कसको आइडिया हो, पोखराको ऐतिहासिक चिप्लेढुंगालाई आँखै खाने पहेंलो रंगाउने ? यस्तो सोचको कारक के थियो ?
स्थानीय सरकार र प्रान्तीयमा केन्द्रीकृत राज्य व्यवस्था भन्दा सुझबुझ र सामाजिक नियमन बढी हुन्छ भन्ने सोच थियो । तर, पर्यटन उद्योगमा आफ्नो आर्थिक भविष्य बनाउन चाहने गण्डकी प्रदेशको हालै पोखरा–मुस्ताङ भ्रमण गर्दा धेरै कुरा बिग्रिएको अथवा बिग्रँदै गएको देखियो, जसले पर्यटनकै सम्भावनाहरुलाई धक्का दिएको छ ।
आज प्रदेशका डाँडाकाँडा सर्वत्र पुरानो शैलीका घर भत्कँदैछन् । गुरुङको घुमाउने घर अब बन्दैनन्, मुस्ताङका मौलिक माटोका छतलाई नीलो करुगेटेड् छानोले ढाक्दैछन् । जोमसोममा बन्दै गरेका घरहरू कलंकी र ग्वार्कोभन्दा कत्ति पनि फरक छैनन् — पिलर सिस्टम्, प्लेट ग्लास इत्यादि । मुक्तिनाथ मन्दिर वरपर बन्दै गएका ठूला–साना होटलहरूमा न वास्तुकला, न ‘स्केल’ लाई ध्यान दिइएको छ । ‘बब् मार्ली’ नामको एउटा मात्र होटल छ जसको निर्माणमा फरक सोच देखियो ।
मुक्ति क्षेत्रको ऐतिहासिक बौद्ध–बोन–हिन्दू सम्पदा मुक्तिनाथ मन्दिर र प्राचीन नरसाङ गुम्बा (ज्वालामाई) हो । यस्तो महत्वपूर्ण दुई परिसरको बीच आज शाक्यमुनि बुद्धको बडेमानको ३५ फिटे प्रतिमा खडा गरिएको छ, जसले छेवैका दुई सम्पदा स्थललाई छायाँमा पार्छ । सस्तो पर्यटनको ध्याउन्नमा हामी तीर्थालुको संवेदनशीलता र सम्पदा स्थलको गरिमा बिर्सन्छौं ।
अहिले कालीगण्डकीको तीरैतीर उत्तरको कोरला नाकादेखि बनिरहेको राजमार्गमा काम भइरहेछ । चौडा हाइवे बन्दैछ, तर यसले थाकखोलाका ऐतिहासिक बस्तीहरू कोबाङ्ग, टुकुचे, जोमसोम, लार्जुङ र तातोपानीलाई छिन्नभिन्न पार्दैछ । बाटोलाई पुराना बस्तीको छेउबाट लैजान सकिन्थ्यो, जसको लागि प्रान्तीय र स्थानीय राजनीतिक नेतृत्व सक्रिय हुनुपथ्र्यो, तर भएको देखिंदैन । स्थानीय बासिन्दालाई त बस/कार आफ्नै दैलोमा आइदेओस् भन्ने लाग्छ नै, तर यसले सांस्कृतिक, आर्थिक, सामाजिक आदि पाटोमा पार्ने दूरगामी असरबारे बुझाउने काम पर्याप्त भएन जस्तो छ ।
धन्न थाकखोलाको सबैभन्दा ठूलो बस्ती मार्फा चाहिं कोरला राजमार्गको ‘कटान’ बाट बचेको छ ∕ मार्फा रमणीय त छँदैछ, ऊर्जाशील बन्दै गरेको देखिन्छ । मार्फालाई झैं अन्य बस्तीलाई बचाउन अझै पनि समय छ, राजमार्गलाई बस्तीको छेउ लगाएर लैजाने ।
पोखरामै झरौं र हेरौं । शहरको पहिचान झल्काउने पीपल चौताराहरू अब विरलै भेटिन्छन् । पोखराको भौगर्भिक उत्पत्ति करीब एकहजार वर्षअघि चट्टान र बालुवासँग बोकेर आएको बाढीसँग सम्बन्धित छ, जसले मध्यपहाडी उपत्यकालाई पुरेर समथर मैदान बनायो । पुरानो उपत्यकाका पहाडका चुचुराहरू पोखराको फाँटमा टापु जस्ता रहे । आजका हामीले ढुंगाखानी बनाउँदै यी टापुहरू ध्वस्त बनायौं, एउटा भौगर्भिक सम्पदालाई नै नष्ट पार्यौं ।
(भिडियो हेर्न यो लेखसँगै www.himalkhabar.com मा ।)