकिनेछ । देशमा सबैभन्दा धेरै बस सञ्चालन गर्ने पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बञ्जाडे सडक विस्तारले सबैलाई लाभ हुने ठान्छन् । भन्छन्, “यात्राको समय घट्छ, इन्धन कम लाग्छ, सवारी साधन मर्मत गराइरहनुपर्ने समस्या हुँदैन, आम्दानीका स्रोतहरू बढ्छन् ।”

रु.१५ अर्बको लागतमा विस्तार हुने सडकका लागि ८५ प्रतिशत रकम एशियाली विकास ब्याङ्कले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनमा विस्तार हुने ११४ किलोमिटरमध्ये २८ किलोमिटर सडक ६ लेनको र बाँकी चार लेनको हुनेछ । सडक विभाग आयोजना निर्देशनालयका उपनिर्देशक सागर पौडेल भन्छन्, “पहिलो चरणमा ६५ किलोमिटर नारायणगढ–दाउन्ने र दोस्रो चरणमा दाउन्ने—बुटवल क्षेत्रमा काम हुनेछ ।” सडक निर्माणको ठेक्का लिएको चाइना स्टेट कन्स्ट्रक्सन सँग भएको सम्झैता अनुसार २२ साउन २०८० मा आयोजना सम्पन्न भइसक्नेछ ।

अहिले प्रदेश–५ मा ११ हजार किलोमिटर सडक छ, जसमध्ये करीब ८०० किलोमिटर मात्रै पक्की छ । प्रदेश सरकारको महत्वाकांक्षी योजना पूरा भएमा आगामी पा“च वर्षमा सडक क्षेत्र २२ हजार किलोमिटर पुग्नेछ ।

समृद्धिका लागि सडक अपरिहार्य ठान्दै प्रदेश सरकारले पाँच वर्षमा दोब्बर सडक निर्माण र पीच सडक तेब्बर पार्ने योजना बनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीका अनुसार प्रदेश सरकारले सबै स्थानीय तहका सदरमुकामसम्म पक्की सडक पुर्‍याउने गरी काम थालेको छ । सडक विकास र विस्तारमा जोड दिंदै चालु आर्थिक वर्षको कुल पूँजीगत बजेटको करीब ४७ प्रतिशत सडक निर्माणमा विनियोजन गरिएको उनी बताउँछन् ।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम