१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

इतिहासः दन्त्यकथा बन्ने पीर

Share:
  
- वसन्त महर्जन
विस्तृत अध्ययन हुन नसकेर इतिहासका यथार्थ र तथ्यहरू दन्त्यकथा जस्तो बन्न पुग्दा कतिपय घटना र चरित्रमाथि अन्याय भएको छ।

सिंजा उपत्यका, जुम्ला ।
हामीकहाँ इतिहास अध्ययन एकाङ्गी ढङ्गबाट हुने गरेको छ । नेपाली इतिहासलाई बृहत् दृष्टिकोणबाट नबुझदा धेरै पाटा अध्ययन–अनुसन्धानमा छुटेका छन् । जसका कारण कतिपय कुरा इतिहासको यथार्थ भएर पनि दन्त्यकथा वा पौराणिक किंवदन्ती जस्ता बन्न पुगेका छन् । खस साम्राज्यका संस्थापक राजा नागराज दन्त्यकथाको पात्र नभई ऐतिहासिक नै भएको बुझाउन यस पंक्तिकारले मिहिनेत गर्नुपरेको थियो । राष्ट्रिय महिला आयोग ले प्रकाशन गरेको ‘प्रथम तथा अग्रज नेपाली महिला’ मा गौतम बुद्धकी सानीआमा प्रजापति गौतमीलाई पहिलो भिक्षुणी र पत्नी यशोधरालाई अग्रणी श्राविकाको रूपमा समावेश गर्न पनि अलि जोड गर्नुपरेको थियो ।

आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाहलाई एकीकरणकर्ताको श्रेय दिइन्छ । तर इतिहासमा यस्तै श्रेय दिन मिल्ने अन्य राजाहरूबारे खासै चर्चा हुँदैन । तत्कालीन समयमा नेपाल भनेर मुख्य रूपमा कान्तिपुर, पाटन र भक्तपुरलाई चिनिन्थ्यो, गोरखा छुट्टै राज्य थियो । गोरखाका राजा पृथ्वीनारायणले राज्य विस्तारका क्रममा तत्कालीन नेपाललाई गोरखा राज्यमा विलय गर्न सक्थे, तर उल्टै आफ्नो साम्राज्य नेपालमा गाभेर नयाँ राजवंश चलाए । यस्तै अनौठो इतिहास उनकै पुर्खा द्रव्य शाहले पनि बनाएका थिए । लमजुङका राजकुमार द्रव्य शाह लिगलिगकोट गई दशैंमा गरिने परम्परागत दौड प्रतियोगितामा जितेर राजा भएका थिए । सोही वर्ष गोरखा जितेर लिगलिगकोट राज्यलाई त्यसमै विलय गराएका थिए ।

त्यति धेरै नाम नसुनिने भएर होला, बाह्रौं शताब्दीका ऐतिहासिक राजा नागराज किंवदन्तीको पात्र जस्तै बनेका छन् । उनी शुरूमा तिब्बतको ङारी प्रदेशका शासक थिए । भूमि विस्तारका क्रममा उनले दक्षिण झरेर वर्तमान कर्णाली क्षेत्रसहित विस्तृत भूभागमाथि मात्रै अधिकार जमाएनन्, राजधानी नै वर्तमान जुम्लाको सिंजा उपत्यकामा सारे । निकै अघिदेखि नै खसान क्षेत्रका रूपमा चिनिएको र विभिन्न राज्यमा टुक्रिएको कर्णाली क्षेत्रमाथि अधिकार जमाई उनले बनाएको राज्य कालान्तरमा खस साम्राज्यका रूपमा चिनियो । पन्ध्रौं शताब्दीतिर खस साम्राज्य टुक्रिएर बाईसे र चौबीसे राज्यमा परिणत भएको थियो ।

हामीकहाँ राज्यसत्ता सम्हालेका शासकहरूको उल्लेख गर्दा प्रायः तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाका राजाहरूको नाम नै बढी सम्झ्ने र अध्ययन पनि त्यतैतिर केन्द्रित गर्ने गरिन्छ । इतिहासको बृहत् अध्ययन गर्ने प्रयास नथालिएको पनि होइन, तर त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) ले शुरू गरेको काम बीचैमा रोकियो । अहिले व्यक्तिगत र स्थानीय संघसंस्थाबाट भएका कामहरूबाटै चित्त बुझाउनुपर्ने स्थिति छ ।

इतिहास अध्ययनमा गम्भीर खोज र विस्तृत दृष्टिकोण पर्गेल्न नसक्दाका समस्या धेरै छन् । तथ्यको तोडमोड र अपव्याख्या त्यसकै उपज हुन् । त्यति बेलाका सामन्त वा स्थानीय निकायहरूलाई छुट्टै राज्य भनेर बुझने र बुझाउने प्रवृत्ति पनि तिनैमध्येको उपज हो । विस्तृत र सम्यक् अध्ययन नहुनुको असर तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाको इतिहास अध्ययनमा पनि परिरहेको छ । पूर्वी नेपालका राज्यहरूसँग नेपालमण्डलको सम्बन्ध देखिए पनि खासै प्रकाशमा आउन सकेको छैन । तत्कालीन राज्यसत्ताको महत्वपूर्ण सम्बन्ध दक्षिणतिरको तिरहुत लगायतका राज्यहरूसँग भए पनि त्यसतर्फ पर्याप्त अध्ययन हुनसकेको छैन । मुस्ताङ लगायतका राज्यहरूसँग नेपालमण्डलको राजनीतिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध कम रोचक छैन । तर, अध्ययनको कमीका कारण सम्बन्धको आयाम नै उल्टोपाल्टो बुझिएको छ ।

नेपालको केन्द्रको रूपमा काठमाडौं उपत्यकाको विकास तथा विस्तार गौतम बुद्ध (इ.पू. ५६३–४८३) भन्दा अगाडि नै भइसकेको देखिन्छ । यस केन्द्रको व्यापारिक तथा अन्य सम्बन्ध दक्षिणका मगध, बज्जि, कोशल जस्ता महाजनपद तथा कपिलवस्तु र कोलिय जस्ता जनपदहरूसँग पनि हुनसक्ने अनुमान सम्बन्धहरूको पछिल्ला अध्ययनबाट गर्न सकिन्छ । अध्ययनका यति धेरै पक्ष यत्तिकै छाड्नु इतिहासमाथि अन्याय हो । गौतम बुद्धलाई नेपाली मान्दामान्दै पनि उनका पिता शाक्य राजा शुद्धोदनलाई नेपाली शासक भनेर खासै चर्चा गरिंदैन । यसो गरिनु इतिहास अध्ययनको सीमाकै दोष हो ।

comments powered by Disqus

रमझम