१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

फूलको ऊर्जा

Share:
  

आफ्ना भावना व्यक्त गर्न, परिवेश सुन्दर बनाउन र महत्वपूर्ण अवसर मनाउन फूलको उपयोग गर्ने चलन प्राचीनकालदेखिकै हो ।

कोठामा सजाइएको फूलले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने, मानसिक तनाव कम गर्ने अनुसन्धानहरुबाट पनि प्रमाणित भएको छ । अमेरिकन सोसाइटी फर हर्टिकल्चर साइन्स को जर्नलमा प्रकाशित एक अध्ययन अनुसार रक्तचाप ठीक अवस्थामा राख्न, मानसिक तनाव कम गर्न र चित्त शान्त पार्न फूलको महत्वपूर्ण भूमिका हुन्छ । अस्पतालमा शल्यक्रिया गरिएका बिरामीहरुबीच गरिएको तुलनात्मक अध्ययनमा फूल राखिएका कोठाका बिरामीहरुलाई दुखाइ कम गर्ने औषधिको मात्रा कम दिनु परेको, उनीहरुको मुटुको चाल, घाउको दुखाइ, चिन्ता र थकान समेत फूल नराखिएका कोठाका बिरामीमा भन्दा कम रहेको पाइएको थियो । घरभित्र राखिएको फूलले तनाव घटाउने र मनलाई रोमाञ्चित बनाउने पनि उक्त अनुसन्धानले देखाएको छ ।

अन्तरिक्ष अध्ययन सम्बन्धी अमेरिकी संस्था नासाले सन् २००८ मा गरेको एक अध्ययनमा फूलले हावामा रहेका हानिकारक विषादी हटाउँदै हावाको शुद्धता कायम राख्न सहयोग गरेको तथ्य पत्ता लागेको थियो । गमलामा रोपेर कोठामा राखिएका फूल–बिरुवाले घरभित्र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने र मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने पनि उक्त अनुसन्धानले देखाएको थियो ।

यूनिभर्सिटी अफ मिसौरीले गरेको एक अध्ययन अनुसार घरमा ताजा ‘कट फ्लावर’ राख्दा मनमा शान्ति र करुणाको भाव उत्पन्न हुन्छ । बिहान उठ्नेवित्तिकै फूल देख्दा सकारात्मक ऊर्जा बढ्ने, मन खुशी हुने पनि अध्ययनले देखाएको छ । अध्ययन भन्छ, ‘फूलले मानिसको मस्तिष्कमा पार्ने प्रभावले आँखा र अनुहारमा खुशीको भाव आउँछ र शरीरमा स्फूर्ति भर्छ ।’

फूलका विभिन्न प्रजातिमा भएको विकासले पछिल्लो समय कोठाभित्र साना बोतल, प्लेट, कपहरुमा पनि फूल रोप्न सकिने भएको छ । यस्ता फूलका बिरुवाको हेरचाह गर्न पनि सजिलो हुन्छ ।

फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ गर्मी लागेसँगै नयाँ फूल रोप्ने सिजन शुरु भएको बताउँछन् । अचेल शहरका नर्सरीहरुमा गमलामा हुर्काइएका बिरुवाहरु पाइने हुँदा आफ्नो रुचि अनुसारका बिरुवा कोठामै लिएर राख्न सकिने उनको भनाइ छ । पसलबाट ‘कट फ्लावर’ किनेर कोठामा सजाउन चाहनेका लागि पनि बजारमा रुचि अनुसारका फूल किन्ने सुविधा छ ।

comments powered by Disqus

रमझम