१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

भोटे समुदाय बाटोको जिन्दगी किताब न औषधि

Share:
  
- प्रकाश सिंह, बाजुरा
बाटैमा जन्मने हुन् या तिनलाई जन्माउने— उत्तारी बाजुराका भोटे समुदायका अधिकांश आमा तथा बच्चाले स्वास्थ्य तथा शिक्षाको आधारभूत सुविधा समेत पाउँदैनन्।

जाडोमा औल झरेका उत्तरी बाजुराका भोटे परिवार घर फर्कंदै । तस्वीरहरूः प्रकाश सिंह
बाजुराको हिमाली गाउँपालिका–३ युनाकी पार्वती गुरुङ (१९) को परिवार गएको पुसमा जाडो छल्न अछामको देवीस्थान जाँदैथियो । गर्भवती युनाले देवीस्थान जाँदै गर्दा लेककोटको वनमा बच्चा जन्माइन् । पार्वती भन्छिन्, “बाटोमै व्यथा लाग्यो, लेककोटमा श्रीमानको सहारामा बच्चा जन्माएँ ।” संयोग नै मान्नुपर्छ बाटोमै जन्मिएको बच्चा र आमा दुवैको स्वास्थ्य उचित स्याहार र उपचार अभावका बावजूद अहिलेसम्म ठीकै छ, जुन सबैको हुँदैन ।

गएको मंसीरमा परिवारसँग अछाम झर्दै गरेकी बाजुराको बुढिनन्दा नगरपालिका–९ अगाउपानीकी तनी थापा (२९) ले पनि बाटोमा पर्ने रापकमा बच्चा जन्माइन् । हिंड्दाहिंड्दै बाटोमा जन्मेको बच्चा राम्रो स्याहार नपाउँदा केही दिनमै बित्यो । तनी भन्छिन्, “जाडोको बेला, म आफैं पनि कमजोर थिएँ, राम्रो स्याहार हुन सकेन ।” सुत्केरी भएकै दिन उनी पाँच घण्टा लगातार हिंड्नु परेको थियो । हिउँदमा हिमपात अत्यधिक भएर जनजीवन गाह्रो बन्न थालेपछि औल झर्ने यहाँको पुरानै परम्परा हो । “चिसो छल्न भेडा, च्याङ्ग्रा समेत सँगै लिएर हिउँदमा बेंसी झर्ने र गर्मी लागेसँगै माथि उक्लने हुँदा अधि कांश महिलाले बाटोमै बच्चा जन्माउँछन्”, भोटे जनजाति महासंघका अध्यक्ष बुद्धि बोगटी भन्छन् ।

तनी र युना जस्तै चिसो छल्न अछाम जाँदै गर्दा हुम्लाको ताजाकोट–२ कि सीता थापा भोटेले गएको मंसीरमा बाजुराको बाह्रबिसमा बच्चा जन्माइन् । उनी भन्छिन्, “धेरै रगत बग्यो, बल्लतल्ल औषधि पसलसम्म पुगेर उपचार गराएँ ।” रक्तअल्पता भए जस्ती पहेंली र कमजोर ज्यानकी सीताले न आफू न त बच्चालाई अहिलेसम्म स्वास्थ्य संस्था लगेकी छिन्, उनको बच्चा पनि कम तौलको र कुपोषणग्रस्त देखिन्छ ।

बुढिनन्दा नगरपालिका–१० अगाउपानीकी अबकती थापा भोटे (२७) को पनि सुत्केरी हुने दिन नजिकै छ । अछामको बुढाकोटबाट परिवारसँगै बाजुरा फर्कने तयारीमा रहेकी उनलाई बाटोमै बच्चा जन्मन सक्ने चिन्ताले पिरोलेको छ । गर्भवती भएदेखि स्वास्थ्य संस्थामा नपुगेकी अबकतीले कुनै औषधि पनि लिएकी छैनन् । भन्छिन्, “यसअघिका दुई सन्तान पनि बेंसी झर्दा बाटोमै जन्मिएका हुन्, कतै उपचार गराउन पाइएन ।”

पढाइ छोडेर औल झरेका बालबालिका गर्मी शुरु भएसँगै घरतर्फ फर्कंदै ।

यसरी बाटोमै सुत्केरी हुने महिलाले न त गर्भवती/सुत्केरी हुँदा पोषिलो खान पाउँछन्, न उपचारको सुविधा नै । कतिपय सुत्केरी र शिशुको बाटोमै मृत्यु हुन्छ तर, त्यसको रेकर्ड कतै नहुने भोटे अगुवा नृप थापा बताउँछन् ।

