१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

डोजरले बेरोजगार

Share:
  
प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकाको मापदण्ड विपरीत मुगुका खत्याड र सोरु गाउँपालिकामा साना योजनामा डोजर प्रयोग गरिंदा स्थानीयको रोजगारी गुमिरहेको छ।

खत्याड–११ रातापानी रिठामा सडक खन्दै गरेको डोजर । आ–आफ्नो घरजग्गा बचाउन सडक निर्माणमा अवरोध गर्दै स्थानीय। च्युतराज भण्डारी
मुगुका स्थानीय तहमा यतिबेला विभिन्न ठाउँमा सडक निर्माण धमाधम भइरहेका छन् । तर, विकास–निर्माणको कामले गति लिइरहँदा पनि स्थानीय बासिन्दा भने खुशी छैनन् । खत्याड र सोरु गाउँपालिकामा सडक खन्ने काममा डोजर प्रयोग गरिंदा सर्वसाधारणको रोजगारीको अवसर गुमेको गुनासो गाउँलेको छ ।

गरीबीको चपेटामा रहेका गाउँलेले स्थानीय स्तरमै भएको कामको अवसर डोजरले खोसेपछि रोजगारी खोज्न अन्यत्र हिंड्नुपर्ने अवस्था निम्तिएको बताएका छन् । खत्याड गाउँपालिका–८ का नन्द नेपाली भन्छन्, “सबैतिरका सडकको काम डोजरले गर्ने भएपछि हामी रोजगारीका लागि भारत जानुपर्ने अवस्था आएको छ ।” योजनाका नाममा उपभोक्ता समिति गठन गर्ने तर समितिले सडक नखनी डोजरको प्रयोग गर्ने प्रवृत्ति बढेको गुनासो स्थानीयको छ ।

मुगु (ख) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही स्थानीय जनताले रोजगारी नपाएर साँझ्–बिहानको छाक टार्नै मुश्किल भइरहँदा स्थानीय तहले सडक खन्न डोजर प्रयोग गर्नु न्यायसंगत नभएको तर्क गर्छन् । सर्वसाधारण बेरोजगार बनेकाले गाउँपालिकाले विकास निर्माणको काम जनतालाई दिनुपर्ने उनी सुझाउँछन् ।

सोरु र खत्याड गाउँपालिकाका सबै वडामा सडक पुर्‍याउने भन्दै सडक निर्माणमा तीव्रता दिइएको छ । तर, यी सडक खन्ने योजना रोजगारी सिर्जना गर्ने उद्देश्यले ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, २०७५’ कै विपरीत छ । डोजरको प्रयोगले देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै निर्देशिकाले सार्वजनिक खरीद ऐनमा भएको व्यवस्था अनुसार रु.१ करोड भन्दा कम लागतका आयोजनामा मानवीय श्रमको उपयोगबाट सम्भव हुने काममा हेभी इक्वीपमेन्ट प्रयोगमा रोक लगाएको छ । तर, सोरु र खत्याड दुवै गाउँपालिकामा मापदण्ड विपरीत रु.२ लाखदेखि ५० लाखसम्मका सडक योजनामा डोजर प्रयोग गरिएको छ । अझ्, खत्याडमा एक दर्जन सडक निर्माणमा टेन्डर विना नै काम अघि बढाइएको छ ।

स्थानीय सरकार बनेको दुई वर्ष भइसक्दा पनि स्थानीय जनताका लागि रोजगारमूलक नीति नल्याइएको र उल्टै रोजगारी सिर्जना हुने अवसर पनि खोसिएको अधिकांशको दुःखेसो छ । “सडक निर्माणलाई प्राथमिकता दिनु राम्रो भए पनि जनतालाई बेरोजगार बनाउने गरी डोजरलाई बढावा दिनु दुःखद हो”, सोरु गाउँपालिका–३, भिईका मञ्जन कार्की भन्छन् ।

जनप्रतिनिधि र नेताकै डोजर

स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेता–कार्यकर्ताले नै डोजर ल्याएकाले स्थानीयको रोजगारीको अवसर गुमेको जानकारहरू बताउँछन् । स्थानीय तहले मनोमानी रूपमा तिनै डोजरलाई सडक खन्ने जिम्मा दिने गरेको उनीहरूको आरोप छ ।

ग्रामीण सडक खन्ने काममा स्थानीय जनप्रतिनिधि र नेता–कार्यकर्ताका डोजर प्रयोग गरिएका छन् । सोरु गाउँपालिका–७ का वडाध्यक्ष राजेन्द्र बुमी, वडा सदस्य कर्णजंग शाहीका डोजरले गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक खन्ने जिम्मा पाएका छन् ।

त्यस्तै, खत्याड–२ का वडाध्यक्ष लालबहादुर मल्ल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेताहरू अजबहादुर शाही, हिमाल टमटा र कालीबहादुर रावल (प्रसिद्ध) का डोजरले खत्याड गाउँपालिकाका विभिन्न स्थानमा सडक खन्ने काम गर्दै आएका छन् । “काम पाएको भए दुई–चार पैसा कमाइ भएर गुजारामा भरथेग हुन्थ्यो, तर अहिले रोजगार दिनु भन्दा बेरोजगार बढाउन स्थानीय जनप्रतिनिधि नै अगाडि देखिएका छन्”, एक स्थानीय भन्छन् ।

अच्युतराज भण्डारी, मुगु

comments powered by Disqus

रमझम