बाजुरा मात्र होइन, सुदूरपश्चिम र कर्णाली प्रदेशका झाङ, मुगु, हुम्ला, जुम्लाका उत्तरी क्षेत्रका बासिन्दा हिउँदमा आफ्ना बस्तुभाउ लिएर अछाम, डोटी, सुर्खेततर्फ बसाइँ सर्छन् । हिमालमा चरन क्षेत्र नहुँदा आफ्ना भेडा च्याङ्ग्रा चराउन पनि उनीहरू औल झर्नुपर्ने बाध्यता छ । फर्किंदा चामल र अन्य मालमत्ता लिएर जान्छन् । बर्खामा भने चरन खोज्दै उनीहरू उच्च हिमाली पाटनतिर पुग्छन् । हुम्लाको ताजाकोट गाउँपालिका सरकीदेउ गाउँकी रमिता बुढाथोकी (२३) पनि ८ महीनाकी गर्भवती हुन् । हिउँदमा बेंसी झरेकी उनले गर्भ जाँच गराउन, खोप लिन र आइरन चक्की खान पाएकी छैनन् । अछामको घुगुरकोटमा पाल टाँगेर परिवारसँगै बसेकी रमिता कडा परिश्रम र पोषिलो खानेकुराको अभावमा थला परे जस्तै छन् ।

बाजुराको उत्तरी क्षेत्रका चार वटा स्थानीय तहमा भोटे जातिको बसोबास छ । मौसमी बसाइँसराइ, भौगोलिक विकटता र चेतनाको कमीले उनीहरू स्वास्थ्य संस्थामा नआउने गरेको पाण्डुसेन स्वास्थ्य चौकीका इन्चार्ज नृपराज गिरी बताउँछन् । गर्भजाँच र प्रसूति सेवाको सुविधा नपाउने यी महिला र नवजात शिशुको जीवन सधैं जोखिममै हुन्छ । जिल्लामा मातृ–शिशु स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाहरू प्रशस्तै भए पनि सदरमुकाम मार्तडीमा सीमित यस्ता संस्था दुर्गमका गाउँसम्म पुगेकै छैनन् ।

बाजुराको हिमाली गाउँपालिका–३ युनाकी १९ वर्षीया पार्वती गुरुङ । पुस महीनामा परिवारसँगै अछाम जाँदै गर्दा बाटोमै छोरो जन्माएकी उनी अहिले घर फर्कंदै छन् ।

खोप र शिक्षा छैन

जिल्लामै स्वास्थ्य संस्था नदेखेका महिला र बालबालिकाको संख्या ठूलै रहेका बेला गत वर्ष मंसीरमा बाजुरालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

बाजुराको बुढिनन्दा–९ कि सीता थापाकी छोरी ८ महीनाकी भइन्, तर अहिलेसम्म एकपटक पनि खोप दिइएको छैन । “बर्खामा स्वास्थ्य संस्थासम्म पुग्न सकिएन, हिउँद लागेपछि औल झरियो, कतिबेला खोप लगाउनु ?” सीता भन्छिन् । हिमाली गाउँपालिका–३ गुम्बाकी लक्ष्मी कुँवर भोटेले पनि एक वर्षकी छोरीलाई अहिलेसम्म कुनै खोप दिन पाएकी छैनन् । “हिउँदमा अछाम, बर्खामा चीनको सिमानासम्म पुग्छौं, कति बेला खोप दिनु ?” लक्ष्मी प्रतिप्रश्न गर्छिन् । चार महीनाअघि अछाम झरेकी हिमाली गाउँपालिका बौडी गाउँकी कमला कार्की भोटेको अब गाउँ फर्किने बेला भएको छ । उनले ११ महीनाको छोरालाई अहिलेसम्म स्वास्थ्य संस्थासम्म पुर्‍याएकी छैनन् । जिल्ला अस्पताल बाजुराका डा.रूपचन्द्र विश्वकर्मा बसाइँ सर्ने कारणले भोटे जातिका बालबालिका खोप सेवाबाट वञ्चित हुनु परेको बताउँछन् ।

यसरी बसाइँ सरिरहने परिवारका बालबालिकाले खोप नपाउने मात्र होइन उनीहरू शिक्षाको अवसरबाट समेत वञ्चित भइरहेका छन् । विद्यालय भर्ना भएकाहरू पनि मंसीरदेखि चैतसम्म पाँच महीना विद्यालयमा अनुपस्थित भएपछि उनीहरूको पढाइ अघि बढ्न गाह्रो हुने भोटे समुदायका जनक भण्डारी बताउँछन् ।

उता ‘सबैका लागि शिक्षा’ कार्यक्रम मार्फत सन् २०१५ सम्म देशभरका सबै बालबालिकालाई औपचारिक शिक्षाको पहुँचमा पुर्‍याउने सरकारको यसअघिको लक्ष्य पूरा हुनसकेको छैन । गरीबीका कारण मौसमी बसाइँसराइ गर्ने दुर्गमका बालबालिका शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित भइरहँदा सन् २०३० सम्म मातृशिशु स्वास्थ्य र बालबालिकाको शिक्षाका लागि सरकारले तय गरेका दीर्घकालीन लक्ष्यहरू पूरा हुने सम्भावना देखिंदैन ।

comments powered by Disqus

रमझम